“ यो माक्र्सवादको नियम हो कि समाजवादको प्राप्ति खाली जनवादको चरण पार गरेर नै गर्न सकिन्छ । एक संयुक्त जनवादी राज्यको स्थापनाबिना , नयाँ जनवादी अर्थव्यवस्था , राजकीय क्षेत्र , निजी पुँजीवाला क्षेत्र र सहकारी क्षेत्रको विकासबिना तथा एक राष्ट्रिय वैज्ञानिक जनसंस्कृति अर्थात् नयाँ जनवादी संस्कृतिको विकासबिना र कोटी कोटी मानिसहरुको व्यक्तित्वको मुक्ति र विकासबिना संक्षेपमा कम्युनिस्ट पार्टीको नेतृत्वमा एक नयाँ ढंगको पुँजीवादी जनवादी क्रान्तिबिना एक औपनिवेशिक , अर्धऔपनिवेशिक र अर्धसामन्ति व्यवस्थाको भग्नावशेषहरुमाथि एक समाजवादी समाजको निर्माणको प्रयास गर्नु साँच्चै एक कोरा कल्पना हो ।“ माओ त्सेतुङ
वैज्ञानिक समाजवादको निर्माणको प्रश्न ज्यादै महत्त्वको प्रश्न हो । नेपाल अझैसम्म पनि अर्धसान्ति र नवआपनिवेशिक अवस्थामा छ । यस प्रकारको अवस्था रहेको देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै । नेपाली कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पारगरिसक्दासम्म पनि नेपालमा नयाँ जनवाद क्रान्ति सम्पन्न हुन सकिरहेको छैन। यसको मुख्य कारण लामो समयदेखि प्रभावी रहँदै आएको दक्षिणपन्थी संशोधनवाद हो ।
आज नेपालमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ), नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) लगायतका नवप्रतिक्रियावादमा पतन भइसकेका नामधारी कम्युनिस्ट पार्टीहरुले नेपालमा जनवादी क्रान्ति पुरा भइसक्यो , समाजवादी क्रान्ति गर्ने हो भनेर ठूलो स्वरले दुश्प्रचार गरिरहेका छन् । अझ उनीहरू त यतिसम्म तल गिरेर चिच्याइरहेका छन् कि नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसक्यो अब आर्थिक क्रान्ति गर्ने हो भनिरहेका छन् ।
अर्कोतिर क्रान्तिकारी कम्युनिस्ट पार्टी कै कित्तामा दृढरहँदै आएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कञ्चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) , आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका कम्युनिस्ट पार्टीहरुले पनि नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसक्यो अब वैज्ञानिक समाजवादी क्रान्ति गर्ने हो भन्दै नेपाली क्रान्तिको न्युनतम कार्यक्रम वैज्ञानिक समाजवाद राख्दै आएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) भने वर्तमान देशको ठोस विश्लेषण गरेर नेपाल अझैसम्म पनि अर्धसान्ति र नवआौपािवशिक अवस्थामा रहेकोले यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो भनि सशस्त्र जनविद्रोहको कार्यदिशा ठोस गरेको छ । उसले नेपाली क्रान्तिको न्युनतम लक्ष्य नयाँ जनवाद र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र भएको ठहर गरेको छ । यही नै नेपाली क्रान्तिको वास्तविक कार्यक्रम हो ।
यस अतिरिक्त नेपाल कम्युनिस्ट पार्टी ( मसाल ) ,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , माले लगायतका कम्युनिस्ट पार्टीहरुले पनि नयाँ जनवादी क्रान्ति कै कार्यक्रमलाई नै नेपाली क्रान्तिको न्युनतम कार्यक्रम र वैज्ञानिक समाजवाद र साम्यवादलाई अधिकतम लक्ष्य बनाउँदै आएका छन् । यो पनि सही हो ।
यो आलेखमा नेपालमा नयाँ जनवादी क्रान्ति भएर मुलुक वैज्ञानिक समाजवादी क्रान्तिको फेजमा प्रवेश गरिसक्यो वा नयाँ जनवादी क्रान्ति कै चरणमा छ भन्ने विषयमा संकेन्द्रित रहनेछ ।
यहाँ उल्लेखित “ नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो , अबको क्रान्तिको फेज वैज्ञानिक समाजवादी क्रान्ति हो “ क्रान्तिकारी कम्युनिस्ट पार्टी कै कित्तामा रहेकाहरुको सैध्दान्तिक चिन्तन कमरेड माओले भन्नुभए झै साँच्चै एक कोरा कल्पना मात्र हो । उनीहरूमा नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका विषयमा मालेमावादी विश्वदृष्टिकोण मै खोट देखिन्छ ।
अर्कोतिर एमाले , माके , एस समाजवादी जस्ता नवप्रतिक्रियावादमा गिरिसकेका नामधारी कम्युनिस्ट पार्टीहरुले भन्ने गरेको “ नेपालमा जनवादी क्रान्ति भइसक्यो , अब समाजवादी क्रान्ति गर्ने हो , राजनीतिक क्रान्ति सम्पन्न भइसक्यो , अब आर्थिक क्रान्ति गर्ने हो “ भन्नेहरु जनतालाई भ्रममा पार्ने र आफ्नो स्वार्थसिध्द गर्ने षड्यन्त्र मात्रै हो । किनभने नेपाली जनताको ठूलो हिस्सा कम्युनिस्टहरूको पक्षमा छ , नयाँ जनवाद र वैज्ञानिक समाजवादको पक्षमा । जनतालाई ढाँटेर , छलेर , विविध प्रकारका षड्यन्त्र गरेर निर्वाचनमा जनताको भोट बटुल्ने र सरकारमा पुगेर राष्ट्र कै सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउने चाल र जाली , झेली र सिल्ली कुरा बाहेक अरु केही होइन । उनीहरूले जनतालाई भेडाबाख्रा र मुर्गी बनाउँदै आएका छन् । जनवाद , समाजवाद जनताको लागि लोकप्रिय शब्द भएकोले उनीहरूले समाजवादको नारा दिदै आएका छन् । र , आफ्ना दस्तावेजहरु र चुनावी घोषणापत्रमा समाजवादका सर्तहरू अगाडि सार्दै आएका छन् । उनीहरूको विचार मिलेराँवादी , काउत्स्की पन्थी र ख्रुश्चोव पन्थी हो । र , उनीहरूले भन्ने गरेको समाजवाद हिटलरले भन्ने गरेको समाजवाद हो । यीनीहरुले पनि नेपालमा हिटलरले जस्तै फासीवादी सत्ता चलाउँदै आएका छन् ।
अब हामी नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिकाबारेमा सैध्दान्तिक रुपमा छलफल गरौं ।
पहिलो कुरा त माथि पनि भनिएको छ र कमरेड माओले भन्नुभएको छ । साथै कमरेड माओ त नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका सिध्दान्तकार र प्रयोगकर्ता समेत हुनुहुन्छ । एक अर्धसान्ति र अर्धआौपनिवेशिक अवस्थामा रहेको देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । यो क्रान्ति सर्वहारा वर्गको राजनीतिक संगठित अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने क्रान्ति हो । क्रान्तिका मुख्य शक्तिका रुपमा मजदुर – किसानहरु रहेका हुन्छन् ।
नेपालको वर्तमान वर्गीय विश्लेषण देश अर्धसामन्ति र खर्धआौपनिवेशिक अवस्थामै रहेको छ । नेपालमा आज सम्म कृषि क्रान्ति र आौद्योगिक क्रान्ति भएको छैन । संगठित र सैध्दान्तिक रुपले एउटा पनि कलकारखाना र उद्योग धन्दाहरुको विकास गरिएको छैन । यहाँ त पुँजीको विकास भएको छ । राष्ट्रिय पुँजीको विकास भएको छैन । राष्ट्रिय पुँजीपति वर्गलाई धाराशाही बनाइएको छ र दलाल पुँजीपति वर्षकै हालीमुहाली बनाइएको छ ।
आज सत्तामा पनि दलाल तथा नोकरशाही र सामन्त वर्गकै रजाइँ छ । अर्थात् आज नेपालमा दलाल तथा नोकरशाहहरु र सामन्तहरुले शासन सत्ता चलाउँदै आएका छन् । जग अर्थात् आधार पनि दलाल तथा नोकरशाही र समान्तवादी अर्थतन्त्र रहेको छ भने उपरि ढाँचा अर्थात् सत्ता पनि उनै दलाल तथा नोकरशाही र सामन्तहरुले नै चलाउँदै आएका छन् ।
अब जाऊँ जनवादी क्रान्ति सम्पन्न भएको कुरा : नयाँ जनवादी क्रान्ति त मजदुर – किसान एकतामा आधारित सर्वहारा वर्गको राजनीतिक पार्टीको नेतृत्वमा सम्पन्न गरिने क्रान्ति हो । अब भन्नुहोस् कहिले , कुन बेला , कुन कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो त ? जवाफ छैन । किनभने नेपालमम कम्युनिस्ट पार्टीको नेतृत्व र मजदुर – किसानको एकता क्रान्ति भए कै छैन । नयाँ जनवादी जस्तो महान् क्रान्तिको ढाँटेर कहीँ लुक्न सकला र ? जुन क्रान्ति भएको छैन । नेपाल त कृषि प्रधान देश हो । नेपाली कम्युनिस्ट आन्दोलनमा , झापा विद्रोह होस् वा महान् दश वर्षे जनयुद्ध होस या मधेस आन्दोलन होस् लाखौं किसानहरुले ठूलो योगदान र बलिदान गर्दै आएका छन् । तर आौद्योगिक क्रान्ति नभएकोले कहाँबाट मजदुरहरु आएर उनीहरूले सम्पन्न गरिसक्यौं भनिएको जनवादी क्रान्तिमा होमिएका थिए । सबै कुरा झुट बाहेक केही होइन ।
दोस्रो कुरा : नयाँ जनवादी राज्यव्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व हुन्छ । अर्थात् सरकारमा सर्वहारा वर्गको राजनीतिक पार्टी कम्युनिस्ट सरकारमा हुन्छ । त्यस व्यवस्थामा राष्ट्रिय पुँजीपति वर्गदेखि आौद्योगिक सर्वहारा सम्म र धनी किसान वर्गदेखि लिएर कृषहर मजदुर वर्ग समेतको राज्यसत्तामा पहुँच हुन्छ । अर्थात् जनताको जनवादी अधिनायकत्व कायम गरिएको हुन्छ । भन्नुहोस् नेपालमा यस प्रकारको शासन प्रणाली कायम भएर जनवाद लागु भएको थियो त ? जवाफ छैन । किनभने त्यो शासन व्यवस्था निर्माण भए कै छैन । नयाँ जनवादी क्रान्ति भए कै छैन । सबै कुरा झुट हुन् भन्ने कुरा यसैबाट पुष्टि हुँदैन र ?
आजसम्म नेपाल त सामन्तवर्ग , दलाल तथा नोकरशाही पुँजीपति वर्गले मात्रै शासन गर्दै आएका छन् । काँग्रेस , राप्रपा , एमाले , माके , मधेसीवादी पार्टीहरुलाई पनि कम्युनिस्ट नै मानिएको भने उनीहरूले शासन सत्ता सञ्चालन गर्दै पो आएका छन् । यस विषयमा जमेर बहस गर्नुपर्ने हुन्छ ।
आज नेपालमा समाजवादको शब्दावली धेरै उराले पाइन्छ र समाजवादलाई ज्यादै हल्का रुपमा प्रचारप्रसार गरेको पाइन्छ ।
वैज्ञानिक समाजवाद र साम्यवादका सिध्दान्तकार कार्ल माक्र्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) ले ६ प्रकारका समाजवादकाबारेमा विषद व्याख्या गर्नुभएको छ । उहाँहरुले (१) प्रतिक्रियावादी समाजवाद (२) सामन्ती समाजवाद (३) निम्न पुँजीवादी समाजवाद (४) रुढीबादी अर्थात् पुँजीवादी समाजवाद (५) काल्पनिक समाजवाद र (६) जर्मन अथवा सच्चा समाजवाद ( वैज्ञानिक समाजवाद) – कम्युनिस्ट घोषणापत्र पेज ४७ – ५७ । प्रगति पुस्तक सदन , काठमाडौं , नेपाल , २०६४ साउन ।
वैज्ञानिक समाजवाद मात्र सच्चा समाजवाद हो । यस समाजवादमा सर्वहारा वर्गको अधिनायकत्व कायम रहेको हुन्छ । अर्थात् सर्वहारा वर्ग शासन सत्तामा पुगेका हुन्छन् । जनता देशका मालिक बनिसकेका हुन्छन् । मुलुकको सम्पत्ति जनताको सामुहिक सम्पत्तिमा परिणत भइसकेको हुन्छ । कलकारखाना , उद्योग धन्दा जनताको सामुहिक स्वामित्वमा रहेको हुन्छ । वैज्ञानिक समाजवादी राज्यव्यवस्था वर्गबिहिन , राज्यबिहिन वैज्ञानिक साम्यवादमा पुग्ने अन्तिम व्यवस्था हो ।
वैज्ञानिक समाजवादमा शासक वर्गका रुपमा सर्वहारा वर्ग रहेको हुन्छ भने शेषमा रहेका पुँजीपतिवर्ग पनि सुशुप्त अवस्थामा रहेका हुन्छन् । तर वैज्ञानिक समाजवादी राज्यव्यवस्था भएको देशमा पार्टी खोल्ने अधिकारमाथि कडारुपमा प्रतिबन्ध लगाइएको हुन्छ ।
त्यसो भएर नै रुस , चीन लगायत विश्वभरका समाजवादी मुलुकहरुमा शेषमा रहेको पुँजीपति वर्गले टाउको उठाउने मौका पायो र प्रतिक्रान्ति भयो । र , पुँजीवादको स्थापना भयो ।
यसै विषयमा गहन अध्ययन गरेर नै कमरेड माओले चीनमा महान् दश वर्षे साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो । र माओले सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त प्रतिपादन गर्नुभएको थियो । जसलाई माओवादका रुपमा सैध्दान्तिककरण गरिएको छ ।
त्यसपछि माक्र्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्यो ।
यसबाट हामी के निष्कर्ष र संश्लेषणमा पुग्छौं भने राजावादी सहितका राप्रपा , काँग्रेस , एमाले , माके , एस समाजवादी तथा मधेसवादी पार्टीहरु नै लामो समयदेखि सत्तामा छन् , कित उनीहरूलाई नै सच्चा कम्युनिस्ट हुन् भन्न सक्नु पर्यो , होइन भने नेपालमा कहिले र कु कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको रहे छ ? यसले उत्तरको माग गर्दछ , मालेमावादी सिध्दान्तको आलोकमा उभिएर भीषण बहसको माग गर्दछ । मालेमावादी सिध्दान्त भन्दा बाहिरबाट नयाँ जनवादी राज्यव्यवस्था र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका बारेमा सोच्नु , छलफल गर्नु , बहस गर्नु भनेको मालेमावादको विपरीत कुरा हो । गफले सर्वहारा वर्गीय क्रान्ति हुँदैन ।
अहिले नेपालमा नवप्रतिक्रियावादी तथा बुर्जुवाअरुले भन्ने गरेको समाजवाद प्रतिक्रियावादी समाजवाद हो । जहाँ प्रतिक्रियावादी अधिनायकत्व कायम रहँदै आएको छ । समाजवाद वैज्ञानिक होकि प्रतिक्रियावादी वा सामन्ति हो भन्ने छुट्याउने मापदण्ड सत्तामा कुन वर्गको अधिनायकत्व रहेको छ भन्ने हो ।
( केसी – वरिष्ठ माक्र्सवादी लेखक हुन् )