भी–डेमको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२१ सम्म आइपुग्दा विश्वमा अहिले ७० प्रतिशत (५ अर्ब ४० करोड) जनसंख्या अधिनायकवादी मुलुकमा बस्छन्, जबकि सन् २०११ मा यो संख्या जम्मा ४९ प्रतिशत थियो । यसको अर्थ हो, गत १० वर्षमा विश्वमा अधिनायकवाद बढ्दै गइरहेको छ र विश्वको लोकतन्त्र सन् १९८९ को अवस्थामा फर्केको छ ।
लेखकहरू गुरिएभ तथा ट्राइसमनका अनुसार आजका धेरैजसो तानाशाह आफ्नो असली चेहरा लुकाउँछन् । उनीहरुले त्यस्ता तानाशाहहरुलाई मायावी तानाशाहको संज्ञा दिएका छन् । अहिले उनीहरू मायावी जाल प्रयोग गरेर जनतालाई नियन्त्रण गर्न सक्छन् । सूचनाको हेराफेरी र देखावटी लोकतन्त्र उनीहरूको प्रमुख उपाय हो । उनीहरू यस्तो मायावी जाल फिँजाउँछन् कि त्यसमा साधारण जनता सजिलै फस्छन् । मायावी तानाशाहहरू आफूलाई लोकतान्त्रिक देखाउँछन् र जनताको समर्थन लिएर नै राजनीतिक शक्ति हात पार्न सफल हुन्छन् । उनीहरू लोकतान्त्रिक माध्यमबाट उदित हुन्छन् तर लोकतन्त्रलाई नै बिस्तारै खान थाल्छन् । यस्तै शासनाभ्यास आफूलाई लोकतन्त्र र मानवअधिकारको ठेकेदार भन्ने अमेरिकादेखि भारतसम्मले गरिरहेको छ र नेपालले पनि त्यसैको सिको गर्दैछ ।
जब सत्य र तथ्य उनीहरूको विपक्षमा हुन्छ, तानाशाहहरू त्यसलाई बङ्ग्याउने र तोडमरोड गर्ने काम गर्छन् वा सेन्सरसिपसम्म गर्ने गर्दछन् । उनीहरू केही विपक्षी राजनीतिक दल वा सञ्चारमाध्यमलाई खुला छोड्छन् तर साँच्चिकै जनमानसमा प्रभाव पार्ने पार्टी र पात्रहरूलाई भने कमजोर बनाउन लागि पर्छन् ।
एमसीसी सम्झौताको संसदबाट अनुमोदन गरिएपछि अहिले अमेरिकाले आफूद्वारा परिभाषित लोकतन्त्र र मानवअधिकारको लागि नेपाललाई आफ्नो छाताभित्र आबद्ध हुन निरन्तर दबाब सिर्जना गरिरहेको छ । र, रुस, चीन, इरान र उत्तरकोरियालाई अधिनायकवादी राष्ट्रघोषित गर्दै त्यसका विरुद्धको अभियानको रुपमा प्रत्येक वर्ष ‘डेमोक्रेसी समिट’ सञ्चालन गर्दै आइरहेको छ । यस वर्षको मार्च अन्तिममा हुने ‘डेमोक्रेसी समिट’मा भाग लिन नेपालका प्रधानमन्त्रीलाई निरन्तर रुपमा दबाब दिंदै आएका छन् । केही समय पहिले चीन र रुस नजिकिदै गएको भन्दै नाटोका महासचिवले अधिनायकवादी राष्ट्रका विरुद्ध प्रजातान्त्रिक मुलुकहरु एक हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।
युक्रेन मामिलामा विगतको देउवा सरकारले अमेरिकाको पक्ष लिएर अभिव्यक्ति दिएपछि चीन र भारत दुवैले नेपालमाथि शंकाको नजरले हेरेका थिए । चुनावपछि नयाँ सरकार बनेपछि एमसीसी कार्यान्वयनसँगै हिन्द प्रशान्त रणनीति अनुसार नेपालसँग सैन्य सम्झौताका लागि पनि अमेरिकाले दबाब दिंदै आएको छ । यही दबाबकै रुपमा अमेरिकाबाट १५ दिनमै तीन भ्रमण भएका छन् भने अर्को भ्रमणको तयारी भइरहेको स्रोतको दावी छ । नाटोका सदस्य राष्ट्रहरु युरोपेली युनियन र बेलायतबाट पनि मन्त्रीस्तरीय भ्रमण भएका छन् । छिमेकी भारतका विदेशसचिव दुई दिन काठमाडौं बसेर एक दर्जनभन्दा बढी राजनीतिक भेटवार्ता गरेर फर्किएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा दक्षिण एसिया हेर्ने वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारको भ्रमण अब केही दिनमै हुँदैछ ।
१५–१६ माघमा राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले काठमाडौं भ्रमण गरिन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गरिन् । राष्ट्रिय सुरक्षा परिषद्मा समेत रहेकी मन्त्रीस्तरीय हैसियतकी युएसएडकी प्रशासक समान्था पावरले २४–२५ माघमा नेपाल भ्रमण गरिन् । उनले नेपाललाई दिने सहयोगमा भूराजनीतिक एजेन्डा नहुने, तर लोकतन्त्र तथा पारदर्शिता सुनिश्चित हुनुपर्नेमा जोड दिएकी थिइन् । पावरले १५ र १६ चैतमा भर्चुअल माध्यमबाट आयोजना हुने ‘ग्लोबल डेमोक्रेसी समिट’मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका तर्फबाट निमन्त्रणा दिइएको र प्रचण्डले स्वीकार गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएकी थिइन् ।
त्यसलगत्तै अमेरिकाबाट भ्रमणको सिलसिलामा दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर आइन् । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स हेर्ने निकायका अधिकारी रहेकी अख्तर सुरक्षा तथा अन्तर्राष्ट्रिय सीमापार मामिलासम्बन्धी निकायमा पनि कार्यरत छिन् । १–२ फागुनमा भ्रमण गरेकी उनले मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्रसचिव भरतराज पौड्याल र प्रधानसेनापति प्रभुराम शर्मासँग मात्रै भेटवार्ता गरिन् ।
अख्तरपछि अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा दक्षिण एसिया हेर्ने वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारको भ्रमण हुँदै छ । उनी आगामी हप्ता काठमाडौं आउने स्रोतको दावी छ ।
अमेरिकाबाट यसै वर्ष विदेशमन्त्री एन्टोनी ब्लिंकेनको नेपाल भ्रमणका लागि पनि प्रयास भइरहेको स्रोतले जनाएको छ ।
त्यसैगरी अमेरिकी नेतृत्वको सैन्य संगठन नाटो, जसले अहिले रुस युक्रेन युद्धमा युक्रेनलाई सहयोग गरिरहेको छ, का सदस्य राष्ट्रहरु बेलायत, कोरिया, इयूबाट पनि यसबीचमा भ्रमण भएका छन् ।
अवकाशप्राप्त सैनिकहरूको मामिला हेर्ने बेलायतका रक्षामन्त्री डा. एन्ड्र्यु मोरिसनले २४ र २५ माघमा नेपालको भ्रमण गरे । उनले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग भेटवार्ता गरे । पूर्व गोर्खा सैनिकको सुविधालगायत दुई देशको सम्बन्धबारे छलफल भएको परराष्ट्रले जनाएको छ ।
कोरियाली राष्ट्रपतिका विशेष दूत सुन मिङ जाङले १ फागुनमा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. पौड्याललगायतसँग भेटवार्ता गरे । अघिल्लो दिन २९ माघमा नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले परराष्ट्रमन्त्री पौड्याललाई भेटेर दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूतको भ्रमणप्रति असन्तुष्टि जनाएको परराष्ट्र स्रोतले बतायो । २९ माघमा काठमाडौं आएका उनी २ फागुनमा फर्केका थिए ।
युरोपियन युनियनका कमिस्नर जुट्टाले उर्पिलाइनेनले २५ माघमा नेपाल भ्रमण गरिन् । उनी मन्त्रीस्तरीय हैसियतकी हुन् । उनले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा.पौड्याललगायतसँग भेटवार्ता गरिन् । नेपाल निम्न आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने सन्दर्भमा नेपाललाई दिने सहयोग निरन्तरताका विषयमा छलफल भएको थियो ।
त्यसैगरी भारतीय विदेशसचिव विनयमोहन क्वात्राले १ र २ फागुनमा काठमाडौं बसाइमा एक दर्जनभन्दा बढी भेटवार्ता तथा नेपाली समकक्षी भरतराज पौड्यालसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा भएको उनको भ्रमण मुख्यगरी राष्ट्रपतिको निर्वाचनमा केन्द्रित रहेको थियो । भारतले आफू अनुकूलको राष्ट्रपतिका लागि भूमिका खेलेको र प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा छुट्टै दुई घण्टा गोप्य वार्ता समेत गरेको स्रोतको दावी छ ।
छिमेकी चीनबाट पनि मार्चपछि कूटनीतिक भ्रमण हुने स्रोतको भनाइ छ । चीनमा आगामी महिना प्रधानमन्त्रीसहित केही शासकीय नेतृत्वमा परिवर्तन हुँदै छ । त्यसपछि चीनबाट नेपालमा भ्रमण हुने छ ।
विश्व राजनीति र शक्तिसन्तुलनमा भइरहेका परिवर्तन र नयाँ विश्व व्यवस्थाको रचनाका सन्दर्भमा नेपालको सामरिक महत्व बढेका कारण पश्चिमेली शक्तिराष्ट्रहरूको नेपालमा रुचि, संलग्नता र रणनीतिक जाल गहिरिदै र फैलाउँदै गएको कुटनीतिक क्षेत्रका विश्लेषकहरुको भनाइ छ ।
अमेरिकामा कार्यरत रणनीतिक मामिलाविज्ञ अनिल सिग्देल अमेरिकी अधिकारीहरुको पछिल्ला भ्रमणलाई पूर्वाधार र लोकतन्त्रदेखि रक्षा मामिलालगायतमा बढ्दै गएको साझेदारीको अर्थमा बुझ्नुपर्ने बताउँछन् । इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकाको समग्र नीति प्राथमिकताको पृष्ठभूमिमा यी भ्रमण भएको उनको विश्लेषण छ ।
सिग्देलको यो विश्लेषणबाट पनि स्पष्ट हुन्छ कि नेपालका शासकहरुले विषयलाई लुकाउन र जनतालाई गुमारहमा राख्न खोजेपनि अमेरिका एमसीसी सम्झौतापछि अब सैन्य सम्झौताको तयारीमा रहेको छ । इन्डो प्यासिफिक सैन्य रणनीतिको साझेदार राष्ट्रको रुपमा नेपाललाई उसले प्रयोग गर्न खोजिरहेको छ र यहाँका शासकहरुले त्यसका लागि सहमति दिइसकेका छन् । ग्लोबल डेमोक्रेसी समिटमा भाग लिने, अमेरिकी सेनाको फौज नेपाल राख्ने गरी सैन्य सम्झौता गर्ने र नेपाली भूमि निर्वाध रुपमा छिमेकी (चीन)का विरुद्ध प्रयोग गर्न दिने स्थिति बनेको खण्डमा नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकता गम्भिर संकटमा पर्न सक्ने स्थिति शक्तिराष्ट्रहरुका भ्रमणका श्रृङ्खला र भूराजनीतिक चलखेलले स्पष्ट पारिसकेको छ ।