काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउन गृह मन्त्रालयसँग प्रहरी परिचालन गरिदिन आग्रह गरेको छ । नदी किनारमा अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउनका लागि पटक–पटक प्रयास गरेपनि असफल भएको भन्दै महानगरपालिकाले गृहसँग प्रहरीको सहयोग मागेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृहलाई पत्र पठाएर सुकुम्बासी हटाउनका लागि जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय गरिदिन आग्रह गरेका छन् । महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचना हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्ने देखिएको पत्रमा उल्लेख छ । पत्रमा सहरको सौन्दर्यीकरणका लागि थापाथलीको बस्ती हटाउनै पर्ने जिकिर गरिएको छ ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले भने स्थायी विकल्प विना बस्ती नहटाउन पटक पटक आग्रह गर्दै आएका छन् । मंसिर १२ गते महानगरले जोडर लिएर थापाथलीको सुकुम्बासी बस्तीमा छिरेपछि सुकुम्बासीहरुले कडा प्रतिरोध गरेका थिए । सुकुम्बासीहरुको प्रतिरोधमा परी ३६ जना नगरप्रमुखसहित नगरप्रहरीहरु घाइते भएका थिए । त्यो घटनापछि देशव्यापी रुपमा अहिले विना विकल्प सुकुम्बासीहरुलाई हटाउन नहुने भन्दै विभिन्न सरोकारवाला निकायहरुले आवाज उठाइरहेका छन् । तर महानगरले भने स्थायी विकल्प विना नै जबर्जस्ती उठिबास लगाउने तयारी गरिरहेको छ । नगरप्रहरीको बलले मात्र असम्भव भएपछि प्रहरी समेत परिचालन गरेर उठिबास लगाउन खोजेपछि फेरि सुकुम्बासी बस्ती आतंकित बन्न पुगेको छ ।