इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलनमा प्रधानसेनापति शर्मालाई पनि बोलाइयो

इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलनमा प्रधानसेनापति शर्मालाई पनि बोलाइयो

काठमाडौं । अमेरिकाको भ्रमण सकेर आएकै दिन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई अमेरिकी सेनाको पहलमा जुलाई अन्तिम साता अस्ट्रेलियामा हुन लागेको एक विशेष सम्मेलनमा निम्तो आएको छ।

स्रोतका अनुसार जुलाई २५ देखि २७ सम्म अस्ट्रेलियामा आयोजना हुने इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको सम्मेलनमा प्रधानसेनापति शर्मालाई निम्त्याइएको हो । एसपीपीमा नेपाली सेनालाई आबद्ध गरेपछि र एमसीसी सम्झौता पनि अनुमोदन भएपछि अमेरिकाले नेपाललाई पनि इन्डो प्यासिफिक क्षेत्रको एउटा महत्वपूर्ण साझेदार राष्ट्रको रुपमा राख्दै आएको छ । चौतर्फी रुपमा विरोध भएपछि एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय नेपाल सरकारले गरे पनि त्यसबाट बाहिरिनका लागि सरकारले अमेरिकालाई अझै पत्राचार गरेको छैन । यो वा त्यो बहानामा अलमल गरिरहेको छ । अमेरिकाले भने नेपाललाई आफ्नो मिसन अनुसारको योजनामा हिडाउन थालिसकेको छ ।

स्रोतका अनुसार नेपाली सेनाले प्रधानसेनापति शर्मालाई अस्ट्रेलिया भ्रमणको निमन्त्रणा आएकोबारे सरकारलाई जानकारी गराइसकेको छ। प्रधानसेनापति शर्मा सम्मेलनमा सहभागी हुने विषयमा सकारात्मक रहेको स्रोतको दाबी छ । मन्त्रिपरिषदबाट सम्मेलनमा सहभागिताका लागि स्वीकृत पाए शर्मा अष्ट्रेलिया जाने निश्चित रहेको पनि स्रोतले बतायो । यो समाचार तयार पार्दासम्म मन्त्रिपरिषद् बैठकले प्रधासेनापति शर्माको अस्ट्रेलिया भ्रमण स्वीकृत गरिसकेको छैन।

प्रधानसेनापति शर्मालाई आएको निम्तो परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय हुँदै जंगी अड्डा पुगेको थियो। सैनिक प्रवक्ता नारायण सिलवाल भने प्रधानसेनापतिको प्रस्तावित भ्रमणबारे अनविज्ञता जनाउँछन् । उनले भने। “यसबारेमा मलाई जानकारी भएन ।”

चीनलाई घेर्ने, उसको बढ्दो विश्वव्यापी प्रभावलाई रोक्ने र अमेरिकी प्रभुत्व कायम राख्ने उद्देश्यलाई केन्द्रमा राखेर इन्डो प्यासिफिक क्षेत्रमा आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गरिरहेको अमेरिकाको सैन्य गठबन्धनको सदस्य राष्ट्रको रुपमा नेपाललाई अमेरिकाले प्रयोग गर्न खोजिरहेको छ । एमसीसी र एसपीपीमा आबद्ध भइसकेपछि अब नेपाल प्रत्यक्ष परोक्ष रुपमा अमेरिकाको उपनिवेशको हैसियतमा पुगिसकेको घटनाक्रमले साबित गर्दै लगेको छ ।

भूराजनीतिक र सामरिक अवस्थितिका कारण अमेरिकाले अस्ट्रेलियालाई इन्डो–प्यासिफिक क्षेत्रको महत्वपूर्ण मुलुक मान्दै आएको छ। इन्डो–प्यासिफिक रणनीति आईपीएस कार्यान्वयनका लागि अस्ट्रेलियाको भूमिका प्रधान रहने अमेरिकाको भनाइ छ।

चीनलाई नियन्त्रण र सन्तुलनमा राख्न अमेरिका र अस्ट्रेलियाले रणनीतिक साझेदारी दह्रो पार्दै लगेको देखिन्छ। अमेरिका र अस्ट्रेलियाले इन्डो–प्यासिफिक कमान्डका बैठक समयसमयमा गर्दै आएका छन्।

अमेरिकाको इन्डो–प्यासिफिक कमान्डले नेपाली सेनासँग रणनीतिक साझेदारीका लागि विभिन्न प्रस्ताव अघि सार्दै आएको छ। तीन साताअघि नेपाल आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल जनरल चाल्र्स ए फ्लिनले स्टेट पार्टनरसिप कार्यक्रमसम्बन्धी सैन्य सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मालाई आग्रह गरेका थिए। सम्झौतामा हस्ताक्षरका लागि प्रधानमन्त्री देउवा शुरुमा सकारात्मक भए पनि विवाद बढेपछि पछि हटेका थिए।

एसपीपी सन् २०१९ मै अमेरिकी सैन्य रणनीति इन्डो–प्यासिफिक स्ट्राटेजीमा समेटिएको थियो। अमेरिकाले उक्त सैन्य रणनीतिमा नेपाल र श्रीलंकालाई नयाँ साझेदार मुलुकमा सूचीकृत गरेको थियो।