माघ २६, २०७९
लस एन्जलस — लेब्रोन जेम्सले एनबीए इतिहासकै सबैभन्दा बढी अंक बनाएका करिम अब्दुल–जब्बरको ३९ वर्ष पुरानो कीर्तिमान मंगलबार तोडेका छन् । करिमको प्रदर्शनलाई धेरैले कहिल्यै तोड्न नसकिने कीर्तिमानको रूपमा लिएका थिए, जसलाई जेम्सले उछिनेका हुन् ।
स्कोर प्रयासमा लस एन्जल्स लेकर्सका लेब्रोन जेम्सको। तस्बिर स् एपी
लस एन्जल्स लेकर्सका स्टार खेलाडी जेम्सले २० औं सिजनमा रोमाञ्चक खेलमा ओक्लाहोमा सिटी थन्डरविरुद्ध २१ फिटबाट पनि स्कोर गर्दै करिअरमा कुल ३८ हजार ३ सय ८७ अंक बनाएका करिमको एनबीएमा सर्वाधिक स्कोरको कीर्तिमान भंग गरेका हुन् । जेम्सले ३८ हजार ३ सय ८८ अंक छोएपछि एरिनामा ठूलो खुसीयाली मनाएका थिए । कोर्ट नजिकै रहेका करिम जेम्सलाई बधाई दिनेमध्येमा पहिलो रहे । करिमले १९८४ मा उक्त कीर्तिमान रचेका थिए ।
‘करिमजस्तै लिजेन्डको उपस्थिति मेरो लागि धेरै ठूलो हो,’ परिवार, साथी र समर्थकलाई धन्यवाद दिँदै जेम्सले भने, ‘यो २० वर्षको यात्रामा सबैको योगदान उत्तिकै छ । म धन्यवाद मात्रै भन्न चाहन्छु किनभने म सबैको सहयोगविना यहाँ हुने थिइनँ । सबैको धैर्य र त्यागको सहयोगले यो अवस्थामा आइपुगेको हो ।’
उनले खलमा ३८ स्कोर गरेर एनबीए करिअरमा ३८ हजार ३ सय ९० अंक बनाए । अझै उनले कम्तीमा दुई सिजन खेल्ने अपेक्षा गरिएको छ । ‘मलाई थाह छ कि म अझै केही वर्ष खल्ने छु । यो सबै मेरो दिमागको कुरा हो,’ जेम्सले भने, ‘मेरो दिमाग अझै यसमा हुने हो भने म अझै अगाडि बढ्न उत्साहित हुने छु र च्याम्पियनसिपका लागि खेल्ने प्रयास गर्नेछु । मलाई अझै त्यो ९च्याम्पियनसिप० गर्न सक्छु भन्ने महसुस हुन्छ ।’
लेकर्स संघर्षरत भए पनि जेम्सले औसतमा प्रतिखेल ३० स्कोर गरिरहेका छन् । उनी करिमको कीतिमान भंग गर्न ३६ अंक चाहिएको स्थितिमा ओक्लाहोमाविरुद्धको खेलमा पुगेका थिए । ३८ वर्षीय उनले सुरुका दुई प्रहार असफल भए पनि पहिलो क्वाटरको मध्यतिर थ्री–प्वाइन्टरमार्फत् लय समातेका थिए । चारपल्टका एनबीए च्याम्पियन जेम्सले पहिलो क्वाटरमै ८ अंक बनाए । दोस्रो क्वाटरमा १२ स्कोर गरेपछि उनलाई परिवर्तन गरियो । तेस्रो क्वाटरमा ८ अंक जोडेपछि उनलाई कीर्तिमान तोड्न अन्तिम क्वाटरमा ८ अंक जोड्नुपर्ने अवस्था बन्यो । अन्तत: लामो प्रयासपछि उनी करिमको ३९ वर्ष पुरानो कीर्तिमान भंग गर्न सफल भए ।
‘मेरो विचारमा खेलकुदमा यो महान् रेकर्ड हो,’ जेम्सले भने, ‘बेसबलको रेकर्डजस्तै उच्च हुन्छ भन्ने सोचेको छु । यो एउटा यस्तो रेकर्ड हो कि जसलाई तोड्नका लागि कहिल्यै हेर्न वा सोच्न पनि सकिँदैन ।’ धेरैले करिमको कीर्तिमान पनि छुन नसकिने विश्वास गरेका थिए ।