काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा कवि मित्रलाल पंज्ञानीको महाकाव्य ‘गुगान्तर’को परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको अध्यक्षता तथा महासचिव हिरामणि दु:खीको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा.अमर गिरी, कवि बलराम तिमिल्सिना, डा. विन्दु शर्मा, डा. गीता त्रिपाठी, दिवाकर शर्मा, प्रा.डा. रामप्रसाद ज्ञवाली, विभूति भट्टराई, धनकुमारी सुनार, तेजविलास अधिकारी लगायतका साहित्यिक तथा काव्यिक व्यक्तित्वहरुले परिचर्चा गर्नुभएको थियो ।
वक्ताहरुले महाकाव्यले नेपाली समाजको सबैभन्दा तल्लो वर्गको सजिव चित्रण गरेको, श्रमजीवी वर्गका अनेक दु:ख र हैरानीलाई जीवन्त रुपमा उतारेको र मुक्तिका निम्ति क्रान्तिचेतको मसाल बालेको चर्चा गर्दै ‘युगान्तर’लाई यो समयको सबैभन्दा उत्कृष्ट लोकलयमा आधारित महाकाव्य भएको टिप्पणी गर्नुभयो । कथावस्तु, पात्र र घटनाक्रम सबै समाजवादी यथार्थवादमा आधारित रहेको र महाकाव्यले क्रान्तिकारी युगचेतलाई प्रतिनिधित्व गरेको भन्दै वक्ताहरुले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि यस्ता काव्य, खण्ड काव्य तथा महाकाव्यहरुको परिचर्चा कार्यक्रमहरुलाई देशव्यापी बनाउनुपर्ने धारणा समेत राख्नुभएको थियो । उहाँहरुले ‘युगान्तर’ आम नेपाली श्रमजीवी शोषित, उत्पीडित वर्ग र समुदायका निम्ति क्रान्तिकारी आशावादको एउटा अमूल्य निधि भएको समेत बताउनु भएको थियो ।
इच्छुक साँस्कृतिक प्रतिष्ठानमा सम्पन्न परिचर्चा कार्यक्रममा महाकाव्यको समालोचनात्मक धारणा राख्नुहुने सबै व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै उठेका कतिपय विषयहरुलाई स्पष्ट पार्नुभएको थियो ।