काठमाडौं । नेकपा (माओवादी केन्द्र)को मंगलबार बसेको स्थायी समितिको बैठकले यथास्थितिमा विना संशोधन वा परिमार्जन नगरी एमसीसी सम्झौता सदनबाट पारित नगर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता तथा स्थायी समिति सदस्य कृष्णबहादुर महराले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैठकले जस्ताको त्यस्तै नभइ संशोधनपछि मात्रै एमसीसी पारित गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको स्थायी समितिको सम्पन्न बैठकले राष्ट्रिय महाधिवेशन आगामी पुस ११ देखि १३ मा काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । बैठकले न्यायालयको विवाद आन्तरिक भएको भन्दै न्यायालयभित्रैबाट समस्या समाधान हुनुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता महराले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले प्रचण्ड र आफूले हस्ताक्षरसहितको पत्र पठाएर एससीसी पास गर्ने लिखित प्रतिबद्धता जाहेर गरिसकेको खुलासा गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पत्र पठाएको स्वीकारे पनि जस्ताको तस्तै पास गर्ने नभएर राष्ट्रिय सहमति कायम गरेर मात्र पास गर्न सकिने व्यहोराको पत्र पठाएको दाबी गरेका थिए । तर देउवा र प्रचण्डको परस्पर विरोधी भनाइहरु बाहिर आएपछि एमसीसीलाई पठाएको उक्त गोप्य पत्र तत्काल सार्वजनिक गर्न चौतर्फी रुपमा आवाज उठेको थियो । एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्नुपर्ने विषयमा भने माओवादी केन्द्रको बैठकमा छलफल भए नभएको बारे केही बताइएको छैन ।
नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायतका नेताहरुले समेत एमसीसीलाई पठाइएको पत्र तत्काल सार्वजनिक गर्न जोडदार माग गरेका छन् ।































