एमसीसी खारेजीका लागि २१ गते (भोलि) क्रान्तिकारी माओवादीको देशव्यापी विरोध प्रदर्शन, २६ गते २२ दलीय मोर्चाले विरोध प्रदर्शन गर्ने

एमसीसी खारेजीका लागि २१ गते (भोलि) क्रान्तिकारी माओवादीको देशव्यापी विरोध प्रदर्शन, २६ गते २२ दलीय मोर्चाले विरोध प्रदर्शन गर्ने

 

काठमाडौं । अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी सम्झौता, जुन नेपालको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको प्रतिकूल छ, लाई जसरी पनि नेपालको संसदबाट अनुमोदन गराउन अमेरिकाले दबाब दिइरहेको छ र यहाँका संसदवादी दलहरु खासगरी कांग्रेस र एमाले संसदबाट अनुमोदनका लागि अमेरिकाको निर्देशन अनुसार दौडधूप गरिरहेका छन्, त्यही एमसीसी सम्झौता खारेजीको माग गर्दै मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले भोलि अर्थात् माघ २१ गत्ते देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको छ । काठमाडौं उपत्यका लगायत सातवटै प्रदेशका अधिकांश जिल्ला र जिल्लाभित्र पनि विकेन्द्रित रुपमा कार्यक्रम गर्न सर्कुलर जारी गरिएको पार्टी हेडक्वार्टरले जानकारी दिएको छ ।

क्रान्तिकारी माओवादी एक मात्र त्यस्तो पार्टीको रुपमा देखिएको छ, जसले विगत लामो समयदेखि एमसीसी सम्झौताको खारेजी लगायत भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका अतिक्रमित भूमि फिर्ताको लागि निरन्तर रुपमा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै आएको छ । देशको स्वाधीनताको रक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको विषयलाई पार्टीको मुख्य मुद्दा बनाउँदै यो पार्टीले सडकबाट सदन र सरकारका राष्ट्रघाती र जनघाती कामहरुको डटेर विरोध गर्दै आएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले हालै पार्टीको स्थायी समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै २१ गते एमसीसी र भारतीय सीमा अतिक्रमणको विरोधमा देशव्यापी विरोध गर्ने घोषणा गर्नुभएको छ ।

१५ माघ २०७८ मा सम्पन्न पार्टीको स्थायी समितिको बैठकका निर्णय वक्तव्य मार्फत् सार्वजनिक गर्दै पार्टी महासचिव मोहन वैद्य किरणले राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा सङ्घर्षलाई एकल तथा संयुक्त रुपमा अझै विकसित तुल्याउँदै जानुपर्ने आवश्यकतालाई गंभीरतापूर्वक आत्मसात गरी यही माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शनको कार्यक्रम राख्ने निर्णय गरेको जनाउनु भएको थियो ।

वक्तव्यमार्फत् महासचिव किरणले सो विरोध प्रदर्शनको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्बन्धित पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्नुका साथै सबै जनवर्गीय सङ्गठन तथा मोर्चा सहित आम देशभक्त, प्रगतिशील, जनवादी तथा वामपन्थी मित्रहरु र शुुभचिन्तकहरुलाई विशेष अनुरोध समेत गर्नु भएको थियो ।

वक्तव्यमा देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको प्रश्न गम्भिर बन्दै गएको विषयलाई उल्लेख गर्दै भनिएको छ, “ देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गंभीर बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको छ । अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद गरेको छैन । सो क्षेत्रमा भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको छ । यो स्वाभिमानी नेपालीका लागि गंभीर चिन्ताको विषय हो ।”

त्यसैगरी “राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजीका लागि हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी बनौँ !” भन्ने आव्हानका साथ २२ दलीय कार्यगत मोर्चाको तर्फबाट देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले बुधबार मात्र एक वक्तव्य जारी गर्नुभएको छ । वक्तव्यमा एमसीसी खारेजीका लागि २६ माघमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम राखिएको छ ।


वक्तव्यमा भनिएको छ, “‘राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजी’को निम्ति नेपालका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्दैै आएको तथ्य सर्वविदितै छ । पूर्व र बहालवाला प्रधानमन्त्रीहरु केपी शर्मा ओली एवम् शेरबहादुर देउवाले पटक–पटक यो राष्ट्रघाती सम्झौतालाई संसद्बाट पारित गराउने प्रयास गरे पनि असफल हुँदै आएका छन् । फेरि पनि अमेरिकी सरकारको दबावको अगाडि घुँडा टेकेर शेरबहादुर देउवा संसद्मा जसरी पनि एम.सी.सी. प्रस्तुत गरी त्यसलाई पारित गराउने कसरतमा लागेको कुरा व्यापकरुपमा सार्वजनिक भएको छ । नेपालको सार्वभौमिकताको रक्षा गर्न र हाम्रो देशलाई विदेशी शक्तिहरुको क्रिडास्थल बन्न नदिनका लागि हामी पुनः सडकमा उत्रिन बाध्य भएका छौं । यसका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, राष्ट्रवादी शक्ति (व्यक्तित्व)हरुसँग एकताबद्ध भएर सङ्घर्ष गर्न हामी आह्वान गर्दछौं ।”

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दल÷सङ्गठनहरुमा १. नेकपा (क्रान्तिकारी माओवादी) २. नेकपा (मसाल) ३.नेकपा (माले) ४. नेपाल कम्युनिस्ट पार्टी ५. राष्ट्रिय जनमोर्चा ६. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ७. नेपाल कम्युनिस्ट पार्टी, ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ८. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. राष्ट्रिय जागरण परिषद्, नेपाल १४. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १५. नेकपा (बोल्शेविक) १६. एम.सी.सी. खारेज अभियान १७. पुष्पलाल अध्ययन समाज १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) १९. माक्र्सवादी एकता अभियान २०. नेकपा (माक्र्सवादी) २१. नेकपा माक्र्सवादी (पुष्पलाल) २२.समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।