काठमाडौं/ ‘संसदवादी, दलाल एवम् पश्चगामी संस्कृतिको भण्डाफोर गरौं, नयाँ जनवादी संस्कृति निर्माणका लागि सङ्घर्ष गरौँ’ भन्ने मूल नाराका साथ अखिल नेपाल जनसांस्कृतिक महासङ्घको दोस्रो राष्ट्रिय भेला यही मङ्सिर २५ गते हुने भएको छ । काठमाडौं, घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न हुने सो भेलामा देशका सात वटै प्रदेशबाट प्रदेश कमिटीका सदस्यहरू तथा जिल्लाहरूबाट जिल्ला नेतृत्वका सदस्यहरूको उपस्थिति रहने महासङ्घका महासचिव हिरामणि दु:खीले जनाएका छन् ।
उक्त भेलामा आउने प्रतिनिधिहरूका लागि खाने बस्ने व्यवस्था महासङ्घले गर्ने बताइएको छ । भेलामा देशैभरिबाट एक सय भन्दा बढि संस्कृतिकर्मीहरूको सहभागिता रहने छ । महासङ्घको उद्घाटन बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक एवम् नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य ‘चैतन्य’ले गर्नुहुने भएको छ ।
भेलाले महासचिव हिरामणि दु:खीद्वारा प्रस्तुत गरिने सांस्कृतिक तथा साङ्गठनिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने तथा आगामी सम्मेलनसम्मका लागि नयाँ नेतृत्वसहितको केन्द्रीय समिति चयन गर्ने जनाइएको छ ।