सिरहा । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने बताउनु भएको छ । पार्टीको मधेस प्रदेश कमिटीले सोमबार सिरहाको गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले भ्रष्ट नेता तथा पार्टीहरुले जनतालाई अनैतिक बनाउन खोजेको भन्दै वैशाख ३० को लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताउनु भएको हो ।
चुनावको घोषणसँगै नेताहरु पैसाको बोरा बोकेर गाउँ पसेको भन्दै नेता गजुरेलले पैसा, मासु र रक्सीमा जनतालाई अल्मल्याएर चुनाव जित्ने व्यवस्था अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधि चयन हुन नसक्ने बताउनु भयो । उहाँले एमसीसी परियोजना संसदबाट खारेज गर्नुपर्ने पनि बताउनु भयो । नेता गजुरेलले आफ्नो पार्टी चुनाव बहिष्कारको आन्दोलनमा होमिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो चुनावले जनप्रतिनिधि भन्दा पनि व्यापारी बनाउँछ, अहिले चुनावमा मासु, रक्सि र पैसा दिएर मत किन्छ, पछि त्यही रकम असुलीमा लाग्छ । यो चुनावले भ्रष्ट व्यापारीमात्र जन्माउँछ, असली जनप्रतिनिधि आउन सक्दैन ।’






























