काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चासहित ६ पार्टी सम्बद्ध दलित संगठनहरुले एमसीसीको खारेजीका साथै दलित समुदायका समस्याहरुलाई लिएर आयोजना गरिएको विरोध प्रदर्शन तथा विरोध सभा सम्पन्न भएको छ ।


विरोधसभालाई राष्ट्रिय सभाका सदस्य तथा जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, नेपाल दलित मुक्ति कोर्चाका संयोजक अमर परियार, श्रमिक समुदाय मोर्चा, नेपालका महासचिव त्रिलोचन विश्वकर्मा, जातव्यवस्था उन्मूलन मोर्चा, नेपालकी रुपमा सुनार, नेपाल दलित समाज मुक्ति मोर्चाका राजकुमार विकले सम्बोधन गर्नु भएको थियो ।


रत्नपार्क शान्तिबाटिकामा कार्यक्रम दिउसो २ बजेबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन जातीय समता समाजका महासचिव भक्त विश्वकर्माले गरेका थिए ।


एमसीसी सम्झौता खारेजीका लागि संघर्षरत ६ पार्टी र २ मोर्चाको पूर्व घोषित संयुक्त संघर्षका कार्यक्रम अन्तर्गत दलित संगठनहरुको संयुक्त आयोजनामा विरोध सभाको आयोजना गरिएको हो ।


विरोधसभालाई सम्बोधन गर्ने वक्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्न दिन नहुने विचार व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर