कविता : लड्ने आँट गरौं साथी !

कविता : लड्ने आँट गरौं साथी !

 

चढ्न जाने हर चुलीमा चढ्न सकिन्छ ।
लड्ने आँट गरौं साथी लड्न सकिन्छ ।
सत्यको लडाइँ साथी न्यायको लडाइँ,
निष्ठाको लडाइँ साथी हकको लडाइँ
लड्ने आँट गरौं साथी जित्न सकिन्छ
बैरी सिरलाई पैतालाले थिच्न सकिन्छ ।
चढ्न जाने ……..

नहिडे त आँगन पनि काट्न सकिन्न
बलेसीलाई नाघ्न पनि आँट्न सकिन्न
मुखमा‌ भात जान पनि बलै चाहिन्छ
ठूलो ढुङ्गा पल्टाउन गलै चाहिन्छ ।

सोच जेठाले हो हो सोच माइलाले
लाखौं कोस पार हुन्छ पाइला पाइलाले
चढ्न जाने ……

हाने मर्छ बोले टर्छ भन्थे पुर्खाले
अनुभवले भनेको हो हैन मुर्खले
पोखरीमा पसेरै हो सिक्ने पौडन
लड्दै उठ्दै जानिने हो बल्ल‌ दौडन

सोच आमाले हो हो सोच बाबाले
हाम्रो दु:ख उडाएर लान्न हावाले !

थरी थरी शोषणका थरी थरी पीर
हिड्ने बाटो हेर्यो भने जता पनि भीर
पीरहरू पर्गेलेर पढ्न वाँकी छ
सारा पीर हटाउन लड्न वाँकी छ ।

सोच छोराले हो हो सोच छोरीले
बाँधेको छ हामीलाई नदेखिने डोरीले ।

लडेरै नै ल्याएको यो गणतन्त्र हो
आज यही ब्यबस्था नि परतन्त्र भो
साहु महाजनले गरे कब्जा हेर्नु त
यसलाई नि अब हामीले अझै फेर्नु छ

सोच हिमाल‌ पहाड सोच मधेशले
अर्को क्रान्ति खोजेको छ अझै देशले ।

चढ्न जाने हर चुलीमा चढ्न सकिन्छ
लड्ने आँट गरौं साथी लड्न सकिन्छ ।
****

२०७९ असार २१
माइतीघर , काठमाण्डौ