काठमाडौं । संसदवादी दलहरु जनतामा विभिन्न आश्वासन बाँड्दै भोट माग्न गाउँ गाउँ छिर्दै गर्दा स्थानीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) भने जिल्ला जिल्लामा चुनाव बहिस्कार आन्दोलनका खाका तयार पार्न व्यस्त रहेको छ । चैत्रभित्र जिल्लाका साथै पार्टीको स्थानीय तहसम्मका बैठक बसी पार्टीको केन्द्रीय समितिको बैठकले लिएको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि मूर्त योजनागत खाकाहरु तयार पारिरहेको छ ।

यसबीचमा प्रदेश ३, ४, ५ र २ का बैठकहरु सम्पन्न भइसकेका छन् भने ६, १ र ७ प्रदेशका बैठकहरु पनि यसै हप्ता बसी चैत्रभित्र जिल्लाहरुका बैठक सकिसक्ने सम्बद्ध पार्टी नेतृत्वले जनाएको छ । बैठकले योजना कार्यान्वयनका लागि विभिन्न अभियान दलहरु बनाएर बहिस्कार आन्दोलनलाई प्रभावकारी बनाउन प्रचारात्मकका साथै प्रतिरोध आन्दोलनका खाका समेत तयार पारिएको छ ।

प्रदेश ३ का सेक्रेटरी कमरेड प्रवेशले दिएको जानकारी अनुसार ११ चैत्रमा सम्पन्न बैठकले तयारी, प्रचारात्मक, प्रतिरोध तथा भण्डाफोर गरी तीन चरणमा सम्पन्न हुने गरी दुई महिने बहिस्कार आन्दोलनका कार्यक्रमहरु तय गरिएका छन् ।

प्रदेश ३ ले काठमाडौं उपत्यकामा पार्टीका ९ वटा, विद्यार्थी र मजदुरका दुईदुईवटा गरी १३ वटा अभियान दल बनाइएको छ । तयारीको चरणमा जिल्ला, नगर÷गाउँ कमिटिका बैठकहरु सम्पन्न गर्ने, प्रचारात्मक चरणमा पर्चा वितरण, व्यानरिङ्ग तथा भित्ते लेखनलाई व्यापक बनाउने, सामाजिक सञ्जालहरुमा व्यापक रुपमा चुनाव बहिष्कारको प्रचारप्रसार गर्ने, एक अभियानदलमा १ संवाददाताको व्यवस्था मिलाउने, अभियान दलले प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न सिर्जनशील तरिका अपनाउने, बहिष्कार अभियानमा क्रान्तिकारी संयुक्त मोर्चालाई अग्रभागमा राख्ने आदि काम गर्ने निर्णय गरिएको छ भने प्रतिरोध तथा भण्डाफोर चरणमा बहिस्कार सभा, जुलुसहरु गर्ने निर्णय गरेको छ ।

प्रायः सबै प्रदेशमा यसरी नै तीन चरणमा विभाजन गरी बहिस्कार आन्दोलनका कार्यक्रम बनाइएको पार्टीका स्थायी समिति सदस्य कमरेड राजवीरले जानकारी दिनुभयो । कमरेड राजवीरको विशेष उपस्थितिमा प्रदेश ५ र ४ को बैठक सम्पन्न भएको छ ।

प्रदेश १ का सेक्रेटरी कमरेड उदयका अनुसार सोमबार सचिवालय र मंगलबार प्रदेशको बैठक बसेर प्रदेशको सापेक्षतामा केन्द्रीय योजनालाई ठोस गरिदैछ । यता प्रदेश २ का इन्चार्ज कमरेड रमेशका अनुसार प्रदेश बैठक सकेर तीनवटा जिल्लाको बैठक समेत सकिएको छ । प्रदेश र जिल्लाका सापेक्षतामा मूर्त मूर्त बहिस्कार आन्दोलनका योजनाहरु बनाइएको छ ।

क्रान्तिकारी माओवादीको हालै सम्पन्न बैठकले प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको, अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन वहिष्कारद्वारा नै समुुज्ज्वल हुुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको बैठकले प्रत्येक प्रदेश समिति र जवस मोर्चाहरुले संयुक्त रुपमा जिल्ला तथा स्थानीय तहकेन्द्रित बहिष्कार आन्दोलनको दुई महिने अभियान बनाई प्रभावकारी रुपमा जनपरिचालन गर्ने, जवस मोर्चामा कार्यरत केन्द्रीय नेतृत्वहरु सम्बन्धित प्रदेशको अभियानमा सहभागी हुने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको बैठकले बहिष्कार आन्दोलनका मूल नाराहरु समेत तय गरेको छ । कथित स्थानीय निर्वाचन बहिष्कार गरौं !, राष्ट्रघाती एमसीसी सम्झौता– खारेज गर !, भारतीय अतिक्रमित कालापानी क्षेत्र – मुक्त गरौं !, संघीय जनगणतन्त्र – स्थापना गरौं !, नयाँ जनवादी क्रान्ति – जिन्दावाद !, माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !, ने.क.पा.(क्रान्तिकारी माओवादी) – जिन्दावाद !, प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्था – मुर्दावाद !, तीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, दक्षिणपन्थी संशोधनवाद – मुर्दावाद !, वीर सहिदहरु – लालसलाम ! आदि नाराहरु तय गरिएका हुन् । आन्दोलनको प्रचारका साधनहरुमा पर्चा, पोष्टर, भित्तेलेखन, ब्यानरिङ्ग र कोणसभा, जनसभा सहित नयाँ प्रविधि समेत उपयोग गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर