भारतीय सरकारले नागरिकलाई आश्वस्त बनाउन खोजिरहेको छ– मुलुक दुई वैदेशिक शक्तिको निशानामा छ । पहिलो बेलायत र दोस्रो अमेरिका । भारतको आर्थिक समुन्नति पाच्य नभएकाले पूर्व साम्राज्यवादी शक्ति र नवीन विस्तारवादी राष्ट्रले भारतमाथि आक्रमण गरिरहेको भाष्य सरकारले निर्माण गरिरहेछ ।
बीबीसीले ‘इन्डिया: द मोदी क्वेइसन’ प्रसारण गरेपछि र अमेरिकाको अनुसन्धान संस्था हिडनवर्गले भारतीय शेयर बजारमा हुने चलखेल बारेको अनुसन्धान सार्वजनिक गरेपछि सरकारले मिडिया प्रयोग गरेर यस्ता भाष्य निर्माण गरिरहेको हो । बीबीसीको वृत्तचित्र र हिडनवर्गको अनुसन्धानले एकसाथ भारतका सर्वोच्च दुई व्यक्तिमाथि प्रहार गरेको छ— पहिलो प्रधानमन्त्री नरेन्द्र मोदी अनि दोस्रो विश्वकै तेस्रो धनीमा सूचीकृत अर्बपति व्यापारी गौतम अडानी ।
उनीहरूमाथि असामान्य आरोप लागेको छ । बीबीसीको वृत्तचित्रले मोदीले गुजरातमा सामूहिक हत्याको लागि उक्साएको आरोप लगाउँछ । यता हिडनवर्गको प्रतिवेदनले अडानीले कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो ठगी गरेको आरोप लगाउँछ ।
मोदी र अडानी एक–अर्कालाई दशकदेखि नै चिन्छन् । यी दुई व्यक्ति सन् २००२ मा गुजरातमा भड्किएको दंगापछि नजिकिएका हुन् । गुजरातमा रेलको पटरीमा आगजनी हुँदा ५९ जना हिन्दु धर्मावलम्बी जलेका थिए । यो घटनाको केही महिना अघि मात्रै मोदी गुजरातको मुख्यमन्त्री बनेका थिए । बदला लिनका लागि हिन्दुहरूले मुस्लिम माथि गरेको अत्याचारले भारत नै आतंकित बनेको थियो । भारतीय उद्योग परिसंघका केही सदस्यले मोदीको सार्वजनिक रूपमै आलोचना गरे । यही मौका छोपेर गुजरात पुनरूत्थान समूहका नाममा केही उद्योगी जम्मा गरेर गौतम अडानी गुजरात छिरे । मोदी विरुद्धका आलोचना खण्डन गर्दै उनीहरूले मोदीलाई हिन्दु हृदय सम्राटका रूपमा प्रचार गर्न थाले ।
सन् २००३ मा त्यही समूहले गुजरातमा भाइब्रेन्ट गुजरात नामक सम्मेलन गर्यो । गुजरात विकास मोडल त्यहींबाट जन्मिएको थियो । खासमा त्यो सम्मेलनमा कर्पोरेट सौजन्यमा एक हिंस्रक हिन्दु राष्ट्रवादको प्रचार भएको थियो ।
गुजरातमा तीनपटक मुख्यमन्त्री भएपछि सन् २०१४ मा मोदी मुलुककै प्रधानमन्त्री बने । आफ्नो शपथ ग्रहणका लागि उनी अडानीको प्राइभेट जेटमा गएका थिए । मोदीको नौ वर्षको अवधिमा अडानीको सम्पत्ति ८ अर्बबाट बढेर १३७ अर्ब अमेरिकी डलर पुग्यो । सन् २०२२ मा मात्रै उनको सम्पत्ति ७२ अर्ब डलरले थपियो । यो रकम विश्वका नौ धनाढ्यको एक वर्षको आर्जन भन्दा बढी हो ।
अडानी ग्रुपले अहिले अधिकांश बन्दरगाह आफ्नो बनाएको छ । भारतको ३० प्रतिशत ढुवानी उसैले लिएको बन्दरगाहबाट हुन्छ भने अडानी ग्रुपको व्यवस्थापन रहेको भारतीय सात विमानस्थलले २३ प्रतिशत यात्रु ओसार्छ । यस्तै भारतको ३० प्रतिशत अनाज अडानीकै कम्पनीले भण्डारण गर्छ । यस्तै भारतमा ठूला उर्जा कम्पनी अडानीकै छन् । विकासको गुजरात मोडललाई राष्ट्रियस्तरमा पनि दोहोर्याइएको छ ।
पहिले मोदीले अडानीको जहाजमा शयर गरे । अहिले अडानी मोदीको जहाजमा शयर गर्दैछन् । अहिले दुवैको विमानको इन्जिनमा समस्या छ । के उनीहरू भारतीय तिरंगा बेरेर त्यहाँबाट बाहिरिएलान् त भन्ने आजको प्रश्न हो ।
बीबीसीको वृत्तचित्रले गुजरात नरसंहारलाई मात्रै होइन त्यसका पीडितहरूको दुई दशकको कष्टकर यात्रालाई समेटेको छ । उनीहरूले अझै पनि राजनीतिक उत्तरदायित्व र न्यायमा आशा कायमै राखेको देखाइएको छ । गुजरात दंगाका प्रत्यक्षदर्शी इमतियाज पठानलाई त्यहाँ देखाइएको छ । इमतियाजले त्यस दंगामा परिवारका १० सदस्य गुमाएका थिए ।
पठानले दंगा हुँदा आफूहरू कंग्रेसका सांसद एहसान जाफरीको घरमा लुकेको बताएका छन् । सांसद जाफ्रीले सहयोगका लागि मोदीलाई समेत फोन गरेको उनले सुनाए । तर सहयोग प्राप्त नहुने देखेपछि जाफ्री स्वयं भीडलाई मनाउने उद्देश्यसहित सडकमा निस्किएका थिए । त्यस भीडले जाफ्रीको क्रुरतापूर्वक हत्या गर्यो । उनको शरीर टुक्रा–टुक्रा पारिदियो र त्यो नरसंहारलाई घण्टौंसम्म जारी राख्यो ।
यो मुद्दा अदालतमा समेत पुगेको थियो । प्रत्यक्षदर्शीहरूले सहयोगको लागि फोन गरेको बयान दिए पनि अदालतले त्यस तथ्यलाई स्वीकार गरेन । यो मुद्दा थाती रह्यो । यो वृत्तचित्रले भारतीय जनता पार्टी नेतृत्वको सरकारको अपमान भए पनि घटनाबारे उसको दृष्टिकोण बताएको छ । यस्तै, जाफ्री हत्यामा षडयन्त्र रहेको भन्दै उनकी श्रीमतीले भारतको सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । तर त्यसलाई सर्वोच्च अदालतले प्रक्रियाको अपमान भन्दै खारेज मात्रै गरेन यसमा सजाय हुनसक्ने फैसला सुनायो । यसलाई पनि बीबीसीले समेटेको छ । मोदीका समर्थकले यस फैसलालाई उनी निर्दोष रहेको रूपमा बुझ्दै उत्सव मनाए ।
वृत्तचित्रमा अहिलेका गृहमन्त्री अमित शाहलाई पनि समेटेको छ । अमित शाह यस्ता पात्र हुन् जसले मोदीलाई भगवान शिवसँग तुलना गर्छन् । गुजरात दंगाको विषलाई मोदीले १९ वर्षसम्म आफ्नो घाँटीमा राखेको उनको भनाइ थियो । सर्वोच्च अदालतको फैसलापछि उनले भनेका थिए– ‘सत्यता सुनझैं चमकदार बनेर आएको छ ।’
बीबीसीको वृत्तचित्रमा मोदी सरकारले आपत्ति जनाएको एउटा मात्रै विषय छ । त्यो विषय हो, बेलायतको विदेश मन्त्रालयको आन्तरिक प्रतिवेदन । त्यस प्रतिवेदनमा गुजरात दंगामा कम्तीमा दुई हजार जनाको हत्या भएको उल्लेख छ । यति मात्रै होइन, गुजरात नरसंहारलाई जातीय सफायाको संज्ञा दिइएको छ । वृत्तचित्रका अनुसार भरपर्दो सूचना स्रोतले नरसंहारमा सुरक्षा संयन्त्रलाई निष्क्रिय बनाइएको थियो । त्यसको सम्पूर्ण दोष मोदीमाथि थोपरिएको छ । वृत्तचित्रको दाबीलाई पुष्टि गर्नका निम्ति एक पूर्व कूटनीतिज्ञलाई उभ्याइएको छ । क्यामेरा अघि पिठ्युँ फर्काएर बेनामे तरिकाले उभिएकाले सन्देह भने राख्न सकिन्छ ।
बीबीसीको वृत्तचित्रको दोस्रो भाग धेरै कमले हेरे पनि त्यो निकै डरलाग्दो छ । दोस्रो भाग मोदीको प्रधानमन्त्री कालमा भारतमा बढ्दै गएको विभाजन देखाइएको छ । भारतीयहरूका लागि तरबार बोकेको भीड, गेरुबस्त्रधारीले मच्चाउने आतंक र हिन्दुहरूले मुस्लिममाथि गर्ने दुर्व्यवहार दैनिक जीवनको अंग झैं बनेको छ । यस्ता घटनालाई प्रश्रय दिनेहरूलाई दण्डित गर्नुभन्दा उल्टो सम्मान नै गरिन्छ । जस्तो कि गुजरात नरसंहारका दोषी मोदीलाई मन्त्रिपरिषद्का सदस्यले सर्वोच्चको फैसलापछि माला लगाएर सम्मान गरे ।
मोदीमाथि आधारित बीबीसीको वृत्तचित्र बेलायती दर्शकलाई बेलायतमा मात्रै देखाउने अभिप्रायले बनाइएको थियो । तर यसको लिंक युट्युब र ट्वीटरमा पनि राखिएपछि हलचल मच्चियो । भारतमा विद्यार्थीलाई त्यो वृत्तचित्र हेर्न प्रतिबन्ध लगाइयो । केही विश्वविद्यालयले प्रदर्शनको तयारी गर्दा त्यहाँ बिजुली काटियो । कहीं प्रहरी परिचालन गरेर दंगा भड्काइयो । सरकारले युट्युब र र ट्वीटरलाई लिंक हटाउन निर्देशन दियो । आफूलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने संस्था भनिएकाहरू पनि आदेश पालनाका निम्ति बाध्य भए । केही मेरा मुस्लिम साथीहरू भन्दै थिए– ‘मोदी आखिर किन तर्सिएका ? गुजरात नरसंहारले त उनलाई सधैं फाइदा नै पुगेको छ । र, यो वर्ष त अझ चुनाव पनि आउँदैछ ।’
अब चर्चा गरौं दोस्रो व्यक्तिमाथिको आक्रमणबारे । हिडनवर्गको ४०० पृष्ठको प्रतिवेदन पनि बीबीसीको वृत्तचित्र सार्वजनिक भएकै दिन बाहिरिएको थियो । त्यस प्रतिवेदनले अडानीलाई पूँजीबजारमा व्यापक चलखेल गरेको आरोप लगाएको छ । कृत्रिम रूपमा कम्पनीको मूल्यांकन बढाउने काम गरेको आरोप उनीमाथि छ । हिडनवर्गको प्रतिवेदन अनुसार अडानीका सात कम्पनीको मूल्य ८५ प्रतिशतले अत्यधिक मूल्यांकन गरिएको छ । यही मूल्यांकनको आधारमा उनले वित्तीय संस्थासँग अर्बौं लिएका छन् । भारतीय जनताले जीवनभर आर्जेर जम्मा गरेको निक्षेप राख्ने स्टेट बैंक अफ इण्डिया र लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इण्डियाबाट रकम लिएका छन् ।
अडानी ग्रुपले हिडनवर्गको ४१३ पृष्ठ लामो प्रतिवेदनलाई झूटो भनेको छ । आफूमाथि लागेका अभियोगमाथि भारतीय अदालतले समेत सफाइ दिएकाले हिडनवर्ग प्रतिवेदनका आरोप कपोलकल्पित र भ्रामक रहेको भन्दै अडानी समूहले आफ्नो बचाउ गरेको छ । प्रतिवेदन अडानी समूहमाथि मात्रै नभएर समग्र भारतमाथिको आक्रमण रहेको उसको भनाइ छ । अडानी समूहको स्पष्टीकरणलाई लगानीकर्ताहरूले पत्याएका छन् । हिडनवर्गको विश्लेषण अनुसार अडानी ग्रुपले ११० अर्ब डलरको लगानी गुमाएको छ । क्रेडिट स्वीस, स्ट्याण्डर्ड चार्टर्ड र सिटीग्रुपले अडानी समूहको धरौटी लिन अस्वीकार गरेका छन् यस्तै फ्रान्सेली टोटल इनर्जीले पनि अडानी समूहसँगको ४ अर्ब डलर लगानीको सम्झौतालाई स्थगित गरेको छ । बंगलादेश सरकारले पनि बारम्बार उर्जा खरिद सम्झौतामा पुनरावलोकनको माग अघि सारिरहेको छ । यता अडानी समूह संलग्न रहेको बेलायतको इलारा क्यापिटलबाट बेलायत सरकारका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनका भाइ जो जोन्सनले राजीनामा दिएका छन् । जो बेलायतका पूर्व मन्त्री समेत हुन् ।
हिडनवर्गको प्रतिवेदनमा आधारित रहेर अडानी समूहमाथि संसदीय छानबिन गर्नुपर्ने आवाज विपक्षी दलहरूले जोडदार रूपमा उठाइरहेका छन् । सरकारले त्यस आवाजलाई सुनिरहेको छैन । संसदको बजेट सत्रमा प्रतिपक्षी दुई दल भारतीय राष्ट्रिय कंग्रेसका राहुल गान्धी र त्रिणमूल कंग्रेसकी महुआ मोइत्राले यो विषय हिडनवर्गको प्रतिवेदनअघि नै उठाएका थिए । मोइत्राले संसदमा प्रश्न गरेकी थिइन – गृह मन्त्रालयले अडानी ग्रुपलाई विमानस्थल तथा बन्दरगाह व्यवस्थापनको जिम्मेवारी कुन मापदण्ड पालना गरेर दियो ?
दोस्रो प्रश्न थियो– अडानीले कुन कानुन पालना गरेर ५ अर्ब डलर बराबरको रकम एउटै मुलुकबाट वैदेशिक लगानीका रूपमा भित्र्यायो ?
मोइत्राले संसदमा सरकारप्रति तेस्रो प्रश्न तेर्स्याइन – कुन आधारमा सरकारले सार्वजनिक संस्थाको रकम अडानी समूहका लागि मात्रै उपलब्ध गरायो ?
त्यसपछि बोलेका राहुल गान्धीले मोदीलाई सोधे– इजरायल, अष्ट्रेलिया बंगलादेश कुन कुन मुलुकमा पुगेर अडानीलाई ठेक्का दिलाइयो ?
राहुल गान्धीले संसदमा इजरायलबाट रक्षा सामग्री भित्र्याउने ठेक्का सरकारले अडानीलाई दिलाएको दाबी गरे । अष्ट्रेलियाको कोइलाखानीमा लगानीका लागि स्टेट बैंक अफ इण्डियाको रकम दिलाएको जिकिर मात्रै गरेनन्, बंगलादेशमा १५ सय मेगावाट परियोजनाको जिम्मेवारी पनि उनलाई दिलाएको दाबी गरे । अन्तिममा राहुलले मोदीलाई सोधे– प्रधानमन्त्री मोदी यत्तिका ठेक्का अडानी समूहलाई दिएपछि चुनावी अभियानका लागि त्यस समूहसँग कति पैसा लिनुभयो ?
राहुलको प्रश्नको जग बलियो र जायज छ । सन् २०१६ मा भाजपाले राजनीतिक दललाई कर्पोरेट समूहले पहिचान नखुलाई सहयोग गर्न सक्ने कानुन ल्याएको थियो । गौतम अडानी विश्वकै धनी मान्छे हुन् । यो कुरा पनि हेक्का राख्नुपर्ने हुन्छ कि उनले समर्थन र सहयोग गर्ने भाजपा पनि विश्वकै धनी पार्टी हो । के अडानी र भाजपाको एउटै खाता हो वा उनीहरूको फरक खाता छ यक्षप्रश्न यो हो ?
संसदमा मोइत्राका प्रश्नको वास्ता गरिएन । राहुलका प्रश्न त संसदीय रेकर्डबाटै हटाइए । मोदीले त्यस दिन संसदमा डेढ घण्टा भाषण दिए । त्यस भाषणमा उनले आफू गौरवशाली भारतीय रहेको सुनाए । मोदीले यस्ता भारतीय जनसंख्याको यस्तो कवच लगाएका छन् कि उनलाई विपक्षीका यस्ता वाणले कुनै असर गर्दैन । संसदमा उनका प्रत्येक वाक्यमा पार्टीका सांसदहरूले गडगडाहड ताली पिट्थे । उनलाई अझै उत्तेजित बनाउनका निम्ति मोदी! मोदी!! मोदी!!! भन्दै हुटिङ गर्थे ।
मोदीले संसदमा भनेका थिए कमलमा जति हिलो छ्यापे पनि कमल सुन्दर तरिकाले फक्रिनेछ । कमल भाजपाको चुनाव चिन्ह हो । आफ्नो सम्बोधनमा उनले अडानीबारे एक शब्द बोलेनन् । सायद उनले सोचे होलान् अडानीको मामिलाबारे उनका मतदाताले कुनै मतलब राख्दैनन् । अशिक्षित र बेरोजगार मतदाताले १०० अर्ब डलर अपचलनको कुरा बुझ्न सक्दैनन् ।
अधिकांश भारतीय मिडियाले मोदीको भाषणलाई वाहवाही रूपमा प्रस्तुत गरे । संयोग नै भन्नुपर्छ त्यसै दिन राष्ट्रिय तथा क्षेत्रीय अखबारहरूमा मोदीको पूर्ण कदको तस्विरको ज्याकेट विज्ञापन थियो । त्यसमा लेखिएको थियो– मोदीले लगानी सम्मेलन गर्दैछन् के मोदीको अर्को थलो उत्तरप्रदेश त हुँदै छैन ?
फेब्रुअरी १४ मा गृहमन्त्री शाह अडानीको विषयमा बोले । उनले अडानीका विषयलाई लिएर भाजपामाथि लागेको आरोपबाट आफूहरू नडराउने बताए । तर उनले संसदीय छानबिन समिति गठनबारे केही बोलेनन् । प्रतिपक्षी दललाई बरू अदालत गएर मुद्दा हाल्न सुझाए । उनले यसो भनिरहँदा दिल्लीमा कर कार्यालयले कर्पोरेट संस्थाहरूमाथि अनुगमन गरिरहेको थियो । तर अडानीको कार्यालयमा भने कोही पनि पुगेनन् ।
फेब्रुअरी १५ मा समाचार चक्र नै बदलियो । पुरातन साम्राज्यवादी र नवीन विस्तारवादी मुलुकको आक्रमणका भाष्य निर्माण गरिरहेका मिडिया एकाएक परिवर्तन भए । उनीहरूले मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग फलदायी वार्ता गरेको समाचार बनाए । संवादपछि भारतले फो सेभेन्टी बोइङ खरिद गर्न सहमति जनाएको समाचार आए । बाइडेनले यो सम्झौताले लाखौँ अमेरिकीको जागिरलाई सहयोग पुग्ने बताए । बोइङको इन्जिन रोल्स रोयस इन्जिनमा सञ्चालित हुने घोषणा गरे । हवाई इलाकामा सफलता हासिल गरिरहेको बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने– आकाश नै अधिकतम सीमा हो ।
कमल अहिले रगतको आहाल र पैसामा फक्रिरहेछ । र, निसन्देह सत्य एक दिन सुनझैँ चमकदार बनेर छाउनेछ ।
द गार्डियनबाट