मनाङलाई सिजनको पहिलो उपाधि

मनाङलाई सिजनको पहिलो उपाधि

फाल्गुन ११, २०७९

मकवानपुर — नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीले सिजनको पहिलो उपाधि जितेको छ । मनाङ बुधबार हेटौंडामा सम्पन्न पाँचौं सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिता–२०७९ को उपाधिमा आफ्नो नाम लेखाउन सफल भयो । मनाङले मोफसलमा भएका नकआउट प्रतियोगिताहरूमा यस वर्ष खराब प्रदर्शन गरिरहेको थियो ।

पाँचौं सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिताको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब । बुधबार फाइनलमा मनाङले हिमालयन शेर्पामाथि १–० को जित पायो ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै मनाङले ट्रफी उचाल्यो । मनाङको जितमा एकमात्र गोल रोशन रानामगरले गरेका थिए । उनले ७८ औं मिनेटमा गोल गरेका हुन् । उनी खेलको म्यान अफ द म्याचसमेत घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । मनाङले उपाधिसँगै १५ लाख र उपविजेता हिमालयन शेर्पाले १० लाख रुपैयाँ पुरस्कार जिते ।

स्टार खेलाडीविना मैदान उत्रिएको मनाङलाई हिमालयनले खेलभर दबाबमा राख्यो । पहिलो हाफमा शेर्पाले दुई सुन्दर मौका खेर फालेको थियो । पहिलो हाफमै मनाङको दुइटा प्रहार बारमा लागेर फर्किएको थियो । शेर्पाले आफ्नो स्टार फरवार्ड विश्वास श्रेष्ठलाई इन्ज्युरीका कारण पहिलो हाफमै परिवर्तन गराएको थियो । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका थिए ।

मनाङका गोलरक्षक दीप कार्की, मिडफिल्डर कमल थापा र प्रशिक्षक किरण श्रेष्ठ विधागत रूपमा उत्कृष्ट चुनिए । शेर्पाका डिफेन्डर अमृत श्रेष्ठ र फरवार्डमा विदेशी खेलाडी योमी उत्कृष्ट चुनिए । विधागत उत्कृष्ट सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

सर्वोत्कृष्ट खेलाडी मनाङका गोलरक्षक दीप कार्की भए । उनले बुलेट बाइक पुरस्कार पाए । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले करिब ७ लाख रुपैयाँबराबरको मोटरसाइकल प्रायोजन गरेको थियो । यो उपाधि जिते ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग पुग्ने मनाङको विश्वास छ । विजेता, उपविजेता, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, स्कुल अफ म्यानेजमेन्टका प्रमुख पूरनबहादुर जोशी, पूर्व मेयर हरिबहादुर महतले पुरस्कार वितरण गरे । खेल सकिएपछि जितको खुसी साट्नेक्रममा अपशब्द बोलेपछि मुख्य रेफ्री नवीन्द्र महर्जनले मनाङका प्रवेश कुवँरलाई रातो कार्ड देखाएका थिए ।

जिल्लाका दसैं स्थानीय तहको प्रायोजनमा जिल्ला फुटबल संघ मकवानपुरको प्रतियोगिता आयोजना गरेको छ । त्यसमा ए डिभिजनका सात, एक विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।