माघ २६, २०७९
इटहरी — पुलिसका प्रिन्स दाहाल र विष्णु कटुवाल इटहरीमा सुरु प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङकिङ खुला ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरफाइनल पुगेका छन् ।
प्रिन्सले एपीएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा हराए । पुलिसकै विष्णुले काठमाडौं ब्याडमिन्टन एकेडेमीका साहिल शेखमाथि २१–७, २१–५ को जित पायो ।
अन्तिम १६ पुग्ने खेलाडीमा आर्मीका नरेन्द्र बम, प्रफुल महर्जन, कविर केसी, रुकेश महर्जन, पविन लिनथेप र हिमाल चन्द छन् । त्यस्तै पुलिसका सुनील जोशी, जीवन आचार्य, दीपक बोहरासहित एपीएफका देवराज राना, क्षितिज खनाल, रोशन साउद, अमन महर्जन, विजित थापामगर छन् । नरेन्द्रले एपीएफका अरुण अधिकारीलाई २१–१५, २१–११ ले, प्रफुलले मेहरमान बहुउद्देश्यीय कभर्डहलका नवीन सुवाललाई २१–१६, २१–९ ले, कविरले एपीएफका प्रनिशसिंह ठकुरीलाई २१–१७, २१–१६ ले, रुकेशले मोरङका विवेक चौधरीलाई २१–१७, १८–२१, २१–१४ ले, पविनले बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरीलाई २१–१७, २१–१५ ले र हिमालले सुनसरीका रोधा राईलाई २१–१७, २१–१६ ले हराएका थिए ।
पुलिसका सुनीलले सुनसरीका प्रविण तामाङलाई २१–८, २१–१२ ले, दीपकले ताप्लेजुङका प्रेम लिम्बुलाई २१–१६, २१–१० ले र जीवनले बेल्टारका केनिश मगरलाई २१–८, २१–१२ ले हराएर अन्तिम १६ मा स्थान बनाए ।
एपीएफका देवराजले संखुवासभाका पवन रानामगरलाई २१–४, २१–८ ले, क्षितिजले सुनसरीका मुनाहाङ राईलाई २१–११, २१–९ ले, रोशनले काठमाडौं ब्याडमिन्टनका बबिश थापालाई २१–११, २१–१५ ले, अमनले सुनसरीका प्रशन्न राईलाई २१–१७, २१–१३ ले र विजितले संखुवासभाका गोरख चौहानलाई २१–७, २१–७ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे । ब्वाइज यू–१३ तर्फ काठमाडौं ब्याडमिन्टनका प्रवल श्रेष्ठ, सुनसरीका अनुज कार्की, कैलालीका आदित्य चौधरी, बबिन राई, खोटाङका सुयोग खड्का, एनपीएस काभ्रेका प्रनिश कार्की, नवाङ राई, सुनसरीका प्रतीक मगर, भोजपुरका त्याबुङ राई अन्तिम १६ मा पुगेका छन् ।































