
विप्लव नेकपाद्वारा आयोजित काठमाडौंको एक कार्यक्रममा राजावादी वकिल डाक्टर सुरेन्द्र भण्डारीले विप्लवलाई हस्तान्तरण गर्दै गरेको पृथ्वीनारायण शाहको फोटो मैले सामाजिक सन्जालमा पोष्ट गरेको थिए । मैले यो प्रश्नलाई विश्वदृष्टिकोणसंग सम्वन्धित प्रश्न बताएको थिए । यस प्रश्नमा कमरेड विप्लवको दृष्टिकोण के हो ? यस सम्वन्धि बाहिर धारणाहरु छरपस्ट भइसक्दा समेत उहाँको यस सम्वन्धमा प्रष्ट दृष्टिकोण बाहिर आइसकेको छैन । यो विषयसंगको प्रश्नमा उहाँको आधिकारिक धारणा नआईकन हामीले विप्लव कमरेड र उहाँले नेतृत्व गरेको नेकपा सम्वन्धि ठोकुवा सहितको धारणा वनाउनु अलि हतारो हुनेछ भन्ने लाग्छ । तैपनि सामाजिक संजाल आज यहि फोटोको वरिपरि संकेन्द्रीत भइरहेको अवस्थामा कैयौं विषय र प्रसंगहरु सतहमा आउनुलाई स्वभाविक नै ठान्नु पर्दछ ।
यतिवेला नेपाली कम्युनिस्ट आन्दोलनमा यो फोटोको प्रसंगसंग जोडिएर तीनवटा मतहरु प्रतिनिधि मतको रुपमा आएका छन ।
पहिलो मत विप्लव नेकपासंग जोडिएका मान्छेहरूको मत, उनीहरुको अधिकांशको मत के रहदै आएको छ भने नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरे अब उनले गर्न बाँकी रहेको कार्यभार कमरेड विप्लवको काँधमा आयो भनेर सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको फोटो विप्लवलाई हस्तान्तरण गरेका हुन तसर्थ यसको विरोध गर्नु सहि हुदैन ।
दोस्रो मत विभिन्न पार्टी भित्र रहेका मध्यमार्गी चिन्तन बोकेका मान्छेहरूको मत, उनीहरुको मत अनुसार पृथ्वीनारायण नेपाल राष्ट्रका निर्माणकर्ता भएको कुरामा कसैले विमति राख्नु हुदैन । उनलाई सबैले आदर सत्कार र सम्मान गर्न सक्ने दृष्टिकोण वनाउनु पर्छ । र अग्रगमन स्वतन्त्रता र स्वाभिमानको पक्षमा आवाज उठाउदै आएकाहरुको हो ।
तेस्रो मत, जस अनुसार पृथ्वीनारायण शाह राष्ट्र निर्माता, एकताका प्रतीक नभएर इतिहासको एउटा कालखण्डमा पैदा भएका उच्च महत्वकाँक्षि क्रुर तथा हिंस्रक शाषक हुन जस्ले नेपालका थुप्रै स–साना स्वतन्त्र र सार्वभौम राज्यहरुमाथि बहुवलको आधारमा धावा वोले र उनिहरलाई दासतापुर्वक आफ्नो अधिनमा ल्याए जसको पक्षपोषण गर्नु न्यायसंगत हुदैन।
कम्युनिस्ट आन्दोलन बाहिर पनि यसको तिव्र बहस चलिरहेको संदर्भमा यसले कम्युनिस्ट आन्दोलनभित्र समेत प्रवेश पाएको यो विषयको बारेमा काफि मात्रामा बहस हुन जरुरी छ । मेरो बुझाईमा दोस्रो मध्यममार्गी बुझाईले त्यतिठूलो महत्त्व राख्दैन जता मावल ढल्किन्छ त्यतै आफ्ना मतहरु प्रकट गर्दछ। तर पहिलो र तेस्रो विचारले चाहिँ निकै ठूलो अर्थ राख्दछ। तसर्थ यस छोटो टिप्पणीमा दोस्रो मतको बारेमा टिप्पणी गर्न खासै जरुरी नठानेर पहिलो र तेस्रो मतको वारेमा चर्चा गर्ने प्रयत्न गरिने छ ।
प्रथमतः कम्युनिस्टहरूसंग मालेमावादी विश्वदृष्टिकोण हुन्छ । यसले राष्ट्र र इतिहासको निर्माता उत्पिडित तमाम जनसमुदायलाई ठान्दछ । राजा महाराजालाई नवीन इतिहासको बाधक ठान्दछ । त्यसको ठिक विपरीत सामन्तवादी तथा पुजीवादी दृष्टिकोणले व्यक्ति र शक्तिशाली पुरुषलाई ईतिहासको निर्माता जनताहरुको भाग्य विधाता र भविष्यको भाष्यकर्ता ठान्दछ । इतिहासप्रतिको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणले यसप्रकारको सामन्तवादी तथा पुजीवादीहरुको इतिहासप्रतिको गलत र भ्रामक धारणालाई पुराका पूरा खारेज गरिदिन्छ र जनतालाई सर्वाेपरि ठान्दछ । उपयुक्त प्रकारको मालेमावादी दृष्टिकोणवाट हेर्ने हो भने विप्लव नेकपाका मान्छेहरूको यसप्रकारको टिप्पणी र बुझाइ आधारभुत रुपमा गलत, भ्रामक र अधुरो रहेको कुरा दिनको घाम जस्तै छर्लङ्ग देखिन्छ ।
जहाँसम्म सुरेन्द्र भण्डारीले कमरेड विप्लवलाई हस्तान्तरण गरिएको पृथ्वीनारायण शाहको फोटोको प्रसंग छ, अतिथिको रुपमा मन्चमा आसिन गराइएका राजावादीले दिएको उपहार लिनु उनको बाध्यता हुने कुरालाई अन्यथा मानिरहनु नपर्ला । साथीहरूले यहि भने आकासै खस्ने कुरा केही पनि देखिदैन । तर त्यस घटनावाट आफु वच्नका लागि कमरेड विप्लवलाई सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको उत्तराधिकारी बन्न सुझाव दिदै उपहार लिएको बताएर व्याख्या गरिनु चाहिँ कमरेड विप्लवको आजसम्मको वलिदानीपूर्ण इतिहासको राजनीतिक हत्या गर्नु बाहेक अरु केहि देखिदैन । किन कि नेपाली जनताको वलिदान संघर्ष र क्रान्तिले पृथ्वीनारायण शाहका उत्तराधिकारी पुस्ताको औचित्यलाई महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलन मार्फत समाप्त पारिसके जुन संघर्षको एउटा कमान्डर स्वयं कमरेड विप्लव हुनुहुन्थ्यो ।
यो कुरा विप्लव नेकपाका साथीहरूले भुल्नु आफु र आफ्नै गौरवपूर्ण इतिहासमाप्रतिको भद्दा मजाक बाहेक अरु केही पनि हुन सक्दैन। किन कि पृथ्वीनारायण शाहको राजनीतिक दर्शनको परम्पराको निरन्तरताम आउने उत्तराधिकारी ज्ञानेन्द्र पछि विप्लव होइन पारस हो भन्ने सामान्य कुरा बुझ्नु पर्दछ । हो, डा. सुरेन्द्र भण्डारीहरु आज पनि अपदस्त भई इतिहास बन्न पुगेको दरवारको हण्डि खाएर यहि प्रक्रियामा लगातार खटिरहेका छन ।
जहाँसम्म पृथ्वीनारायण शाहको मुल्यांकनको प्रश्न छ, त्यो जे हो त्यसैमा आधारित हुन जरुरी छ । वस्तुतः पृथ्वीनारायण शाहले नेपालको एकिकरणको अभियान चलाएका थिएनन। उनले गोरखा राज्यको विस्तार गरेका हुन र यहि क्रममा कतिपय छलकपटले त कतिपय सैन्यवलका आधारमा कमजोर र साना स्वतन्त्र राज्यहरुमाथि जबर्जस्त युद्ध थोपरेर आफ्नो राज्य विस्तार गरेका थिए। जसरी भारतीय विस्तारवादले सिक्किम, तेलङ्गना लगायतका राज्यहरुको सार्वभौम कब्जा गरेको थियो । साना विकासउन्मु र कमजोर मुलुकहरुमाथिको हस्तक्षेप र उनीहरुमाथि थोपरिएको दासतालाई एकिकरणको संज्ञा दिनु सत्तासिन वर्गको इतिहासको रैती बन्नु मात्र हो ।
आज हामीले जुन भुभागलाई नेपाल भन्दैछौं, इतिहासमा त्यो नेपाल थिएन । स्वयं पृथ्वीनारायणको राज्यभिषेक भएको गोरखा राज्य पनि नेपाल होइन । उनलाई मल्लहरुले चलाएको नेपाल राज्य मन परेपछि गोरखाको पहिचान मेटाउने काम गरेर स्वयं गोरखा राज्यलाई पनि राजकीय महत्काँक्षाको सिकार बनाएका हुन। अझ शाषक हुने लोभमा आफ्नो मात्रिभुमि गोरखा लाई समेत काठमाडौंको दसत्ता लाद्न र विभेद गर्न तयार हुने राजा हुन पृथ्वीनारायण शाह ।
गोर्खा राज्यको विस्तार हुनुभन्दा पहिला ऐतिहासिक हिसावले नेपाल भन्दा ठूलाठूला राज्यहरु विद्यमान थिए । पश्चिमको खस राज्य मात्र नभएर साम्राज्य थियो । नागराजाले सुरु गरेको राज्यलाई उनका सातौ पुस्ताका राजा अशोक मल्लको पालामा आउदा खस साम्राज्य भनियो । जुन सिंजाबाट (आजको नेपाल सहित भारतका मगध देखि कामरुसम्मको विशाल भसभागसम्म फैलिएको थियो) शासन गरिन्थ्यो । जनकपुर राजधानी भएको विदेह( मिथिला) राज्यमा भारतको विहारका अधिकाँश भुभागहरु समेटिएका थिए ।
त्यस्तै पुर्वी(किराँत) लिम्वुवान राज्य अहिलेको पश्चिम बंगाल राज्यका थुप्रै पहाडी भुभाग सम्म फैलिएको थियो। अझ कोचिला राज्यको त राजधानी नै रंगालीमा पर्दथ्यो । इतिहासमा ती राज्यको पहिचान र सार्वभौमको प्रश्न कस्ले उठाउने ? सायद ती राज्यहरु काठमाडौंको दासताको जंजीरमा नबाधिएको थिए भने आफ्नो मात्रिभुमिको रक्षा गर्न आफै सक्षम हुने थिए होलान भन्न सकिन्न र ? जसरी आज बंगालदेश र पाकिस्तान बेलायती उपनिवेशको दलदलभित्रवाट स्वतन्त्र राष्ट्रमा बदलिन सक्षम बने। किन कि विजेता राज्यलाई अपदस्त राज्यको भुमिप्रति जसरी माया हुदैन त्यसरी नै पराधिन र दासत्तामा बाच्न विवस पारिएका जनताहरु पनि स्वाभिमानको मुक्त संघर्षमा विजेता बन्न सक्दैनन । आजको आधुनिक नेपालका थुप्रै तत्कालीन अस्तित्वमा रहेका राज्यहरुको भुभाग जोगिन नसक्नुको एउटा महत्त्वपूर्ण कारण यस्लाई पनि मान्न सकिन्न र ?
यहाँ अर्काे जान्नुपर्ने सवाल के छ भने पृथ्वीनारायण शाहले एकिकरणको भावनाले गोरखा राज्यको विस्तार गरेका होइनन। कमजोर राज्यहरुमाथि जबर्जस्त थोपरिएको युद्ध जीतमा परिणत हुँदै जाँदा अहिलेको नेपाल कायम रहेको हो। उनले वि. स. १८१८ देखि १८३१ सम्मको आफ्नो शासनकालमा गोरखावाट काठमाडौं उपत्यकाका साथै नुवाकोट र मकवानपुर सम्म जित हासिल गरेका थिए । उनको मृत्यु पश्चात् उनका नाति रण बहादुर शाहको नायवी लिएको बेला कान्छा छोरा बहादुर शाहले चतु¥याइँ र सहासपुर्वक पुर्वको टिष्टा र पश्चिमको काङ्गडा सम्म अभियान पुर्यएका थिए। पछि बहादुर शाह दरवारभित्रको षड्यन्त्रको शिकर भएर मारिएपछि अंग्रेजसंगको युद्ध शाह बंसको योजना बाहिर बाघ भिमसेन थापा, अमरसिंह थापा, दामोदर पाण्डे , भक्ति थापा र बलभद्र कुवँरहरुले लडेका थिए। उनीहरुको यो स्वाभिमानको लडाइँमा पुर्ववत राज्यका सम्पूर्ण जनता सामेल भएर युद्धमा लडिरहेका थिए। यहि बेला नाति भिमसेन थापालाई हातमा लिएर शाह वंशीय राजाले अंग्रेज संग सुगौली सन्धि गर्न पुगे ।
सुगौली सन्धिको विरोध गर्न प्रतिबन्ध लगाएर शाहवंशीय शासकहरु अंग्रेज शासकसामु आत्मसमर्पण गर्दा उनीहरुका प्रतिनिधिहरुले नेपालको समग्र तराईलाई समेत छोडेर सम्झौता गरि खस, विदेह, कोच र लिम्वुवान राज्यका जनतामाथि गद्दारी गरेर त्यहाको अधिकांश भुभाग अंग्रेज शाषकको पोल्टामा हालिदिने काम गरे । सुगौली संधिको केही समय पछि जनतामा पैदा हुँदै गएको रोष कम गर्न पुर्वी तराईका केही जिल्ला र जंग बहादुरको पालामा पश्चिम नेपालका पाँच जिल्ला नेपाललाई दिन अंग्रेज शाषक बाध्य भए । तैपनि ती प्राप्त गरेका भुभागको कैयौं गुणा बढि भुभाग यहाँका तत्कालीन शाहवंशीय साशकहरुका कारण गुमेको प्रष्ट देख्न पाइन्छ । यस्तो किन भयो भने शाहवंशीय शाषकलाई काठमाडौं वाहेकका राज्यको कुनै माया थिएन भने ती राज्यका जनतालाई स्वाभिमान र मुक्ति युद्ध गरेर आफ्नो मात्रिभुमिको रक्षा गर्ने कुनै अधिकार थिएन। शाहवंशीय शासनको असलियत खास अर्थमा यहि हो ।
हामीले अहिले बुझ्नैपर्ने कुरा के हो भने, आजको नेपालका बहुसंख्यक नेपाली जनता समयक्रममा नेपाली बनाइएका र त्यसपछि नेपाली भएका हुन । यसरी नेपाली बन्दै जाने क्रममा हामीलाई नेपाली भन्न गर्व लाग्न थाल्यो र आज हामी नेपालीको नामले आफ्नो परिचय दिने ठाउँमा उभिएका छौ। यो परिचयलाई फेर्नु पर्छ आज कसैले भनेको छैन फेर्ने पक्षमा पनि कोहि छैन । शासकहरुको कारण जति रित्तिनु परेपने नेपाल र नेपाली भनिने पहिचान हाम्रो लागि दासनुबृतिकै मार्गवाट भएपनि गौरवशाली बन्न पुगेको छ यतिबेला । तर यो चिजप्रतिको हाम्रो आजको भावनाले पैदा गरेको गौरबको जस पृथ्वीनारायण शाहलाई दिइनु ईतिहास प्रतिको भद्दा मजाक मात्रै हुन्छ। यसको जस त उत्पिडनमा परेका र दासनुभावले थलापरेका देशका तमाम उत्पिडित वर्गको विचमा पैदा भएको भावनात्मक सम्वन्धले पैदा गराएको पहिचान भएको कारण यसको जस लिने पनि समग्र न्यायप्रेमी जनसमुदाय मात्र हुन सक्छन ।
अन्तमा जहाँसम्म आज राजावादीको भुमिकाको प्रश्न छ, त्यो निकै खतरनाक छ। यहाँ बुझ्नुपर्ने कुरा के छ भने दलाल संसदीय व्यवस्था गलत छ त्यो साँचो कुरा हो र यसको विरोध गर्नु पर्छ त्यो झन साँचो हो । तर यो व्यवस्थाको विरोध गर्ने सबै ठिक छैनन त्यो पनि उत्तिकै साँचो कुरा हो। यहाँ एकथरी अग्रगामी राजनीतिक रुपान्तरण सहित नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जानको लागि यो व्यवस्थाको विरोध गरिरहेका छन भने अर्काथरी “राजा आऊ देख बचाउ“ भन्ने नारासहित पुनः उत्थानवादी सोचका साथ यो व्यवस्थाको विरुदमा लागिरहेका छन। हामीले प्रतिगामीहरुवाट यो व्यवस्थाका उपलब्धिलाई बचाउदै नयाँ व्यवस्थाको लागि वर्गसंघर्षमा सहभागी हुन आवश्यक छ। । किन कि अग्रगामी शक्तिहरुको संसदवादमाथिको विजयले मात्रै नयाँ जनवाद र वैज्ञानिक समाजवादको जित सुनिस्चित हुन सक्छ ।
जहाँसम्म डाक्टर सुरेन्द्र भण्डारीको प्रश्न छ उनी र बालकृष्ण न्यौपाने मिलेर राजतन्त्र पुनस्र्थापनाको लागि भनेरै उनीहरूले “नेपालका लागि नेपाली अभियान“ नामक राजनीति संगठन खोलेका हुन । जति नटकिय कुरा गरेपनि प्रतिगामीहरु देशभक्त हुदैनन भन्नेकुरा विगतका उनीहरुका राष्ट्रघाती हर्कतहरुवाट पनि छर्लङ्ग हुन्छ । यो स्थितिमा विप्लव नेतृत्वको नेकपाले यति महत्वका साथ उनलाई आफ्नो कार्यक्रमको मन्चमा किन स्थान दियो भन्ने प्रश्न चाहिँ अहिलेको निकै चासोसंग जोडिने प्रश्न हो । किन कि हामीसँगै सहकार्य गरिरहेका कैयौं ःएमसीसी विरोधी संगठनहरु पनि अस्तित्वमा हुदाहुदै उनीहरुको सट्टा कट्टर राजावादी संगठनलाई महत्त्वका साथ मन्चासिन गराउने कुरालाई सामान्य अर्थमा मात्रै बुझ्ने कम्जोरी गर्नु उपयुक्त नहोला ।
तर पृथ्वीनारायण शाहको फोटो यति महत्त्व र सम्मानका साथ मन्चमा अतिथिको रुपमा वोइसकेपछि उसले दिएको उपहारलाई घोषित रुपमा बहिष्कार गर्न अफ्ट्यारो हुनुलाई स्वभाविकै ठान्दा होला कि !! तसर्थ बहस अथिथिले ल्याएको उपहार थाप्नुपर्ने बाध्यात्मक विषयलाई नबनाउँ। बरु यी प्रतिगामी र राजावादीसंगको विप्लव कनेक्सन र त्यससंग जोडिएको राजनीतिक उदेश्य के हो ? खोज अनुसन्धान र बहस त्यतातिर लैजाउँ । त्यो सत्य होइन रहेछ भने राम्रै भैहाल्यो, यदि हो रहेछ भने पनि राजनीतिमा स्पष्टताको ठूलो महत्त्व हुन्छ । धन्यवाद !!
