हिरामणि दु:खी राजनीतिक, साहित्यिक, सांस्कृतिक एवम् पत्रकारिताका क्षेत्रमा समेत निरन्तर क्रियाशील र ऊर्जाशील युवा स्रष्टा हुनुहुन्छ । कविता, कथा, समीक्षा, टिप्पणी, निबन्ध, संस्मरण लेखनका साथै साङ्गठानिक क्रियाशीलताका दृष्टिले पनि उहाँ विभिन्न सङ्घ–सङ्गठनमा पूर्णकालिन रूपमा क्रियाशील हुनुहुन्छ । नेपाल र नेपाली जनताको उन्मुक्तिकामी आन्दोलनमा समर्पित स्रष्टा हिरामणि दु:खी विगतको दसवर्षे जनयुद्धमा संलग्न भएर युद्ध आँधीमय जीवनका तीव्रतम् अनुभूतिसँग खेल्दै साहित्यसिर्जनामा क्रियाशील हु“दै आउनुभएको छ, तर अलिकति कुतकुत्याउने कुरो के छ भने दु:खीको क्रियाशीलता अलि धेरै फराकिलो छ, चारौंतर्फ छरिएको छ । यसको तात्पर्य ऊर्जाशील रह“दासम्म सबैतिरको हुने र ऊर्जा धीमा बन्दै जा“दा कहीं कतैको पनि बन्न नसक्ने खतरा उत्पन्न हुन सक्छ । त्यसैले सिर्जना तथा क्रियाशीलताका दृष्टिले आफूलाई विशिष्टीकरण गर्नु राम्रो हो भन्ने लाग्छ । मैले नजिकैबाट जानेबुझेका स्रष्टा हिरामणि दु:खीका सन्दर्भमा यति भन्नु अर्घेल्याइ“ नहोला कि, अथवा यहा“नेर म अलिकति आलोचक र उपदेशक पनि भएको हुन सक्छु । जेहोस्, स्रष्टा हिरामणि दु:खी जीवनबोध र जिम्मेवारीबोधका साथ सिर्जनकार्यमा सक्रिय हुनुहुन्छ भन्ने साक्ष्यका रूपमा उहाँका यसअघिका ‘परिभाषा’ (२०६१) र ‘जुन पस्किने यात्रामा’ (२०६५) नामक कवितासङ्ग्रहका साथै प्रस्तुत ‘युद्धका कथाहरू’ नामक कथासङ्ग्रहलाई अगाडि सार्न सकिन्छ ।

विगतको दसवर्षे जनयुद्ध उत्पीडित नेपाली जनताले चलाएको वर्गसङ्घर्षको उच्चतम रूप थियो । २०५२ सालदेखि २०६२ सालसम्मको जनयुद्ध भन्नु नेपाली समाजको वर्गसङ्घर्षको इतिहासमा घनीभूत प्रक्रिया र ऐतिहासिक आवश्यकता थियो, जसले सामन्ती सत्तासंरचना र त्यसअन्तरगत मौलाएको सामन्ती संस्कृतिको उछित्तो काढ्ने काम गर्‍यो । जनयुद्धको प्रक्रिया उत्तरोत्तर घनीभूत हु“दै जा“दा यो उत्पीडित नेपाली जनताको लागि उन्मुक्तिको आस्था र आशाको पुञ्ज हुनु स्वभाविकै थियो । त्यसैको परिणाम आम जनपक्षीय क्रियाकलापका साथै सामन्ती संरचनायुक्त राज्यसत्तासमेत यसबाट प्रभावित हुन पुग्यो । जनयुद्धको सघन प्रक्रियाका बीचबाट वीरता, साहस, समर्पण अनि बलिदानका अनगिन्ती गाथा निर्माण भएका छन् र अभूतपूर्व कीर्तिमान कायम भएका छन् । यस अवस्थामा नेपाली समाजमा सम्पन्न हुने समस्त क्रियाकलाप जनयुद्धको त्यो प्रक्रियाबाट असम्पृक्त रहनु सम्भव थिएन । वस्तुत: सामाजिक जीवनका समस्त क्रियाकलापको प्रतिबिम्बन हुने कला–साहित्य पनि वर्गसङ्घर्षको त्यस प्रक्रियाबाट असम्पृक्त रहनु सम्भव नभएकै कारण जनयुद्धसिर्जित यावत् घटना–परिघटनाहरू कला–साहित्यका अजस्त स्रोत बन्न पुगे । यसको तात्पर्य हो, जनयुद्ध सिर्जित नयाँ यथार्थलाई नै समकालीन स्रष्टाले विषयालम्वन बनाउन थाले । वस्तुत: युद्धआँधीमा खेल्दाका आफ्ना गहन अनुभूतिलाई कथाकलामा सजाउने क्रममा नै हिरामणि दु:खीको ‘युद्धका कथाहरू’ नामक कथासङ्ग्रह पाठकसमक्ष आएको छ ।

हामी सामाजिक जीवनका कुरा गर्छौं, समाजविकासको द्वन्द्वात्मक प्रक्रियाका बारेमा छलफल गर्छौं, वर्गविभक्त समाजभित्रका विषमता र तत्जन्य चारित्रिक विशेषताका बारेमा चिन्तन गर्छौं, मानवसृष्टि र मानवविकासका सन्दर्भमा वर्गसङ्घर्षको इतिहास अध्ययन–अन्वेषण गर्छौं“ र हामी स्वयम् वर्गसङ्घर्षको प्रक्रियामा संलग्न हुन्छौँ । यसो गरिरह“दा हामी कथा सुनिरहेका हुन्छौँ, कथा पढिरहेका हुन्छौँ र कथा सुनाइरहेका हुन्छौँ । अर्थात् हामी नै कथा, हामी नै कथावाचक र हामी नै कथाका स्रोता । अझै यसो भनौ“, हामी मान्छे बेग्लै र कथा बेग्लै, यसो हुनै सक्दैन । यसको तात्पर्य हो सामाजिक जीवनका घात–प्रतिघातको प्रस्तुति कथामा हुने गर्दछ र कथामा सामाजिक जीवनका वैविध्य अनि वैषम्यको सम्यक प्रस्तुति सम्भव छ । वस्तुत: यसरी नै कथाको पहिचान खोज्दै जाने हो भने कथाकार हिरामणि दु:खीको प्रस्तुत सङ्ग्रहका कथामा पनि यस्तैयस्तै दृष्टान्त प्राप्त गर्न सकिन्छ । मानवइतिहास, मानवीय क्रियाकलाप, मानवजातिले प्राप्त गरेको सौन्दर्यचेत अनि त्यही सौन्दर्यचेतनाका माध्यमबाट मानवजातिले खोज्ने भविष्य पनि कथामार्फत् अभिव्यञ्जित हुने सन्दर्भमा दु:खीका कथामा सुदूर भविश्यसम्म चियाउने भविष्यचेत पनि प्रबल छ भन्न सकिन्छ ।

कथामार्फत् मानवसमाजमा विद्यमान वर्गीय अन्तरविरोधको सम्यक प्रस्तुतिसँगै अन्तरविरोधका कारक र त्यसको सम्भाव्य निराकरणको समेत प्रतिबिम्बन हुने गर्दछ । समकालीन कथालेखनको कुरा गर्दा द्वन्द्वमय जीवनका अनुभूति अटेसमटेस छन्, खचाखच छन् जसलाई कथाकलाका माध्यमबाट प्रस्तुत गर्ने सीपको खा“चो छ । अर्थात् अनुभूतिको भण्डार एकातिर अनि सिर्जनपरिवेश र सिर्जनात्मक सीप अर्कोतिर हुनुको कारण कथामार्फत् विगतको जनयुद्धबाट प्राय: विशिष्ट कीर्तिमान र तत्जन्य अनुभूतिको सम्पे्रषण अपेक्षाकृत रूपमा हुन नसके पनि सामान्य उपलब्धि हासिल भएका छन् । यो एउटा निरन्तर प्रक्रिया पनि हुनाले यही प्रक्रियाका सन्दर्भमा कथाकार हिरामणि दु:खीले प्रस्तुत कथासङ्ग्रहमार्फत् युद्धमय परिवेशबाट प्राप्त आफ्ना अनुभूतिलाई कथात्मक बान्की दिनुभएको छ । त्यसैले दु:खीको यस सङ्ग्रहका कथामा युद्धमय परिवेश, युद्धमय जीवनशैली, युद्धमार्फत् भविष्य पछ्याउने उद्दात्त चिन्तन र युद्धआँधीमय जीवनभोगाइका झिल्काझिल्की पाउन सकिन्छ ।

कथारचना गर्दा प्रतिनिधि यथार्थ वा विषयवस्तु, प्रतिनिधि पात्र र प्रतिनिधि परिवेशको चयन महŒवपूर्ण मानिन्छ । अझ यसभन्दा पनि प्रतिनिधि पात्र, प्रतिनिधि विषयवस्तु र प्रतिनिधि परिवेशको प्रारूपीकरण गर्ने कुरो झनै महŒवपूर्ण मानिन्छ । प्रारूपीकरणको प्रक्रियाले नै प्रतिनिधि यथार्थ, प्रतिनिधि पात्र तथा परिवेशको उदात्तीकरण गर्ने वा विद्रूपीकरण गर्ने भन्ने सवालको ठोस उत्तर प्राप्त हुन सक्छ । समकालीन कथालेखनकै कुरो गर्दा समानान्तर धाराका कतिपय कथाकारले प्रतिनिधि यथार्थ, प्रतिनिधि पात्र तथा प्रतिनिधि परिवेशको चयन त गरेका छन् तर गलत प्रकृतिको प्रारूप निर्माण गरेर प्रतिनिधि यथार्थ, पात्र र परिवेशको विद्रूपीकरण गरेका दृष्टान्तहरू प्रशस्तै पाइन्छन् । हिरामणि दु:खीका कथामा प्रतिनिधि यथार्थ, प्रतिनिधि पात्र र प्रतिनिधि परिवेशको उदात्तीकरण गरिएको छ । दु:खीका कथामा जनयुद्धसिर्जित नयाँ यथार्थको चयन, युद्धमय जीवनपरिवेशको चयनका साथै युद्धआँधीमय परिवेशका बीचबाट पात्रको चयन हुन गएको छ । प्रस्तुत सङ्ग्रहमा सङ्गृहीत जम्मा दसवटा कथामध्ये जनयुद्धसिर्जित नयाँ यथार्थको अवगाहन गर्ने कथाहरूको सूचीमा– ‘रमाका हिमाल अझमाथि चुलिंदै छ’, ‘साहस’, ‘अस्तु’, ‘नटुङ्गिदा घटनाहरू’, ‘अधिकारको खोजी’, ‘नयाँ जीवनको सुरुवात’, आदि रहेका छन् । युद्धको प्रक्रिया र परिणतिले जीवनशैली र संस्कृतिमा समेत निरन्तर परिवर्तन आएको यथार्थपरक दृष्टान्त ‘रमाका हिमाल अझ माथि चुलिंदै छ’ शीर्षकको कथामा पाउन सकिन्छ । युद्धको अभिप्राय परिवर्तन नै हुनाले मानवीय जीवन र क्रिया प्रतिक्रियासँग सम्बन्धित वस्तुको नामकरण, तीसँग सम्पन्न गरिने क्रियाकलाप र सांस्कृतिक मूल्यमा आएको परिवर्तनको सङ्केत यस कथाले दिएको छ । वीरता, साहस र बलिदानका अनन्त गाथाको सम्झना र सहिदप्रतिको सम्मानभावस्वरूप हिमाल, पहाड, नदीनाला, वनजङ्गल, पुलसडक, चोकचौतारीको नामकरण हुने र त्यसलाई जनजीवनले हार्दिकतापूर्वक अङ्गीकार गर्ने गरेको यथार्थबोध प्रस्तुत कथामा उल्लेख्य पत्रकार सैलेन्द्रले पार्टी कार्यकर्ता प्रह्लादमार्फत् प्राप्त गर्दछ तर बेलासपुर हिमालको नाम ‘रमाका’ किन राखियो भन्नेबारेको खोलुवा यसमा दिइएको छैन । लोग्नेले युद्धमा संलग्न हुने आँट नगरे पनि महिलाहरू जिम्मेवारीबोधका साथ युद्धमा होमिएका हुन् भन्ने दृष्टान्त ‘साहस’ शीर्षकको कथामा पाउन सकिन्छ । यसमा दुई वटी छोरीकी आमा साकारले जनमुक्ति सेनामा भर्ती भएर आफ्नो साहसिक कार्यको परिचय दिएकी छन् । त्यस्तै आफ्नो लोग्ने तुलसीरामलाई आततायी सत्ताका जल्लादहरूले गिरफ्तारीपश्चात् हत्या गरे पनि सावित्री दिदीले लोग्नेको हत्या गरिएको स्थानबाट अस्तु लिएर पार्टीमा बुझाउनु र बदलाभावस्वरूप आफू पनि पूर्णकालीन पार्टी कार्यकर्ता हुनुले महिलाहरूमा विद्यमान त्याग र बलिदानी भावनाको प्रस्तुति ‘अस्तु’ शीर्षकको कथामा हुन गएको छ । युद्धकालमा सामान्य नेपाली जनले पाएको यातना, यन्त्रणा र प्रताडनाका साथै सृष्टिजस्ता दलित जातिकी महिलाले भोगेको कहालिलाग्दो जीवनकथा अर्थात् ‘नटुङ्गिंदा घटनाहरू’ शीर्षकको कथामार्फत् सृष्टिले शकुन्तलालाई सुनाएको कथा पनि कम्ती सम्वेद्य छैन । त्यसैगरी आरम्भमा जनयुद्धप्रति भ्रामक धारणा रहे पनि उत्तरोत्तर यथार्थबोध भएपछि धने सार्कीका लोग्नेस्वास्नी जनयुद्धमा होमिनुले जनयुद्धप्रति आम जनताको आकर्षण बढ्दो थियो भन्ने यथार्थपरक अभिप्राय ‘नयाँ जीवनको सुरुवात’ शीर्षकको कथामार्फत् प्राप्त हुन्छ ।

जनयुद्धका सघन प्रक्रियासँग नजोडिएको तर जनयुद्धका उपलब्धि तथा माओवादी पार्टी सरकारमा सहभागी भएपछिका विसङ्गति, विचलनमुखी प्रवृत्ति र चिन्तनका बारेमा छेडखान गर्ने कथा हो– ‘सहिद आमासँगको भेट’ । पार्टीका पछिल्ला क्रियाकलाप र गतिविधिप्रति सहिद परिवारलगायतका जनमानसमा आशङ्का र उत्सुकता बढेर गएको संवेदनशील प्रसङ्गलाई कथात्मक बान्की प्रदान गरिएको छ । यसमा सहिदआमा वीरमालीका जिज्ञासा र आशङ्का अनि पार्टी कार्यकर्ता निर्माणभित्र उत्पन्न उस्तै आशंकाले पार्टी पङ्क्तिदेखि जनस्तरसम्म यस प्रकारको आशङ्का मौलाएको सङ्केत मिल्दछ । यो तात्तातो वर्तमानको तितो अनुभूति हो । ‘पुनर्मिलन’ र ‘मौसमी रङ्ग’ शीर्षकका कथा समकालीन राजनीतिक परिदृश्यमा आधारित फरक विषयप्रसङ्गको प्रतिबिम्बन गर्ने कथा हुन् । ‘पुनर्मिलन’ कथाले नेकपा माओवादी र नेकपा एकताकेन्द्र–मसालका बीचको एकता प्रक्रियाप्रति थोरै कटाक्ष र छेडछाड गर्दछ भने ‘मौसमी रङ्ग’ शीर्षकको कथाले माओवादी खुला राजनीतिमा आएपछि र संविधानसभामा धेरै सिट जितेर सबैभन्दा ठूलो पार्टी भएपछि पार्टी प्रवेश गर्नेहरूको घुइ“चो नै लाग्यो, त्यस प्रक्रियाले पार्टी र क्रान्तिको दिशालाई विदु्रपित गर्ने हो कि भन्ने चिन्ता प्रस्तुत कथामार्फत् प्रकट गरिएको छ । निरन्तरक्रान्तिका पक्षमा उभिनेले यस्तो चिन्ता प्रकट गर्नु स्वभाविक हो र यो चिन्ता भनेको आमक्रान्तिकारी जनताको चिन्ता हो । सामान्य विषयवस्तुमा आधारित ‘सन्तबहादुरको सहरयात्रा’ शीर्षकको कथाले सहरिया जीवन परिवेशप्रति वितृष्णाभाव प्रस्तुत गरेको छ ।

यथार्थको चयन र सवल प्रारूपीकरणका दृष्टिले ‘सहिदआमासँगको भेट’, ‘नटुङ्गिंदा घटनाहरू’, ‘साहस’, ‘अस्तु’, ‘पुनर्मिलन’, शीर्षकका कथा विशेष उल्लेख्य हुन सक्छन् । यिनमा पनि ‘पुनर्मिलन’ कथाको प्रारूप अत्यन्त सुन्दर र विश्वसनीय बन्न गएको छ भने ‘अस्तु’ कथाको प्रारूपीकरण त्यति स्वभाविक लाग्दैन । सावित्री दिदीको शालीनता, इमानदारीपन, त्याग र आत्मविश्वास प्रशंसनीय भए पनि उनले अस्तु लिएर पार्टीलाई बुझाउनुपर्ने औचित्य खासै देखिन्न । विषयवस्तुको चयन र प्रारूपीकरणका साथै कथाको संरचनागत सुगठनका दृष्टिले समेत ‘सहिदआमासँगको भेट’, ‘अस्तु’, ‘नटुङ्गिदा घटनाहरू’ शीर्षकका कथा तुलनात्मक रूपमा राम्रा बनेका छन् ।

नढाँटी भनूँ भने कथा लेख्नु त्यति सजिलो छैन । आखिर मनले चिताएजस्तो सजिलो काम के नै हुन सक्छ र ? सामाजिक उत्तरदायित्वबोधले नै जस्तासुकै कठीन कार्य पनि सहजतापूर्वक सम्पन्न गरिन्छन् यसो भएता पनि कथा लेख्नु त्यति सहज छैन भन्ने कुरो म यसकारण भन्दै छु कि कथा लेख्न बस्दा धेरै कुरा विचार्नुपर्ने, बनोट–बुनोट चिटिक्क पार्नुपर्ने, अत्यन्त सतर्कतार्पूक यसका अङ्गउपाङगको सङ्गठन र व्यवस्थापन गर्नुपर्ने, कथानकको रेखाङ्कन र ढाँचा–ढर्रा मिलाउनुपर्ने अनि त्यसका लागि कठोर संयम र धैर्य चाहिने । छिनछिनमा कुदाकुद गर्नुपर्ने जिन्दगीको नियतिसँग खेल्दै र सम्झौता गर्दै फुकी–फुकी पाइला चाल्नुपर्ने, तीव्रतम् अनुभूतिको वेगमा हुइँकिएर कथा लेख्न बस्यो अटेसमटेस अनुभूतिको अभिव्यञ्जनाका लागि कलात्मक एवम् जीवनसापेक्ष सिर्जनकौशल प्राप्त गर्नुपर्ने, पाठकको मनमस्तिष्क र आनीबानीको राम्रो भेउ पाउनुपर्ने, पाठकको अभिरुचिमाथि गोता लगाएर सम्पे्रषण क्रियालाई ठिकसित आत्मसात् गर्नुपर्नेलगायतका परीक्षामा निपूर्ण हुनुपर्ने बाध्यता पनि छँदै छ । कथामा मूर्तिकृत हु“दै जा“दा यथार्थसापेक्ष एवम् जीवनसापेक्ष विषयवस्तुको चयन, उन्नत एवम् उदात्त विचारको प्रतिपादन, पात्र तथा परिवेशको चयन र प्रारूपीकरण, पात्रको क्रियाशीलता, पात्रका बीचको कार्यव्यापार, द्वन्द्व एवम् घटनाको तारतम्य, आदि, मध्य र अन्त्यको रेखाङ्कन, शब्द चयन, वाक्य गठन, अनुच्छेद योजना, भाषाशैली, दृष्टिविन्दु, पात्रको चयन र रेखाङ्कनलगायतका नानाभाँतीका झैझमेला । यति झमेला झेलेर कथा पस्किसकेपछि अन्त्यमा पाठक/समालोचकको खप्की र डण्डा खानुपर्ने त छ“दै छ । यसको तात्पर्य कथालेखनबाट विमुख हुनु यसको समाधान नभएर निरन्तर साधना, सिर्जनकौशलको विकास र सङ्घर्ष नै ठोस समाधान हो ।

मैले यहा“ नानाथरीका झैझमेलाको उल्लेख गरेँ तर तिनको नालीबेली लगाउने पक्षमा म छैन । पात्रका सम्बन्धमा अलिकति चियोचर्चो गरू“जस्तो लागेको छ । कथामा पात्र भन्नु विचारवाहक माध्यम हो, जसले कथाकारले प्रतिपादन गरेको विचारलाई पाठकसमक्ष पुर्‍याउने काम गर्दछ । त्यसैले कथाका पात्र जीवनसापेक्ष, कालसापेक्ष, वर्गसापेक्ष र विचारसापेक्षा हुने गर्दछन् । जीवनसङ्घर्षको भट्टीमा गालिएका र खारिएका पात्रले नै पाठकसँग मितेरी लगाउन र पाठकभित्र प्रवेश पाउन सक्छन् । यसको तात्पर्य के पनि हो भने कथामा पात्रलाई निर्वाध रूपमा विचरण गर्न दिनुपर्छ, कथाकार स्वयमले नत्थे लगाएर डोर्‍याउनुहु“दैन । पात्र आफूले भोगेको जीवनको गति, नियति र क्रियाबाट डोरिन्छ, कथाकारले डोर्‍याउने होइन । पात्रलाई ओझेलमा पारेर कथाकार स्वयमले लम्बेतान भाषण गरिरह“दा पात्र कमजोर बन्न जान्छ । पात्र कमजोर हुनु भनेको पात्रमार्फत् सम्पे्रषित विचार कमजोर हुनु हो, कथा नै कमजोर हुनु हो । यसको तात्पर्य प्रस्तुत सङ्ग्रहभित्रका कथाका पात्रको स्थिति यस्तै छ भन्ने होइन, बरु त्यसतर्फको थप अभिपे्ररणा मात्रै हो ।

‘युद्धका कथाहरू’ दु:खीको पहिलो कथासङ्ग्रह हो, तर यसमा सिकारु प्रवृत्ति नभएर परिपक्वता देख्न सकिन्छ । यो पहिलो सङ्ग्रहले नै हिरामणि दु:खीमा कथा कथनसम्बन्धी सीप र सम्भावना राम्रो देखिन्छ । माक्र्सवादीहरू श्रम, सीप, साधना र निरन्तर सङ्घर्षमा विश्वास गर्छन्, यो सामान्य धारणा हो । स्रष्टा हिरामणि दु:खी युद्धमय जीवनका गौंडागल्छेंडा पार गर्दै यहा“सम्म आइपुग्नु र थप सुन्दर भविष्य पछ्याउने ध्याउन्नमा लागिरहनुले उहाँको सिर्जनक्रियाशीलता उर्वर बन्दै जाने निश्चित छ । वर्गचेत, सिर्जनचेत र उत्तरदायित्वबोधले स्रष्टालाई अनन्त सम्भावनातर्फ डोर्‍याउने गर्दछ । त्यसैले कथाकार दु:खीले पनि सिर्जनारूपी महान् यात्राका क्रममा अनेक सम्भावनाका ढोका उघार्दै जानुहोस् भन्ने शुभकामना दिन चाहन्छु ।

प्रगतिवादी कथाकार हिरामणि दुखीकाे कथासङ्ग्रह ‘युद्धका कथाहरू’काे भूमिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर