
हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य कमरेड श्रीनाथ अधिकारीको जन्म २०११ साल श्रावण ९ गते भएको थियो । उहाँको २०७६ असार २२ गते प्राणघातक रोग क्यान्सरको कारण असामयिक निधन हुन पुग्यो । उहाँको निधनले पार्टी र क्रान्तिलाई अपूरणीय क्षति हुन पुगेको छ । अब उहाँको निधन भएको दुई वर्ष पूरा हुँदैछ । यहाँ म कमरेड श्यामको नामले पार्टीमा सुपरिचित रहनु भएका कमरेड श्रीनाथ अधिकारीका योगदानबारे सङ्क्षिप्तमा केही उल्लेख गर्दै उहाँको सम्झना गर्न गइरहेको छु ।
कमरेड श्रीनाथ २०३६/०३७ सालमा भएको जनआन्दोलनको अवधिमा माक्र्सवादी विचारधाराद्वारा प्रभावित भई चौथो महाधिवेशनकालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहणगरि नेपाली कम्युनिस्ट आन्दोलनमा प्रवेश गर्नु भयो । त्यो बेला उहाँ इञ्जिनियरिङ्को क्षेत्रमा अध्ययनरत तथा कार्यरत हुनुहुन्थ्यो । त्यो बेलादेखि उहाँ नेकपा (मशाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी) हुँदै नेकपा (क्रान्तिकारी माओवादी)मा अविच्छिन्न रूपमा विभिन्न प्रकारका साङ्गठनिक जिम्मेवारी लिई क्रान्तिको काममा समर्पित रहिआउनु भएको थियो ।
मैले क. श्रीनाथलाई २०४० देखि चिन्दै र बुझ््दै आएको छु । एक पटक म महामन्त्री भएको बेला २०४२/०४३ सालतिर हुनु पर्छ, लमजुङको विचौर हुँदै चेपे तरेर उकालो लाग्दै श्रीनाथजीको घर भच्चेकमा गएको थिएँ । मैले १ रात उहाँकै घरमा विताएँ । पार्टी सङ्गठनको अवस्था, गोरखा जिल्लामा भएका काम आदिबारे हामीले लामो कुराकानी गर्यौँ । हामीहरूका बिच कैयौँ कुरा आदान–प्रदान भए । उहाँको पार्टीमा काम गर्ने स्पिरिट देखेर निकै खुसी लाग्यो । उहाँ गोरखा जिल्लामा हाम्रो पार्टीका एक शीर्ष नेता हुनुहुन्थ्यो ।
गोरखा जिल्लाका कतिपय प्रशिक्षण कार्यक्रम र केन्द्रीय तहका कार्यक्रमहरूमा हाम्रो भेटघाट भइनैरहन्थ्यो । उहाँको स्वभाव अन्तर्मुखी प्रकृतिको थियो । कतिपय भेटघाटका समयमा र कार्यक्रमहरूमा दार्शनिक विषयलाई उठाउने गर्नुहुन्थ्यो । माक्र्सवादी साहित्य्रप्रति उहाँको राम्रो रुचि थियो ।
महान् जनयुद्धको तयारी र दस वर्षीय जनयुद्धको समयमा उहाँ निकै क्रियाशील बन्नु भयो । उहाँको जिम्मेवारी मध्यक्षेत्र, गोरखा र चितवन लगायतका ठाउँमा रहेको थियो । उहाँले महान् जनयुद्धलाई गति प्रदान र साङ्गठनिक परिचालनका काममा महŒवपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
पार्टीमा निरन्तर विभिन्न ढङ्गका अन्तर्सङ्घर्ष र दुईलाईन सङ्घर्ष चल्दै अएका छन् । यी सङ्घर्षहरूमा क. श्रीनाथ अधिकारी हमेसा क्रान्तिकारी धाराको पक्षमा दृढतापूर्वक उभिँदै आउनु भयो । महान् जनयुद्धका विरुद्ध आत्मसमर्पणवाद र गद्दारीको बाटो पक्डेका दक्षिणपन्थी संशोधनवादीहरूसितको विचारधारात्मक सङ्घर्षमा उहाँको महŒवपूर्ण भूमिका रहेको छ । विभिन्न जनआन्दोलन, जनयुद्ध र साङ्गठनिक कार्यमा क. अधिकारीले आफ्नो परिवारलाई प्रशिक्षित गर्दै र साथमा लिँदै आउनुभएको छ । उहाँको परिवारले विभिन्न समयमा अनेकौँ बिघ्नबाधाहरूको सामना गर्दै आएको छ ।
२०७४ सालमा हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलन कास्की जिल्लाको पोखरामा आयोजना गरि शानदार ढङ्गले सम्पन्न गरिएको थियो । राष्ट्रिय सम्मेलनलाई सफल तुल्याउन क. श्रीनाथले निकै महŒवपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको नेतृŒवमा ४ नं प्रदेशको सङ्गठन निकै राम्रोसित परिचालित गरिएको थियो ।
कमरेड श्रीनाथ एक मिलनसार व्यक्तिŒव हुनुहुन्थ्यो । उहाँ गोरखा जिल्ला र गण्डकी क्षेत्रमा जनस्तरमा राम्रोसित स्थापित हुनुभएको थियो । उहाँलाई अरू पार्टीका नेता र विरोधीहरूले पनि सम्मान गर्दथे । व्यक्तिगत रूपमा उहाँले कसैलाई पनि पिर्नुहुन्नथ्यो ।
२०७५ सालको मङ्सिरमा बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठक पश्चात् उहाँ अप्रत्याशित रूपमा बिरामी हुनुभयो । सामान्य औषधोपचार पश्चात्् उहाँ पोखरातिर आफ्नो कार्यक्षेत्रमा जानु भयो । तर उहाँको स्वास्थ्य स्थिति गम्भीर बन्दै गयो । उहाँलाई पोखराबाट चितवनमा ल्याइयो । उहाँलाई प्राणघातक रोग लागेको कुरा थाहा पाइयो । म उहाँलाई भेट्न चितवन गएँ । आफ्नो छोराको घरमा बसेको बेला डाक्टर पनि आए । डाक्टरले निकै ध्यान दिएर उहाँको औषधोपचार गरे । उहाँ भरतपुर अस्पतालमा पनि रहनु भयो । आखिर उहाँलाई पाटनको हरिसिद्धि हस्पिटलमा ल्याइयो । चितवनमा हुँदासम्म त सुधारको केही सम्भावना देखिन्थ्यो तरपछि संभव भएन । विरामी भएकै बेला अस्पतालमा म बिचबिचमा भेट्न जान्थेँ । कुरा सुधारकै हुन्थे । रोगले च्याप्दै लगेको स्थितिमा पनि उहाँमा सहनशीलता, धैर्य र बाँच्ने आशा निकै प्रबल थियो । उहाँले पार्टी र क्रान्तिका कुरा, सङ्गठनको अवस्था आदि बारे जिज्ञाशा राखिनै रहनु हुन्थ्यो । आखिर, अन्त्त: उहाँले हामी सबैसित विदा लिनु भयो ।
नेपाली कम्युनिस्ट आन्दोलन र नयाँ जनवादी क्रान्तिको क्षेत्रमा क. श्रीनाथ अधिकारीले महŒवपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । हामीले देश, जनता र हाम्रो पार्टीका एक असल नेता गुमायौँ । हामीलाई उहाँको अभाव निकै खड्किरहेको छ । उहाँले विदा लिए पनि उहाँका योगदान हाम्रा लागि अविस्मरणीय रहने छन् । कमरेड श्रीनाथ अधिकारी प्रति पुन: भावपूर्ण श्रद्धाञ्जली !
श्रीनाथ अधिकारी (क.श्याम)को सङ्क्षिप्त जीवनी
हिरामणि दु:खी
जन्म, स्थान र पारिवारिक अवस्था
श्रीनाथ अधिकारी अर्थात्् कमरेड श्यामको जन्म २०१२ साल साउन ९ गते नागरिकतामा उल्लेख भएअनुसार २०१२ साल साउन ९ गते आइतबार भएको हो । गोरखाको उत्तरपश्चिमी गाउँ साविक हंशपुर गाउँ विकास समिति हालको अजिरकोट गाउँपालिकामा हजुरबुबा त्रिलोचन अधिकारीको जेठो नाति भएर बुबा डालचन्द्र अधिकारी र आमा छलिमाया (सरस्वती)अधिकारीको दोस्रो सन्तानको रूपमा श्रीनाथ अधिकारीको जन्म भएको हो । उहाँ भन्दा दुई वर्ष अगाडि दिदी नेत्रकुमारीको जन्म भएको थियो । जीवनाथ अधिकारी, बुबा डालचन्द्र अधिकारी खेती किसान गर्ने, भैसी पाल्ने गर्नु हुन्थ्यो । साविक हंशपुर गाउँ पञ्चायत हुँदै, हंशपुर गा.वि.स.को वडा नम्बर १ हाल अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा श्रीनाथको घर थियो । उक्त पुरानो घर २०७२ को भूकम्पले भत्किएपछि श्रीनाथ आफैले त्यस स्थानमा सरकारी राहत रकम तीन लाख रूपैयाँ र आपूmले समेत श्रम गरेर टिनको छाना हालेको नयाँ झुप्रो घर बनाउनु भएको छ । हिजो जुन अवस्थामा त्यहाँको बसोवास थियो अहिले त्यस्तो अवस्थामा छैन । तथापि उहाँको घर भने त्यही स्थानमा रहेको छ । हिजोका ढुङ्गे छानाहरू जस्ताको छानामा परिणत भएका छन् । हिजोको माटोले लिपेका घरहरू सिमेन्टले पोतिएका छन् । आधुनिकताले छोए पनि सदरमुकामबाट निकै टाढा दूर्गम गाउँमा श्रीनाथको घर रहेको छ ।
बाल्यकाल, किशोरावस्था र शिक्षा
ग्रामिण परिवेशको जनजीवन किसानी पेशाबाटै वितेको हुन्छ । उहाँको वैयक्तिक जीवन पनि किसान पेशाबाटै अघि बढेको थियो । ब्राह्मण जातीय परिवारमा जन्मिएका अधिकाङ्स बालकहरूले जस्तै श्रीनाथ अधिकारीले पनि साँवा अक्षर भने घरमै सिक्नुभएको थियो । त्यसपछि औपचारिक शिक्षा लिन हंशपुर गा.वि.स.कै ज्ञानज्योती प्रा.वि.मा भर्ना हुनुभयो । त्यहाँबाट प्रारम्भिक शिक्षा प्राप्त गर्नुभयो । बुबा–आमाले छोराछोरीलाई राम्रो शिक्षा दिएर सरकारी जागिरे जीवन बिताउन् भन्ने आशा राखेर घरदेखि निकै टाढाको दूरीमा रहेको मिसन स्कूल अमरज्योति जनता मा.वि. (लुइँटेल हाइस्कूल)मा भर्ना गरिदिनु भयो । सोही स्कूलबाट २०३० सालमा माध्यमिक शिक्षा एसएलसी पूरा गर्नुभयो । त्यो स्कूल नेपालमै नाम चलेको स्कूल थियो । त्यसपछि आफ्ना बुबा आमाको इच्छा अनुसारको पढार्ईको लागि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं जानु भएको थियो । २०३३ सालमा काठमाडौंमा पुल्चोक इन्जिनियरिङ कलेज ललितपुरमा भर्ना भएर ओभरसियरको अध्ययन पूरा गर्नुभयो । औपचारिक शिक्षा भने यतिमै बिराम लाग्यो । बिकट जिल्लाको अति दुर्गम गाउँको पारिवारिक जनजीवनमा हुर्किएको हुनाले पनि उहाँलाई जागिर खाने अभिरुचीले छोयो । तथापि जब उहाँ कम्युनिस्ट राजनीतिमा सङ्लग्न हुनुभयो तब उहाँले अनौपचारिक रूपमा माक्र्सवादी दर्शन, राजनीति, अर्थशास्त्रको अध्ययन गर्नुभयो । उहाँमा माक्र्सवादी सिद्धान्तको राम्रो ज्ञान थियो । सङ्गठनका कार्यकर्ताहरूलाई सैद्धान्तिक वैचारिक प्रशिक्षण सरल र वोधगम्य भाषामा दिने क्षमता उहाँमा प्रचुर मात्रामा थियो । यसैगरि बसेर दुईपक्षीय छलफल बहस गर्ने कुरामा पनि उहाँ निकै सिपालु हुनुहुन्थ्यो । यो सबै कुरा उहाँले अनौपचारिक रूपमा आर्जन गरेको माक्र्सवादी ज्ञान सिद्धान्तको प्रतिफल नै थियो ।
विवाह र पारिवारिक जीवन
प्राथमिक शिक्षा पूरा गरि हाईस्कूलतहको शिक्षा लिएकै अवस्थामा सानै उमेरमा छ/सात कक्षामा पढ्दै गर्दा २०२४ सालमा ११ वर्षको उमेरमा आपूm भन्दा एक वर्ष जेठी गोरखाकै केराबारी गाउँकी राधिका रेग्मीसँग मागि विवाह भएको थियो । उहाँ २० वर्ष पुग्दा नपुग्दै दुई सन्तानका बाबु बनिसक्नु भएको थियो । अहिले उहाँका एक श्रीमती (राधिका), २ जना छोरी (सुशिला र सकुन्तला), ३ जना छोराहरू (नारायण, उत्तम र उज्ज्वल), ३ बुहारीहरू (सुशिला थापा, सरिता दवाडी र शान्ति शर्मा), २ जना ज्वाई (गिरिराज लामिछाने र रामकृष्ण खनाल) तथा छोरा–छोरीबाट ११ जना नाति–नातीना र १ पनाति गरि जम्मा २३ जना रहेका छन् ।
ग्रामिण परिवेस भएका कारण पनि खेती किसानी पेसा गर्दै बाबुआमालाई सघाउँदै सामूहिक परिवारमा उहाँको जीवनको युवा अवस्था गुज्रिएको थियो । जब उहाँ कम्युनिस्ट राजनीतिमा लाग्नु भयो र पूर्णकालीन भएर पार्टीको जिम्मेवारी लिएर हिँड्नु भयो तब उहाँलाई पारिवारिक रूपमा दु:खको अवस्था सिर्जना भयो । छोराले अब जागिर पनि नखाने र घरव्यबहार पनि नचलाउने भयो भन्ने लागेपछि बाबुआमाले उहाँलाई अङ्स दिएर छुट्याइदिनु भयो ।
जागिरे जीवन तथा सामाजिक कार्य
अमरज्योतीबाट एसएलसी पास गरेपछि श्रीनाथले २०३१ सालबाट २०३३ सालसम्म गाउँकै पार्वती प्राथमिक विद्यालय मुलडाँडा र खरिबोटमा रहेको अर्को विद्यालयमा पनि पढाउनु भयो । यी दुई विद्यालयमा उहाँले एसएलसी र त्यसपछिको पढार्ईको अन्तरको करिब साढे दुई वर्ष पढाउनु भएको थियो ।
पहिला प्राथमिक विद्यालयमा शिक्षण पेसा गरेका श्रीनाथले ओभरसियरको पढार्ई सकेपछि पुन: जागिरमा लाग्नु भयो । त्यसक्रममा २०३५–२०३६सम्म नारायणी लिफ्ट सिंचाई आयोजनामा ओभरसियरकै रूपमा सरकारी जागिरेको अनुभव पनि सङ्गाल्नु भयो । जागिरे जीवनले पनि दुई वर्षपछि नै बिराम लियो । लामो समयसम्म जागिर खाने रुचीलाई उत्पीडित वर्ग समुदायको मुक्तिको राजनीतिले छोएपछि जागिरलाई पनि तिलाञ्जली दिनु भयो । राजनीतिमै लागेर समाजमा भएका अन्याय अत्याचार र गाउँका जाली फटाहाहरूबाट उत्पीडनमा परेका वर्ग समुदायका मानिसको पक्षमा लागेर आन्दोलन गर्नुको अलावा गाउँ समाजमा हुने गरेका सामाजिक सङ्घ संस्थाहरूमा लागेको नभएता पनि समाजका उत्पीडनका बिरूद्ध जनतालाई राजनीतिक चेतनाको जागरण ल्याउनमा गोरखा जिल्लामा निकै अग्रणी भूमिका निभाउनु भएको थियो ।
राजनीतिमा प्रवेश र नेतृŒवमा विकास
गोरखा जिल्ला कम्युनिस्ट आन्दोलनको प्रभाव भएको पुरानो जिल्ला हो । २०१५ सालमै संसदको चुनावमा त्यस जिल्लाबाट उमेद्वारहरू उठेका थिए । यति भएर पनि श्रीनाथ अधिकारीका समकालीनहरू हाइस्कूले जीवनदेखि नै कम्युनिस्ट आन्दोलनमा लागेको देखिन्छ तर उहाँमा भने राजनीतिको प्रभाव त्यतिबेला परेको खासै देखिँदैन । हाइस्कूले जीवनमा राजनीतिक विषयमा जानकार रहेता पनि जब उहाँ उच्च शिक्षा अध्ययन गर्न काठमाडौं जानु भयो तब मात्रै उहाँलाई कम्युनिस्ट राजनीतिले छोएको देखिन्छ । यो कुरा जीवनको अन्तिमकालमा जब उहाँ मृत्युसँग अस्पतालको बेडबाट लडिरहनु भएको थियो त्यतिबेला उहाँ स्वयम्ले स्वीकार गर्नु भएको थियो ।
श्रीनाथका समवयका दौंतरीहरूको भनाइअनुसार पनि उहाँ गोरखाको खातापिता, सम्पन्न आर्थिक अवस्था र सामन्ती जिमुवाल परिवारका भएको हुनाले पनि हाइस्कूले जीवनमा राजनीतिमा नलागेको देखिन्छ । उहाँका हजुरबुबा त्रिलोचनले १५ सालको आम चुनावमा गोरखा परिषद्लाई भोट दिएको देखिन्छ । सामन्तवादी संस्कृतिको प्रभाव रहेको घर हुनुको कारण पनि अग्रगामी विचारको राजनीतिक प्रभाव उक्त परिवारमा नपर्नु स्वाभाविक हो । जब उहाँ उच्च शिक्षा अध्ययनका लागि पुलचोक इञ्जिनियरिङ कलेजमा भर्ना हुनुभयो त्यतिबेला कम्युनिस्ट पार्टी चौथो महाधिवेसन सम्वद्ध अ.ने.रा.स्व.वि.यु. मा आवद्ध हुनुभयो । अखिलको विद्यार्थी सङ्गठनमा आवद्ध भएता पनि उहाँ कुनै कमिटीमा नबसेर वैचारिक सङ्लग्नता मात्र रहेको देखिन्छ । उहाँ आफैले भन्नुभएको थियो कि ‘मलाई मेरो भाञ्जदाइ यमुना प्रसादका कारण अरू राजनीति भन्दा कम्युनिस्ट ठिक हो भन्ने लागेको त थियो तर म कमिटीमा भने बसेको थिएन । राजधानीमा भएका पञ्चायत विरोधी तथा विभिन्न प्रकारका आन्दोलनहरूमा म कहिले जान्थेँ कहिले जाँदैनथेँ । तरपनि म कम्युस्टि घटकका विद्यार्थी साथीहरूसँग नजिक थिएँ ।’ त्यसपछि क्याम्पसको पढार्ई बिचैमा छोडेर २०३५ सालमा चितवनमा जागिर खाने सिलसिलामा डि.आ.पोखरेलसँग उहाँको सङ्गै बसाई हुन्छ । डि.आर. र श्रीनाथले एउटै अफिसमा समान पोष्टमा जागिर खाने भएको हुनाले अफिसले दिएको निवासमा दुवै एकैसाथ बस्ने गर्नु हुन्थ्यो । डि.आर. पहिलादेखि नै पार्टीमा लागेको र पार्टीको इलाका तहमा रहेर काम गरिरहेको हुनाले पनि उहाँबाट कम्युनिस्ट राजनीति बुझने अवसर प्राप्त भयो । त्यही समयमा २०३६ सालमा डि.आर.बाटै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौम)को पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।
हाइस्कूले जीवनसम्म कुनै पनि राजनीतिक घटकमा आवद्ध नभएको व्यक्ति एकाएक कम्युनिस्ट घटकमा आवद्ध हुनुपर्नाको कारण पनि रोचक लाग्दो छ ।
श्रीनाथ अधिकारीका हजुरबुबा त्रिलोचनका दुईवटी श्रीमती थिए । पहिलो श्रीमतीबाट श्रीनाथका जेठोबुबा दण्डपाणि थिए भने कान्छीतिरबाट श्रीनाथका बुबा डालचन्द्र थिए । श्रीनाथका बुबा जन्मनुभन्दा पहिला नै उहाँका जेठो बुबाका छोरा नेत्रप्रसाद्र (श्रीनाथका दाजु) जन्मिएका थिए ।पछि त्रिलोचनले दुईवटी श्रीमतीबाट पैदा भएका एक एक जना छोराहरूलाई मात्रै अङ्श दिनुपर्नेमा जेठी श्रीमतीतर्फको छोराबाट जन्मिएको नाति नेत्रप्रसादलाई पनि छोरा सरह बराबर अङ्श दिएपछि दण्डपाणितर्फ दुई अङ्श भयो भने डालचन्द्रतर्फ एक अङ्श मात्रै पर्न गयो । यसरी हजुबुबाले अङ्शमा विभेद गरेको र नेत्रप्रसाद पहिलादेखि नै काङ्ग्रेसतर्फ लागेको हुनाले पनि श्रीनाथमा यिनीहरूको विपरित्तर्फ लाग्नुपर्छ भन्ने विद्रोही भाव पैदा भएर कम्युनिस्ट पार्टी र त्यसको विद्यार्थी सङ्गठनतर्फ आकर्षित भएको देखिन्छ । अर्कातर्फ श्रीनाथका भाञ्जदाजी यमुनाप्रसाद न्यौपाने कम्युनिस्ट पार्टीमा लागेको हुनाले पनि उहाँकै प्रेरणाबाट कम्युनिस्ट सिद्धान्तप्रति आकर्षित भएको देखिन्छ ।
पार्टी नीति र नेतृŒवलाई आत्मसात गर्दै दुई वर्षे जागिर जीवन र निजी पारिवारिक सुखसयललाई बेवास्ता गर्दै पार्टी योजनामा लोग्ने स्वनिर्णय गर्नुभयो । सोही क्रममा उहाँ २०३६ मङ्सिरबाट चितवनमा गरिरहेको सरकारी जागिर छोडेर राजनीतिमा लाग्नु भएको थियो । जब राजनीतिमा लाग्नुभयो तब उहाँ चितवन पार्टीको निर्देशन बमोजिम गोरखा फर्कनु भयो । २०३६ देखि लगातार उहाँ पार्टीमा पूर्णकालीन भएर मृत्युपर्यन्त लागिरहनु भयो । २०३६ पुसमा च्याङ्लीमा सम्पन्न पार्टीको जिल्ला अधिवेशनबाट बाचस्पती देवकोटा नेतृŒवको जिल्ला समिति सदस्य तथा जबस मोर्चाहरू निर्माणको क्रममा अखिल नेपाल किसान सङ्घ गोरखाको अध्यक्ष पनि चुनिनु भयो ।
२०३४/०३५ सालमै पुल्चोक क्याम्पस ललितपुरबाट ओभरसियर पास गर्नु भएका श्रीनाथ अधिकारी (श्याम) कम्युनिस्ट आदोलनमा लागेर पेशेवर राजनीतिकर्मी नभएको भए व्यक्तिगत जीवन एउटा अनुभवी इञ्जिनियरको रूपमा रामै्र सँग वित्ने थियो । त्यो उहाँले चाहनु भएन र महान्् माओले भनेझैँ ‘अध्ययन गर्नु नराम्रो कुरा होइन तर ठूलो पद पाउन, जागिर खान, प्रमोशन हुन र उच्च वर्गीय जीवन जिउनलाई नभएर जनताको सेवा गर्न हुनुपर्छ’ भन्ने कुरालाई क. श्यामले व्यवहारमा राम्रैसँग उतार्नु भयो र आफ्नो पैसठ्ठी वर्षीय जीवन देश, जनता, पार्टी र क्रान्तिको लागि समर्पण गर्नुभयो ।
नेकपा मशालका जिल्ला सचिव निर्मलकुमार जोशी पातलो मसालतिर लाग्नु भएपछि २०४२ मङ्सिर/पुष देखि नै नेकपा मशालको गोरखा जिल्ला सचिवको रूपमा नेतृŒव कमरेड श्रीनाथ अधिकारी (श्याम)ले नै सम्हाल्नुभयो ।पछि पार्टीले दीर्घकालिन जनुयुद्धको कार्यदिसा कार्यान्वयनको निम्ति जनयुद्ध थालनी गर्ने योजना बनाएपछि पार्टी केन्द्रले कमरेड श्रीनाथ अधिकारीलाई एककदमपछि हटाएर रामबहादुर थापा मगर (बादल)को नेतृŒवमा पूर्णकालीनहरूको जिल्ला पार्टी बनाउने र सङ्घर्षमा होमिने प्रयास गर्यो । पार्टीको योजना र गोरखा जिल्ला पार्टीको संयोजनमा केही प्राविधिक कार्यहरू पनि पूरा भए तर अन्तरपार्टी सङ्घर्षका कारण पार्टी केन्द्र आफ्नो योजनामा हामफाल्न सकेन । पञ्चायतको उत्तराद्र्धबाटै सुरू गर्ने भनिएको जनयुद्ध सुरू गर्न २०५२ फागुन १ गते पर्खनु पर्यो ।
पार्टी केन्द्रको योजनामा २०४७ को जेठ/असारतिर कमरेड श्यामलाई पुन: गोरखा जिल्ला पार्टी सचिव बनायो । लगभग २०४८ साल कात्र्तिकसम्म कमरेड श्याम दोस्रोपटक गोरखा जिल्ला सचिवको भूमिकामा रहनुभयो भने २०४८ को एकता महाधिवेशन प्रिितनीध बन्नु भयो । २०४८ को संसदीय चुनावमा गोरखा क्षेत्र नं. १ बाट तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार बन्नुभयो । कूल ५८, ७२४ मतदाता रहेको र ३९, ०६४ ले मत खसालेको मध्ये १५, ४९६ मतका साथ विजयी बनेका चिरञ्जीवि वाग्लेसँग निकटतम प्रतिद्वन्दी १२, ९८६ मतका साथ अर्थात् २, ५१० मत अन्तरमा पराजित बन्नुभयो ।
२०४८ सालको कमरेड सुरेश वाग्ले (वासु) को नेतृŒवमा चुनिएको २ जना बैकल्पिक समेत १३ जनाको जिल्ला समितिमा पनि जिल्ला सदस्यको रूपमा चुनिनुभयो । २०५२ साल फागुनपछि गण्डक उपक्षेत्रीय व्युरो सदस्य, क्षेत्रीय व्युरो सदस्य, रुपन्देही, चितवन जिल्ला समेत विभिन्न जिल्लाहरूको सचिव, इञ्चार्ज हुँदै २०५९पछि पार्टी केन्द्रीय समिति सदस्यको भूमिका निर्वाह गर्न पुग्नुभयो । महान् जनयुद्धको विकासको प्रभावले अत्तालिएको तात्कालीन प्रतिक्रियावादी सरकारले २०५८ मङ्सिरमा देशमा सङ्कटकालको घोषणा गरि शाहीसेना उतारेको अवस्थामा पनि कमरेड श्याम चितवन जिल्लाको नेतृŒवमै हुनुहुन्थ्यो । त्यहाँको वर्गसङ्घर्ष, क्षति, उपलब्धिजस्ता कैयन घटनाक्रमसँग उहाँ प्रत्यक्ष जोडिएरै काम गर्नु भयो । यसैकारण आम चितवनवासी जनता उहाँको बारेमा जानकार हुन पुगे ।
महान्् जनयुद्धका आँधीमय वर्षहरूका थुप्रै दुस्मनका अड्डा कब्जा गर्ने क्रममा राजनीतिक कमिसारको भूमिका निर्वाह गर्नुहुँदै, २०६४ को संविधान सभा सदस्य पदको समानुपातिक उम्मेदवार, नेकपा (माओवादी), एनेकपा (माओवादी) को तमुवान राज्य सह–इञ्चार्ज हुनुभयो । २०६९ असार २ मा पुनर्गठित नेकपा–माओवादीको राज्य इञ्चार्ज हुँदै मृत्युपर्यन्त नेकपा (क्रान्तिकारी माओवादी) को वरिष्ठ पोलिटव्युरो सदस्य र गण्डकी प्रदेश इञ्चार्ज हुनुभयो ।
जेल जीवन, अन्तरसङ्घर्ष र वर्गसङ्घर्ष
श्रीनाथ अधिकारी जब राजनीतिक जीवनमा पूर्णकालीन भएर लाग्नुभयो तबदेखि नै उहाँ वर्गसङ्घर्षमा होमिनुभयो । उत्पीडित वर्ग र समुदायका विरुद्धमा भएका गाउँ समाजका शोषण, दमन र उत्पीडनका बिरूद्ध उहाँले प्रतिरोध सङ्घर्ष चलाउनु भएको थियो । जसको केही उदाहरण यसरी दिन सकिन्छ ।
– दारिमबोटे काण्ड : २०३६ चैत २० गते ज्ञानज्बति मा.वि.मा अखिल र ने.वि.सङ्घका बिचमा द्वन्द्व भयो । स्कूलका प्रअ र वि.व्य.स.का अध्यक्ष दुवै काङ्ग्रेस समर्थक थिए । विद्यालयमा शिक्षकहरू पनि काङ्ग्रेस समर्थकहरूकै बाहुल्यता थियो । त्यो द्वन्द्वमा अखिलका विद्यार्थीहरू कुटिएका थिए । श्रीनाथजी चितवनबाट जागिर छोडेर गोरखाको पार्टी जिम्मेवारी लिएर आउनुभएको थियो । सोही विद्यालयमा पढाउने शिक्षक तुलसी खनालले श्रीनाथ आउनु भन्दा पहिले नै अखिलको सङ्गठन विस्तार गरिसकेका थिए । अखिलका विद्यार्थी कुटिएको बदला कसरी लिने भन्ने विषयमा पार्टीको जिम्मेवार नेता भएको कारणले श्रीनाथसँग छलफल भयो । श्रीनाथजीले त्तकाल प्रतीकार गर्ने भन्ने योजना बनाउनुभयो । त्यसपछि गाउँभरीका जनतालाई केन्द्रित गरेर विद्यालयका प्रअ र अध्यक्षलाई कालो मोसो दल्ने कार्यक्रम बन्यो । त्यसपछि गाउँलेहरू सबै जम्मा भएर स्कूल जाने बाटोमा पर्ने दारिमबोट भन्ने स्थानमा योजना बमोजिम प्रअ र वि.व्य.स.अध्यक्षमाथि कालो मोसो दलियो । यो घटनाले श्रीनाथलाई जिल्लामै स्थापित गर्यो । गाउँमा सङ्गठन विस्तार भयो । सामन्तहरूबाट दविएर रहेका दलित समुदाय गरिब किसानहरू स्वयम् जिमुवाल परिवारकै सदस्य श्रीनाथको नेतृŒवमा उक्त घटना घटेपछि कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास ह्वात्तै बढेर गयो । त्यसपछि श्रीनाथजी प्रशासनको निसानामा पर्नु भयो ।
– २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पार्टीले चुनाव बहिष्कार गर्ने नीति लियो । सो समयमा गोरखाको भच्चेक गाउँ (श्रीनाथको आफ्नो गाउँ)मा पूर्ण रूपमा बहिष्कार सफल भयो । त्यो बहिष्कार योजनाको नेतृŒव श्रीनाथले गर्नुभएको थियो । आफ्नो गाउँमा चुनावको सकृय बहिष्कार भएपछि उहाँ प्रशासनको कडा निगरानीमा रहनुभयो । त्यसपछि २०३९ बैशाख १ गते श्रीनाथ गिरफ्तारीमा पर्नुभयो । प्रशासनले उहाँलाई शान्तिसुरक्षा ऐन लगाएर मुद्दा चलाईो र छ महिना गोरखा जेल बस्नुभयो । त्यस समयमा घरमा उहाँकी जीवनसाथी राधिका २० दिनकी सुत्केरी हुनुहुन्थ्यो । सानी छोरी काखमा थिइन् । यसरी उहाँ राजनीतिक मुद्दा लागेर जेल परेपछि घरमा परिवार बालबच्चाहरूले निकै दु:खको जीवन विताउनु पर्यो । जागिर खाएर बाबुआमालाई सुख सन्तोष देला भनेको छोरो राजनीतिमा लागेर जेल परेपछि बाबुआमाबाट घर परिवारलाई सहज हुने कुरा थिएन । तथापि उहाँका माइलो मामा चन्द्र खनाल (जनयुद्धमा राज्यद्वारा बेपत्ता पारिनु भएको)ले श्रीनाथको परिवार र बालबच्चालाई सहयोग गर्नुभयो । छ महिनाको जेल बसाइपछि असोजमा ‘बडा दसैँ’को लगत्तै अगाडि जेलबाट छुट्नुभयो ।
– २०४० सालमा उहाँको कान्छो छोरा उज्ज्बल जन्मिएका थिए । घरमा वा कुल कुटुम्बमा बच्चा जन्मियो भने बाहुन क्षेत्री समाजमा सुत्केरा पर्ने र ११ दिनमा बच्चाको न्वारान गरेर चोखिने संस्कार छ । त्यो संस्कारलाई श्रीनाथजीले बहिष्कार गर्नुभयो र बच्चाको न्वारान पनि गर्नुभएन । न्वारान नगरेको भनेर उहाँलाई आफन्तहरूले शुभकार्य भनिएका पूजाआजामा उहाँलाई कहिल्यै पनि सामेल गराउन चाहेनन् । यसरी उहाँले धार्मिक रुढीप्रति पहिलो विद्रोह गर्नुभयो ।
– २०३६ सालमा गोरखाको जिल्ला पार्टीको सम्मेलनबाट उहाँ जिल्ला सदस्यमा निर्वाचित हुनुभएको देखि नै उहाँ अझ बढी जिम्मेवारीका साथ राजनीतिमा सक्रिय भएर लाग्नु भयो । निर्मल लामाले पार्टी विभाजन गर्दा पनि उहाँ मशालमै रहनुभयो भने २०४२ सालमा मोहनविक्रम सिंहले मशाल पनि फोडेर मसाल पार्टी गठन गरेपछि पनि श्रीनाथ तत्कालीन संस्थापन पक्ष मोहन वैद्य नेतृŒवको मशाल समुहमा रहेर निरन्तर पार्टी काममा खटिरहनु भयो । गोरखा जिल्लामा पार्टी विभाजनपछि आफ्नो पार्टी विस्तार गर्ने मामिलामा बाचस्पति देवकोटापछि श्रीनाथले नै महŒवपूर्ण भूमिका निभाउनु भएको थियो ।
– २०४५ सालको चैतमा तात्कालिन नेकपा मशालले जनयुद्धको फौजी तयारी गर्न गोरखाको सिरानचोक गोहोरेको जङगलको बाघेओडारमा भएको फौजी तालिमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी श्रीनाथले लिनुभएको थियो र उहाँले कुशलतापूर्वक सम्पन्न गर्नु भयो ।
– २०४८ सालमा श्रीनाथ गोरखाबाट संसदको चुनावमा भाग लिनुभयो र झिनो मतले पराजित हुनुभयो । २०३६ देखि पूर्णकालीन भएर राजनीतिमा होमिएदेखि नै उहाँ निरन्तर क्रान्तिकारी धारामा उभिइरहनु भयो । उहाँ कम्युनिस्ट आन्दोलनमा जोडिनु भएदेखि नै २०३९ सालदेखि भएको पार्टीको विभाजन र त्यस यताका हरेक विभाजनहरूमा उहाँ मृत्युपर्यन्त क्रान्तिकारी धारामा जोडिँदै आउनु भयो । आर्थिक अवस्था अत्यन्तै कमजोर बन्दै जाँदा पनि परिवारका सबै सदस्यहरूलाई आन्दोलनमा कुनै न कुनै रूपमा सहभागी बनाएर जाने सर्वहारा संस्कृतिमा समावेस हुने कुरामा श्रीनाथ खरो रूपमा प्रस्तुत हुनुभयो । सादा जीवनशैली भएका उहाँले हरहमेसा आपूmलाई उच्च विचारले लैस बनाउनु भयो ।
– उहाँ पार्टीमा भएका हरेक अन्तरसङ्घर्षहरूमा निरन्तर क्रान्तिकारी धारामा दह«ोसँग उभिँदै आउनुभएको थियो । पार्टीमा क्रियाशील भएको केही वर्षपछि २०३९/०४० सालमा पार्टीमा निर्मल लामासँग पार्टी नेतृŒवको चर्को वैचारिक अन्तरसङ्घर्ष सुरू भएको थियो । त्यो अन्तरसङ्घर्ष फूटमा पुग्यो । निर्मल लामाले अलग पार्टी बनाए । त्यतिबेला उहाँ पार्टीको मुख्य नेतृŒव अर्थात्् संस्थापन पक्षमा दह«ोसँग उभिनु भयो ।
– २०४१ सालमा पार्टीको पाँचौँ महाधिवेसन सम्पन्न भयो । महाधिवेशनले मोहन वैद्य (किरण)लाई महासचिवमा निर्वाचित गर्यो भने प्रचण्ड, बादलहरू केन्द्रीय समितिमा चुनिए । त्यसबेला महाधिवेशनबाट पार्टी सदस्य पनि नरहने गरि मोहनविक्रम सिंहलाई कारवाही गर्यो । यो कारवाहीका कारण २०४२ सालमा पार्टी पुन: विभाजन भयो । मशाल र मसालमा विभाजित भयो । त्यतिबेला फुटेका पार्टी मसाल (मोहनविक्रम नेतृŒवको)मा नगएर त्यतिबेला पनि उहाँ संस्थापन मशालमै रहनु भयो ।
– २०४७ सालमा नेकपा मशाल, नेकपा चौम (निर्मल लामा नेतृŒवको), नेकपा विद्रोही मसाल (हरिवोल गजुरेल नेतृŒवको), सर्वहारा श्रमिक सङ्गठन (रूपलाल विस्वकर्मा नेतृŒवको)का बिचमा पार्टी एकता भयो र त्यसको २०४८मा महाधिवेशन भयो । महाधिवेशनले पार्टीको नाम नेकपा एकताकेन्द्र नामाकरण गर्यो भने त्यसले पार्टीको मार्गदर्सक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद पास गर्दै नयाँ जनवादी गणतन्त्रका लागि दीर्घकालिन जनयुद्धको कार्यदिसा पारित गर्यो । त्यतिबेला पनि श्रीनाथ पार्टीको मुख्य लाईनको पक्षमा दृढतापूर्वक उभिनुभयो । पार्टीले जनयुद्धको तयारीका निम्ति वर्गसङ्घर्ष उठाउने निर्णय गरे बमोजिम गोरखामा वर्गसङ्घर्षका कार्यक्रमहरू निर्माण गर्ने र त्यसलाई लागू गर्ने काममा इमान्दारिता र सक्रियतापूर्वक लाग्नुभयो ।पछि जनयुद्धको अन्तिम तयारीमा जाने निर्णय भएपछि पार्टीले २०५१को संसदको मध्यावधी निर्वाचन बहिष्कार गर्यो । त्यतिबेला निर्मल लामा, नारायणकाजी समुहले चुनावमा भाग लियो र जनयुद्धमा जान सकिँदैन भनेपछि पार्टीमा तीव्र मतभेद पैदा भयो । पार्टीले निर्मल लामालाई कारवाही गरेपछि पार्टी फुट्यो । त्यतिबेला पनि उहाँ पार्टीको बहुमत लाईनमै उभिएर क्रान्तिकारी धारकै पक्षमा आफूलाई उभ्याउनुभयो ।
– २०५२ साल फागुन १ गतेदेखि पार्टीले विधिवत जनयुद्ध थालनी गर्दा उहाँले गोरखाका वर्गसङ्घर्षका विभिन्न मोर्चाहरूको नेतृŒव गर्नु भयो । वर्गसङ्घर्षका कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक लागू गराउन पहल गर्नुभयो । यद्यपि त्यतिबेला पार्टीको नेतृŒवमा सुरेश वाग्ले आइसक्नुभएको थियो । तथापि पार्टीमा उहाँकै प्रभाव धेरै थियो ।
– पञ्चायतकालदेखि नै पार्टीमा पूर्णकालीन भएर लाग्नु भएका श्रीनाथले २०५२ फागुनदेखि सुरू भएको महान्् जनयुद्धमा गोरखाको नेतृŒव गर्दै सुरूदेखि नै भूमिगत भएर जनयुद्धका फौजी तथा गैरफौजी राजनीतिक सङ्घर्षहरूमा अग्रणी मोर्चामा रहेर काम गर्नु भयो । त्यस समयमा पार्टीले खटाएका हरेक जिल्लाहरूमा गएर कुशल र सफलतापूर्वक पार्टीको जिम्मेवारीलाई सम्पन्न गर्नुभयो । यसैक्रममा उहाँ गोरखा, लमजुङ, कास्की, चितवन, नवलपरासी, रूपन्देही, जिल्लाहरूमा गएर पार्टीको जिम्मेवारी बहन गर्नुभयो । उहाँ जहाँ जानुभयो त्यहाँ पार्टी र जनता पङ्क्तिमा निकै स्थापित र लोकप्रिय भएर आपूmलाई अशल कम्युनिस्ट नेताका रूपमा स्थापित गराउनु भयो ।
– पार्टी राजनीतिमा लागेदेखि नै निरन्तर क्रान्तिकारी धारामा खरो र दृढ रूपमा उभिँदै आउनुभएका श्रीनाथ जनयुद्धकालमा पनि पार्टीमा चलेका पटक पटकका अन्तर सङ्घर्षहरूमा सँधै क्रान्तिकारी धारामै उभिनुभयो । जनयुद्धलाई प्रचण्ड–बाबुरामहरूले सेफल्याण्ड गर्दै संसदीय व्यवस्थामा अवतरण गराएपछि पार्टीमा पेचिलो अन्तरसङ्घर्ष सुरू भयो । टाँडि चितवनमा भएको केन्द्रीय प्रशिक्षण, बालाजुमा भएको पाँचौ विस्तारित बैठक, खरिपाटी भेला, पालुङटार विस्तारित बैठक आदि सबै बैठक र भेलाहरूमा उहाँ प्रचण्ड–बाबुरामा मण्डलीको संसोधनवादी विचारका विरुद्ध क्रान्तिकारी धारामा उभिएर मोहन वैद्यको वैचारिक लाईनलाई दह«ो समर्थन गर्नुभयो । यो वैचारिक अन्तरसङ्घर्षबाट पार्टी अलग भएर नेकपा –माओवादी बनेपछि पार्टीमा फेरि विप्लवले बखेडा झिकेर अन्तरसङ्घर्ष चर्काए । विप्लवको वैचारिक लाईन रूपमा उग्रबाम र सारमा दक्षिणपन्थतिर मोडिएको थियो । जो कुरा आजसम्म आउँदा छर्लङ्गै रूपमा पुष्टि भएको छ । त्यतिबेला पनि श्रीनाथले क्रान्तिकारी धाराकै पक्षमा उभिएर क्रान्तिकारी विचार र आन्दोलनको रक्षा गर्नुभयो । अन्तरसङ्घर्ष यतिमा मात्रै सीमित भएन ।पछि नेकपा – माओवादी र नेकपा एकीकृतका बिचमा एकता भएर नेकपा (क्रान्तिकारी माओवादी) बन्यो । यो पार्टीमा पनि रामबहादुर थापा (बादल)ले अन्तरसङ्घर्ष सुरू गरे । अन्त्त: बादलहरूले पार्टीको एउटा हिस्सा लिएर पुन: प्रचण्ड सामू आत्मसमर्पण गराए । त्यतिबेला पनि श्रीनाथले क्रान्तिकारी विचारकै पक्षमा खरो रूपमा आपूmलाई उभ्याउनुभयो । यसरी उहाँ पार्टीमा कृयाशील भएदेखि नै निर्मल लामा, मोहनविक्रम, प्रचण्ड, विप्लव हुँदै बदलसम्म भएका पार्टीभित्रका अन्तरसङ्घर्षहरूमा क्रान्तिकारी विचारको पक्षमा लागेर श्रीनाथले आपूmलाई अब्बल क्रान्तिकारी सावित गर्नुभयो ।
रुचि, स्वभाव र मान्यता
श्रीनाथको सानै उमेरदेखि तीक्ष्ण बुद्धि, शालिन स्वभाव थियो । नयाँ नयाँ विषयहरूमा उहाँले मोह र जिज्ञासा राख्नुहुन्थ्यो । निकै तडकभडकपूर्ण फेसन, खानपिन र बसउठमा उहाँको कहिल्यै पनि आकर्षण रहेन । उहाँले तामसयुक्त खाना (माछा मासु) मा भन्दा दूध दही, घ्यू खान बढी रुची देखाउनुहुन्थ्यो । उहाँ जन्मदा निकै पातलो, दुब्लो र ख्याउटे शरीरको भएकाले पाँच वर्षसम्म आमाले दूध नछुटाएको हुनाले पनि दूध–दहीतिर उहाँको बढी मन गएको भन्ने भनाई पारिवारिक सदस्यहरूको रहेको छ । खराब बानीमा भने चुरोट पिउने बानी थियो । चुरोट पनि अत्यधिक मात्रामा पिउने भएकाले भूमिगतकालमा रपछिसम्म पनि पार्टीका कार्यकर्ता, सहयोद्धाहरूले छुटाउन अनेकौँ प्रयत्न गर्दा उहाँले छोड्नु भएको थिएन । अन्त्त: उहाँको सिघ्र मृत्युको कारण पनि त्यही चुरोट बन्न पुग्यो । किनकि उहाँलाई फोक्सोमा क्यानसर देखियो । त्यही क्यानसरले नै उहाँको भौतिक जीवन समाप्त पार्यो ।
सँधै सादा जीवन विताउन रुचाउने श्रीनाथले पदको लोभमा समेत पार्टीभित्र घुर्की धम्की लगाउने, असन्तुष्टी पोख्दै जथाभावी गुट निर्माण गर्ने प्रवृत्ति कहिल्यै अङ्गाल्नु भएन । पार्टीलाई माओले भनेजस्तै तीनमा एकको नीति अवलम्बन गर्नु पर्छ र नयाँ नयाँ युवाहरूलाई नेतृŒवमा विकास गराउनु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।
पार्टीमा काम गर्दा आफ्नो कमिटीमा जमेर वैचारिक बहस गर्ने र निर्णयप्रति पूर्ण रूपमा जिम्मेवार भएर लागू गर्ने उहाँको स्वभाव थियो । बाहिरी दुनियाँमा चर्चा बटुल्ने कार्य भन्दा पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनमा उहाँ निकै सिपालु हुनुहुन्थ्यो । विशेषत: आन्तरिक प्रशिक्षण दिने, कार्यकर्ताहरूलाई सैद्धान्तिक, वैचारिक रूपमा खार्ने, सङ्गठन विस्तार गर्न जनशैली अपनाउने र जनतामा छिटै घुलमिल गर्ने उहाँको शैली र स्वभाव थियो ।
२०३९ सालमा आफ्ना बुबाबाट छुटिभिन्न हुनेबेला पाएको ६५ रोपनी जमिन मध्ये २६ रोपनी जमिन त्यो पनि धानबाली लाग्ने खेत र खेती राम्रो हुने पाखोबारी २०४५ सालमा बेचिदिनु भयो । बेचेको रकम पनि पार्टी कामकै सिलसिलामा र २०४८ को चुनावमा उमेदवार बनेको बेला सबै खर्च गर्नुभयो । त्यसले झन् उहाँको परिवार अझ बढी आर्थिक कठिनाइमा पर्यो । यसरी आफ्नो सम्पत्ती बेचेर पार्टीको राजनीतिक काममा लगाउने विरलै नेताहरूमा उहाँ पनि पर्नु हुन्थ्यो । सम्पत्ती बेचेर पार्टी काममा खर्च गरेकै कारण परिवारमा केही खटपट पनि भयो । तथापि त्यसले उहाँको राजनीतिक जीवनमा कुनै असर गरेन । जसोतसो परिवारलाई व्यवस्थापन गरेर पार्टी काममा निरन्तर पूर्णकालीन रूपमै लागिरहनु भयो ।
जीवनको अन्तिम क्षण
जीवनको अन्तिम क्षणमा ललितपुरको हरिसिद्धी स्थित क्यान्सर अस्पतालको बेडमा मृत्यसँग लडिरहेको समयमा श्रीनाथ अधिकारीसँग राजनीति, साहित्य, पत्रकारिता, घरव्यवहार व्यवसाय आदि क्षेत्रमा लागेका विभिन्न मानिसहरूले बाक्लो भेटघाट गरे । त्यबेला ‘तपाइँले राजनीतिक जीवनमा के पाउनुभयो र के कुरा गुमाउनुभयो’ भनेर सोध्दा उहाँले निकै सरल भाषामा गहिरो विचार व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो ‘मैले के नै गुमाएको छु र ? मैले फेरी आर्जन गर्ने कुरा गुमाएको छु, आर्जन गर्न कठिन कुरा बचाएको छु । नीजि सम्पत्ती मैले गुमाएको छु, त्यो त फेरी पनि कमाउन सकिन्छ, तर जनताको अपार मायाँ, सम्मान मैले पाएको छु ।’
(प्रस्तुत जीवनी प्रारम्भिक रूपमा पाएको श्रीनाथजीको जानकारी, उहाँका बारेमा लेखिएका संसमरण, अनुभूतिका रचनाहरू, अस्पतालको बेडमा मृत्युसँग अन्तिम युद्ध लडिरहेको समयमा उहाँसँग गरिएका कुराकानी, श्रीनाथजीका छोराछोरी र परिवारका अन्य सदस्यहरू तथा उहाँसँग सहकार्य गरेका पार्टीका विभिन्न नेताहरूबाट पाएको सूचना र जानकारीका आधारमा तयार गरिएको हो ।)
साभार : अविचलित योद्धा, श्री नाथ अधिकारी(क. श्याम)स्मृतिग्रन्थबाट