नवलपरासी – पेट्रोलियम पदार्थ तथा खाद्य बस्तुमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासी संर्घषमा उत्रिएको छ ।
सो क्रममा शनिवार सुस्ता–१ बरुवा हाटबजारमा बिरोध प्रर्दशन तथा कोणसभा आयोजना गरेर क्रान्तिकारी माओवादीले महङगी बिरुद्ध उत्रिएको हो ।
चुनाव लगतै खाद्य बस्तु तथा यातायातमा समेत महंगी बढेको भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले बजारमा जुलुस समेत निकालेका थिए ।
‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, काला बजारियाहरुलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रण गर, जनघाती, राष्ट्रघाती सरकार मूर्दावाद,
नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’ लगायतका नाराहरुसहित जुलुस बरुवाचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई स्थानीय उपभोक्ताहरुले साथ दिएका थिए ।
बिरोधका कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरुलाई स्थानीय तहको निर्वाचनमा भोट दिएको परिणाम स्वरुप दैनिक उपभोग्य बस्तुमा मुल्य बृद्धि गरिएको बताउनुभयो ।
संसदीय दलालहरुलाई जनताले भोट दिएर त्यसको उपहार स्वरुप महंगी आएको उहाँले जिकिर गर्नुभयो ।
पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि पछि यातायातको भाडा बृद्धि र दैनिक उपभोग्य बस्तु जस्तै खानेतेल, ग्यास र खाद्यान्नमा मुल्य बृद्धि गरिएको भन्दै क्रान्तिकारी माओवादी सडकमा उत्रिएको क्षेत्रीले जानकारी दिनुभयो । सभामा देशभक्त जनणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले बोल्दै चुनाव खर्च उठाउन संसदवादीहरुले मुल्य बृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउनुभयो ।
































