काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको ध्यानाकर्षण पत्र बुझ्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको छ । र, माग पूरा नहुँदासम्म आन्दोलनलाई अविचलित रुपमा अगाडि बढाउन समेत उहाँले सुझाब दिनुभयो ।
पार्टी कार्यालय कुपण्डोलमा बिहीबार ध्यानकर्षण पत्र बुझ्दै सुकुम्बासीको समस्या वर्गीय समस्या भएकोले वर्गीय मुक्ति नुहँदासम्म वास्तविक रुपमा सुकुम्बासीहरुको समस्या समाधान नहुने पनि महासचिव किरणले बताउनु भयो ।
अहिले संसदवादी पार्टीका नेताहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्न अनेकौं प्रलोभन र आश्वासन दिने गरेको बताउनु हुँदै संसदीय व्यवस्थामा सुकुम्बासी समस्या वास्तविक रुपमा समाधान हुन नसक्ने समेत बताउनु भयो ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको नेतृत्वमा गएको सुकुम्बासीहरुको टोलीले जारी आन्दोलनबारे ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्रमा तत्काल पूरा गर्नुपर्ने चार बुँदे मागहरु अगाडि सारिएका छन् । जसमा सुकुम्बासी विस्थापन गर्ने गरी प्रकाशित सुचना तत्काल खारेज गरियोस्, जोखिमुक्त समुदायलाई सोही स्थानमा र जोखिमयुक्त समुदायलाई सम्बन्धित परिवारको सहमतिमा सहज जीवनयापन हुने गरी भूस्वामित्व (लालपुर्जा)सहितको वैकल्पिक व्यवस्थापन गरियोस्, स्थायी विकल्पविनाको उठिबसा सदाको लागि बन्द गरियोस् र बसोबासको आधारमा फास्ट्र्याकबाट लालपुर्जा वितरण गर्नका लागि पहल गरियोस् आदि रहेका छन् ।
मोर्चाको प्रस्तुत मागप्रति ऐक्यबद्धता जनाउँदै महासचिव किरणले पार्टीले मोर्चाको आन्दोलनप्रति समर्थन र सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
ध्यानाकर्षण बुझाउने कार्यक्रममा मोर्चाका उपाध्यक्ष पवन गुरुङ, महासचिव अर्जुन कुँवर लगायत मोर्चाका नेताहरुको उपस्थिति रहेको थियो ।