
सुगौली सन्धिकाअनुसार नेपालको स्वामित्व महाकाली नदी बहुदलकालमा तत्कालीन सत्तासीन र प्रतिपक्ष दलले महाकाली साझा हो पानी आधाआधा हो को भ्रमपूर्ण नारा दिएर भारतलाई जिम्मा लगाए । मुलुकप्रति घात गरे । महाकाली सन्धिको मस्यौदा गर्ने तत्कालीन कर्मचारीतन्त्र झनै चुक्यो ।
बरु ती कर्मचारीगण ‘ट्रयाक टू’ डाइलगका नाममा भारत सरकारको थिंक ट्यांक ओआरएफ, भारतीय रक्षा मन्त्रालयमातहतको आइडीएसए, ओआरएफले संचालन गर्ने राइसिना हील डाइलग र वीपी कोइराला नेपाल भारत फाउण्डेशनका नामबाट महाकाली सन्धिका पक्षमा देहरादून, नैनितालदेखि नयाँ दिल्लीका कार्यक्रमहरुमा निरन्तर सहभागी हुँदैआए र आइरहेकै छन् ।
महाकाली सन्धि यस्ता कथा व्यथा अनेकौ छन् । सबैभन्दा दुःखद पक्ष त सन्धिलाई अधिकांश भागमा मात्रै सीमा नदी मान्नेहरुका कारण नेपालको लिम्पियाधुरा क्षेत्रको ठूलो हिस्सा भारतले ओगटेको छ । अवैध टनकपुरलाई वैध बनाइएको छ । लोहियाहेडबाट नेपालले पाउने विद्युत सुविधाको कही कतै उल्लेख छैन । शारदा र टनकपुर बाँधबाट अझै पानी पाउन सकस छ । सन्धिको सर्तअनुसार दोधारा चाँदनीका लागि पानी छोडिएको छैन । भारतले तल्लो शारदाका नाममा अर्को अड्को थाप्दैछ ।
महाकालीका कारण सीमा क्षेत्रका बासिन्दाले वर्षेनि सास्ती खेप्नु परेको छ । त्यसमा दार्चुला र कंचनपुर जिल्लाले बढी क्षती बेहोरेका छन् । दार्चुलाको उत्तर पश्चिमी सिरानीमा भारतीय सैनिक परेड खेलेर बसेका छन् । महाकाली तर्दा हालसम्म दर्जनौ दार्चुलावासी महाकालीमा विलिन भएका छन् । जयसिंह धामी तुइनबाट महाकाली तर्दैगर्दा भारतीय सुरक्षाकर्मीको सिकार बनेका छन् । केही दिन अघि भारतले सडक खन्दा आएको ढुंगा लागि दार्चुलाका एकजना स्थानीय बालकको ज्यान गएको छ ।
भारतले धौलीगंगा बाँधको ढोका खोल्दा आएको अकल्पनीय बाढीले दार्चुला खलंगा पूरै बगेको धेरै भएको छैन । बाढी पछि महाकाली पूरै नेपालतिर पसेको छ । महाकाली नेपालतिर सरेसँगै भारतले नदी च्याप्दै नेपालतिरै च्यापेर तटबन्ध बनाइरहेको छ । सो क्रममा भएको स्थानीय दार्चुलाबासीले गरेको प्रतिकारका कारण सदरमुकाम तनावग्रस्त छ ।
भारतका कारण नदी नेपालतिर धकेलिदै छ । सीमा मिचिदैछ, सारिदैछ । दार्चुलावासी ज्यान गुमाइरहेका छन् । दिनहूँ सास्ती खेप्न बाध्य छन् ।
तर सिंहदरबार भने चीर निद्रामा छ । दलहरु सत्ता भागबण्डामा छन् ।
जनता र मुलुकको दुर्भाग्य!
(भण्डारीकाे फेसबुक पेजबाट)