पछिल्लो २४ घण्टामा थपिए २,४४४ जना कोरोना संक्रमित, उपत्यकामा ‘स्मार्ट लकडाउन’

पछिल्लो २४ घण्टामा थपिए २,४४४ जना कोरोना संक्रमित, उपत्यकामा ‘स्मार्ट लकडाउन’

काठमाडौं । पछिल्लो २४ घन्टामा थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनामा पिसिआर र चार हजार तीन ८५ जनामा एन्टिजेन गरी १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। संक्रमणका कारण २४ घन्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार देखिएको तथ्यांक सोमबार देखिएको तथ्यांकभन्दा झन्डै दोब्बर हो। सोमबार एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, पछिल्लो २४ घन्टामा तीन सय १३ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय २२ जना रहेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ‘स्मार्ट लकडाउन’सहित ​ कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ । 

यही निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन् ।