कमरेड इन्द्रमोहन सिग्देल ‘वसन्त’ हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिट ब्युरोको सदस्य हुनुहुन्छ र उहाँ एक क्रान्तिकारी बौद्धिक व्यक्तित्वका रुपमा पनि सुपरिचित रहि आउनु भएको छ । क. वसन्तले नेपाली भाषाका साथै अङ्ग्रेजी भाषामा पनि कैयौं आलेखहरु लेख्तै आउनु भएको छ । उहाँका कतिपय आलेखहरुको सङ्कलन गरी अङ्ग्रेजी भाषामा “इम्पेरियलिज्म एण्ड प्रोलेटारियन रिभोलुसन इन द ट्वेन्टि फस्ट सेन्चुरी” शीर्षक रहेको एउटा महत्वपूर्ण राजनीतिक कृति प्रकाशित भइसकेको छ । साथै उहाँले अङ्ग्रेजी भाषाबाट नेपाली र नेपाली भाषाबाट अङ्ग्रेजीमा कैयौ आलेख र कृतिहरुको पनि अनुवाद समेत गर्दै आउनु भएको छ । यस सन्दर्भमा, ‘थ्री मेजर स्ट्रगल्स अन चाइनाज फिलोसोफिकल फ्रन्ट’ र ‘अ बेसिक अन्डस्र्ट्यान्डिङ् अफ द कम्युनिस्ट पार्टी अफ चाइना’ शीर्षक कृतिहरुलाई नेपालीमा अनुवाद गरी “दार्शनिक तथा साङ्गठनिक सिद्धान्त” शीर्षकमा अनुदित क. वसन्तको एउटा महत्वपूर्ण कृति प्रकाशित भइसकेको छ । हालै क. वसन्तद्वारा लिखित “विचारधारात्मक सङ्घर्ष” शीर्षक रहेको एउटा महत्वपूर्ण कृति प्रकाशित हुन गइरहेको छ । यसमा मलाई निकै प्रसन्नताका साथै गौरवको पनि अनुभूति भएको छ ।
प्रस्तुत पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरुलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरुमा वर्गीकरण गरिएको छ । यी आलेख नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान रहिआएका विभिन्न विचार, प्रवृत्ति तथा अन्तर्विरोधहरु र नेपाली अर्थतन्त्र, नवउदारवादी साम्राज्यवाद, विज्ञान तथा प्रविधिको विकास तथा तिनले वर्ग सङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा पार्दै आएको प्रभाव लगायतका विषयवस्तुहरुमा आधारित रहेका छन् । र तिनमा हाम्रो पार्टीका विचार, दृष्टिकोण र अभिमत सशक्त एवम् प्रभावकारी रुपमा अभिव्यक्त भएका छन् ।
कमरेड वसन्तद्वारा रचित यो कृति विभिन्न समयमा लेखिएका लेखहरुको सङ्कलन हो । त्यसैले यहाँ प्रस्तुति एउटै सिलसिलामा आबद्ध हुन नसक्नु स्वाभाविकै हो । प्रस्तुत कृतिमा समावेश गरिएका विभिन्न आलेखहरुको सन्दर्भ र विशेषताबारे यहाँ भूमिकाका रुपमा निम्नानुसार सङ्क्षिप्त टिप्पणी गरिएको छ ।
पहिलो, विचारधारात्मक सङ्घर्षको प्रश्न । यहाँ कैयौ आलेखहरु मूलतः नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भित्रका दुई–लाइन सङ्घर्ष र दक्षिणपन्थी संशोधनवादी विचलन सित सम्बद्ध रहेका छन् । यो विचारधारात्मक सङ्घर्षको महत्वपूर्ण विषय रहेको छ ।
क. वसन्त रचित “प्रचण्डलाई रुपान्तरित गर्ने मेरो प्रयत्न” शीर्षक लेख नेकपा (माओवादी) केन्द्रीय समितिको गोर्खाको पालुङ्टारमा सम्पन्न राष्ट्रिय भेलामा प्रस्तुत प्रचण्ड, बाबुराम र किरणका राजनीतिक प्रस्तावका सन्दर्भमा चलेको भीषण दुई–लाइन सङ्घर्षमा आधारित छ । यस लेखमा क. वसन्तले अवसरवादी धाराको सशक्त विरोध र क्रान्तिकारी धाराको दृढ पक्षपोषण गर्नु भएको छ ।
अनि “फ्युजन र यसको द्वन्द्वात्मक भौतिकवादी अवधारणा” नामक आलेखमा लेखकले एकातिर प्रकृति विज्ञानबाट लिइएको ‘फ्युजन’ शव्दको प्रयोगमा सतर्क हुनुपर्ने आवश्यकता र अर्कोतिर यस प्रकारको शव्द प्रयोग दार्शनिक सन्दर्भसित जोडिएको विषयबारे राम्रो प्रकाश पार्नु भएको छ । यस सन्दर्भमा उहाँले चीनको दार्शनिक फाँटमा एकको दुईमा विभाजनले एकता–सङ्घर्ष–रुपान्तरण र दुईको एकमा संयोजनले एकता–सङ्घर्ष–संझौतामा आधारित मान्यता जस्तै नेपालमा पनि फ्युजनले कम्युनिस्ट पार्टी र वर्ग सङ्घर्षलाई संझौतावादमा परिणत गर्दै गरेको यथार्थलाई राम्रोसित उद्घाटित गर्नु भएको छ ।
त्यसैगरी “प्रचण्डको नवसंशोधनवादको अन्तर्राष्ट्रिय आयाम” शीर्षक लेखमा राजनीतिक कार्यदिशाका हिसावले विद्रोह तथा क्रान्ति भन्न नछाड्ने तर पार्टी सङ्गठनलाई अराजक, दब्बु, तथा गलत तत्वहरुको भीड बनाएर विद्रोह हुनै नसक्ने स्थितिको निर्माण गरी पार्टीलाई सुधारवादमा फसाउने नै प्रचण्डपथीय विशेषता बन्न गएको कुरा दर्शाउनु भएको छ । आखिर माक्र्सवादको सिर्जनात्मक विकासको नाममा माक्र्सवाद माथि नै हमला बोल्नु प्रचण्डपथीय नवसंशोधनवादको विशेषता हो र त्यसबारे क. वसन्तले राम्रो प्रकाश पार्नु भएको छ ।
नवसंशोधनवादका विरुद्ध विद्रोह गरी क्रान्तिकारी धारासितै संलग्न भएका विप्लव र उनको समूहमा गंभीर प्रकारको अवसरवादी विचलन पैदा भयो र हामीले त्यो प्रवृत्ति तथा विचलनका विरुद्ध पनि विचारधारात्मक सङ्घर्ष सञ्चालन गर्नु प¥यो । त्यसै अवसरमा क. वसन्तले “विप्लवको यथास्थितिबाट क्रमभङ्गता ः एक अध्ययन” शीर्षक लेख लेख्नुभयो । त्यस लेखमा विप्लव समूहले भौतिकवादी द्वन्द्ववादबाट क्रमभङ्ग गरेर निषेधात्मक द्वन्द्ववाद तथा अनुभववादको, जनवादी केन्द्रीयता सम्बन्धी लेनिनवादी पद्धतिबाट क्रमभङ्ग गरेर व्यक्तिवादी अराजकतावादको, राष्ट्रिय स्वाधीनताबाट क्रमभङ्ग गरेर भारतीय विस्तारवादको र माक्र्सवादबाट क्रमभङ्ग गरेर वामरुपमा देखा पर्ने दक्षिणपन्थी अवसरवादको पक्षपोषण गर्न पुगेको कुरा बताउनु भएको छ ।
प्रचण्ड गुटको नवसंशोधनवादका विरुद्ध विद्रोह गरी क्रान्तिकारी धारामा आबद्ध हुन पुगेका बादल र उनको गुट पुनः प्रचण्डको नवसंशोधनवाद तिर नै फर्कन पुग्यो र बादल तथा उनको गुटको पुच्छरवादी प्रवृत्तिका विरुद्धको भीषण दुई–लाइन सङ्घर्षको प्रक्रियामा पार्टीले राष्ट्रिय भेलाको आयोजना ग¥यो । क. वसन्तको “नवसंशोधनवादी आँधी र पार्टीको राष्ट्रिय भेला” नामक लेख यसै सन्दर्भमा आधारित रहेको छ ।
विज्ञान तथा प्रविधिको अपूर्व विकास र भूमण्डलीकृत साम्राज्यवादको प्रभुत्व तीव्र बन्दै गएको आजको अवस्थामा उत्तर–आधुनिकतावाद तथा उत्तर–माक्र्सवादको सिह्रानी हालेर विश्वका विभिन्न मुलुकहरुका साथै नेपालमा पनि अव लेनिनीय युग समाप्त भयो र विज्ञान तथा प्रविधि नै मुख्य उत्पादक शक्ति बन्न पुग्यो भनी ठुलो होहल्ला मच्चाउने काम हुन थालेको छ । यस सन्दर्भमा नेपाली वाम आन्दोलनमा आहुति समूह अग्रपंक्तिमा उभिएको छ । क. वसन्तले त्यस प्रकारको गलत चिन्तन तथा प्रवृत्तिका विरुद्ध “साम्राज्यवाद, प्रविधि र माक्र्सवाद” नामक लेखमा सशक्त रुपमा विचारधारात्मक प्रहार गर्नु भएको छ ।
त्यसै गरी क. वसन्तले अझै विस्तृत रुपमा “माक्र्सवाद र आर्थिक सामाजिक क्रान्तिमा प्रविधिको भूमिका” शीर्षक आलेखमा माक्र्सवाद, आर्थिक सामाजिक क्रान्ति र प्रविधिका बीचको सम्बन्धबारे प्रस्ट पार्नु भएको छ । यस लेखमा एकातिर मानवीय श्रमशक्ति तथा विचारधाराको महत्वपूर्ण भूमिकालाई गिराउन चाहने प्रविधिवादको सशक्त विरोध गरिएको छ भने अर्कोतिर प्रविधिको विकास क्रान्तिका निम्ति गम्भीर चुनौती मात्र होइन महान संभावना लिएर आएको अवस्थाबारे पनि निकै राम्रोसित स्पष्ट पारिएको छ ।
दोस्रो, क्रान्तिमा क्रान्तिकारी सिद्धान्तको महत्व । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त अनिवार्य रुपमा आवश्यक हुन्छ । क. वसन्तका कतिपय लेखहरु यसै पृष्ठभूमिमा केन्द्रित रहेका छन् । क. वसन्तले “माक्र्सको द्विशतवार्षिकी र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन” नामक आलेखमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको एकमुष्ट समष्टिमा आधारित माक्र्सवादको ओज तथा गरिमामाथि निकै राम्रो प्रकाश पार्नु भएको छ र वर्तमान परिस्थितिको लेखाजोखा गर्दै विद्यमान चुनौतीहरुको सामना गर्नका लागि माक्र्सवाद अपरिहार्य रहेको कुरा बताउनु भएको छ । त्यसैगरी उहाँले “अक्टोबर समाजवादी क्रान्ति र लेनिन” शीर्षक आलेखमा एकातिर रुसमा लेनिनको नेतृत्वमा माक्र्सवादको सफल प्रयोग र अर्कोतिर साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा लेनिनवाद विकसित हुन पुगेको सत्यमाथि राम्रो प्रकाश पार्नु भएको छ । त्यतिमात्र होइन क. वसन्तले “महान सर्वहारा सांस्कृतिक क्रान्ति ः सर्वहारा अधिनायकत्वको सर्वोच्च अभिव्यक्ति” नामक आलेखमा माओको नेतृत्वमा चीनमा प्रतिक्रान्ति रोक्न र साम्यवादको यात्रा तय गर्न सञ्चालित महान सर्वहारा सांस्कृतिक क्रान्तिको ऐतिहासिक महत्वमाथि राम्रो प्रकाश पार्दै सर्वहारा अधिनायकत्वका अनुभवहरुका बीचबाट नयाँ विचारको विकास भएको कुरा उजागर गर्नु भएको छ । यस आलेखमा उहाँले पेरिस कम्युनदेखि अक्टोबर क्रान्ति हुँदै महान सर्वहारा सांस्कृतिक क्रान्तिसम्म आउँदा विश्व सर्वहारा वर्गले पथप्रदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गरेको कुरा दर्शाउँदै त्यस प्रकारको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले लागु गर्दै र विकास गर्दै जानुपर्ने कुरामा विशेष जोड दिनुभएको छ ।
साथै क. वसन्तद्वारा लिखित “सर्वहारा अन्तर्राष्ट्रियतावाद ः हिजो र आज”, “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा दुई–लाइन सङ्घर्ष” लगायतका आलेखहरुले वर्तमान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा चल्दै आएका जटिल दुई–लाइन सङ्घर्ष, सामाजिक क्रान्ति र माक्र्सवाद–लेनिनवाद–माओवादको महत्व लगायतका विषयमा राम्रो प्रकाश पारेका छन् ।
तेस्रो, अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भ । क. वसन्तले अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भमा आधारित कैयौं लेखहरु लेख्दै आउनु भएको छ । यस ढङ्गका आलेख अन्तर्गत उहाँले नव उदारवादी साम्राज्यवाद सङ्कटग्रस्त बन्दै गएको, साम्राज्यवादी मुलुकहरुभित्र पुँजीपति वर्ग र सर्वहारा वर्ग बीच, साम्राज्यवाद र उत्पीडित राष्ट्रहरु बीच तथा साम्राज्यवादी मुलुकहरु बीचमा अन्तर–साम्राज्यवादी लगायतका अन्तर्विरोधहरु चर्कदै विष्फोटित हुन थालेको अवस्थामाथि राम्रो प्रकाश पार्नु भएको छ । क. वसन्तका अनुसार वर्तमान विश्व गम्भीर प्रकृतिको आर्थिक सङ्कट, प्रतिवर्ष थपिँदै गएको त्यत्तिकै गम्भीर पर्यावरणीय सङ्कट, त्यसमाथि अझै थपिएको कोभिड–१९ महामारीको सङ्कट र यी नै सङ्कटको अभिव्यक्तिका रुपमा विकसित हुँदै गइरहेको राजनीतिक सकटको भयावह भुमरीमा परेको छ र यस प्रकारका सङ्कटहरुको समाधानका लागि वैज्ञानिक समाजवाद अपरिहार्य रुपमा आवश्यक छ । क. वसन्तले विभिन्न आलेखहरुमा साम्राज्यवादी तथा प्रतिक्रियावादी वर्ग र तिनका राज्यसत्ता सङ्कटग्रस्त बन्दै जानुको कारण क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गएको कुरा दर्शाउँदै क्रान्तिकारी कम्युनिस्टहरुले तदनुरुप आत्मगत परिस्थितिको निर्माण गर्नु पर्ने कुरामा विशेष जोड दिनुभएको छ ।
चौथो, राष्ट्रिय राजनीतिको सन्दर्भ । क. वसन्त लिखित प्रस्तुत कृतिका विभिन्न आलेखहरुमा नेपालको राष्ट्रिय राजनीतिका विविध पक्षमा, राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्रको स्थापना तथा जटिल बन्दै गएका जनजीविकाका समस्याहरुबारे आवश्यक रुपमा प्रकाश पार्नु भएको छ । त्यसै गरी उहाँले नेपालमा प्रभावी बन्दै आएका विभिन्न रुप तथा रङ्गका पुराना र नयाँ दक्षिणपन्थी संशोधनवादीहरुको सशक्त विरोध तथा भण्डाफोर गर्नु भएको छ । नेपाली राजनीतिमा पछिल्लो कालखण्डमा एकातिर ओली नेतृत्वको एमाले तथा प्रचण्ड नेतृत्वको माओवादी मिलेर डबल नेकपाको निर्माण भई त्यसको नेतृत्वमा झण्डै दुई–तिहाइको सरकार गठन हुनु र अर्कोतिर सो पार्टी पदीय भागबण्डा तथा सत्ता लिप्सामा आधारित चरम अन्तर्कलहका कारण विभाजित हुन गई नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्न जानु विशेष अध्ययन गर्न लायक परिघटना हुन् । यस प्रकारका परिघटनाहरुको क. वसन्तले राम्रो चिरफार गर्नु भएको छ ।
यस सन्दर्भमा क. वसन्त भन्नुहुन्छ, “नेपालको वर्तमान सङ्कट डबल नेकपाका एकाध नेताहरुको बलमिच्याइँका कारण पैदा भएको सङ्कट होइन, यो संसदीय व्यवस्था र दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गको संयुक्त अधिनायकत्वमा आधारित प्रतिक्रियावादी सत्ताको असफलता र त्यही असफलताले पैदागरेको राजनीतिक सङ्कट हो । सरकारको फेरबदल अथवा शासन व्यवस्थामा परिवर्तन वर्तमान सङ्कटको विकल्प होइन र हुन सक्दैन । यसको एकमात्र विकल्प सर्वहारा वर्गको नेतृत्व र मजदुर, किसान लगायत सम्पूर्ण उत्पीडित जनसमुदायको जनवादी अधिनायकत्वमा आधारित नयाँ जनवादी क्रान्तिको सफलता र सङ्घीय जनगणतन्त्रको स्थापना हो । त्यसले मात्र दलाल, नोकरशाही पुँजीपतिवर्ग र सामन्त वर्गको शोषण तथा उत्पीडन र साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपको अन्त्य गरी सही अर्थमा “सुखी नेपाली र समृद्ध नेपाल”को दिशामा अगाडि बढ्ने मार्ग प्रशस्त गर्दछ ।”
पाँचौं, अर्थराजनीतिक सन्दर्भ । कमरेड इन्द्रमोहन सिग्देलले राजनीतिक मात्र होइन अर्थतन्त्रको क्षेत्रमा पनि प्रशस्त कलम चलाउँदै आउनु भएको छ । प्रस्तुत कृतिमा ‘अर्थ राजनीति’ अन्तर्गत समावेश गरिएका नेपाली अर्थराजनीतिमा आधारित आलेखले वर्तमान नेपाली अर्थतन्त्रको राम्रो चिरफार गर्दछन् भने “नव उदारवादी साम्राज्यवाद र सामाजिक क्रान्ति” नामक आलेख वर्तमान साम्राज्यवादको गति र दिशाबारे शल्यक्रिया गर्दै सामाजिक क्रान्तिको उज्ज्वल भविष्य माथि प्रकाश पार्ने काममा निकै समर्थ रहेको देखिन्छ ।
छैटौं, सङ्गठन सम्बन्धी प्रश्न । सङ्गठन सम्बन्धी प्रश्नमा यहाँ क. वसन्तका तीनओटा आलेख समावेश गरिएका छन् । नयाँ ढङ्गको पार्टी निर्माण सम्बन्धी आलेखमा उहाँले कम्युनिस्ट पार्टीलाई एकातिर विचार, राजनीति, कार्यदिशा, कार्यनीति तथा सङ्गठनको समुच्चय बताउनु भएको छ भने अर्कोतिर नयाँ ढङ्गको पार्टी निर्माणका लागि माक्र्स, लेनिन, माओका विचार तथा अनुभवहरुको उल्लेख गर्दै सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा अवलम्बन, संशोधनवादका विरुद्धको निरन्तर सङ्घर्ष एवम् आन्तरिक रुपमा एकता–सङ्घर्ष–रुपान्तरणमा विशेष जोड दिनु भएको छ । अनि माकेको एमालेमा विलय सम्बन्धी आलेखमा नव संशोधनवादी धाराको अर्को दक्षिणपन्थी संशोधनवादी धारामा विलयका रुपमा पतन भएको कुरा दर्शाउँदै सच्चा क्रान्तिकारीहरुको ध्रुवीकरण तथा एकीकरणको संभावना खोज्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । त्यसैगरी पार्टी एकताबारे शीर्षक आलेखमा हाम्रो पार्टीको राष्ट्रिय सम्मेलनद्वारा प्रस्तुत पार्टी एकता सम्बन्धी अवधारणा प्रस्तुत गर्दै रुपमा वाम परन्तु सारमा दक्षिणपन्थी संशोधनवादी प्रवृत्ति बोकेका सच्चा पार्टी एकताका विरुद्ध परिलक्षित तत्वहरुको सशक्त भण्डाफोर गर्नु भएको छ । क्रान्तिका लागि आत्मगत तयारीका सन्दर्भमा यी आलेखहरुले विशेष महत्व राख्दछन् ।
प्रस्तुत सङ्कलनमा समावेश गरिएका कतिपय महत्वपूर्ण आलेखहरुमा कतिपय सैद्धान्तिक तथा राजनीतिक पक्षबारे सङ्क्षिप्त चर्चा गरियो । यस प्रकारको अध्ययनलाई आधार बनाएर हेर्दा यस कृतिको शीर्षक ‘विचारधारात्मक सङ्घर्ष’ सार्थक नै रहेको देखिन्छ ।
यो पुस्तक साम्राज्यवाद तथा विस्तारवादका विरुद्धको राष्ट्रिय मुक्ति सङ्घर्ष, दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गका विरुद्धको वर्ग सङ्घर्ष, पुराना तथा नयाँ विभिन्न रुप एवम् रङ्गका संशोधनवादका विरुद्धको सैद्धान्तिक सङ्घर्ष, स्वयम् क्रान्तिकारी पङ्क्ति भित्रकै आत्मसङ्घर्ष र समग्रमा सबैका विरुद्ध विचारधारात्मक सङ्घर्षमा एउटा ओजपूर्ण तथा धारिलो हतियार बन्न गएको छ ।
यहाँ समावेश गरिएका आलेखहरु पार्टीको विचारधारत्मक तथा राजनीतिक कार्यदिशा र केन्द्रीय कार्यालयको आवश्यकता अनुसार लेखिएका हुन् । त्यसैले पनि यो कृति विशेष पठनीय तथा सङ्ग्रहणीय रहेको छ ।
हाम्रो पार्टीका एक वरिष्ठ पीबीएम क. इन्द्रमोहन सिग्देल ‘वसन्त’ माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्नका लागि सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक रुपमा प्रतिबद्ध एवम् क्रियाशील रहिआउनु भएको छ । उहाँको यो प्रतिबद्धता निरन्तर जारी रहोस् र उहाँबाट अझै राम्रा कृतिहरु प्राप्त हुँदै जाऊन् भन्ने आशा तथा अपेक्षा सहित म क. इन्द्रमोहन सिग्देलको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र यस ढङ्गको पुस्तक प्रकाशनमा ल्याउनु भएकोमा उहाँलाई विशेष धन्यवाद समेत दिन चाहन्छु ।
३१ वैशाख २०७९
“विचारधारात्मक सङ्घर्ष” नामक पुस्तकको “भूमिका”बाट