काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियन च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झाैता संसदको आउँदो अधिवेशनबाटै पारित गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका छन् ।
मंगलबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए। यसअघि एमसीसी धेरै विवादित भएको र गठबन्धनमा यसप्रति फरक धारणा राख्ने दलहरु सामेल भएकाले तत्काल एमसीसीलाई अघि नबढाउने सहमति नेताहरुबीच भएको भनिए पनि पछिल्लो समय देउवाले अमेरिकाको चाहनामा गठबन्धनका नेताहरुलाई दबाब दिएर एमसीसी पारित गराउन खाेजेका छन् । एमसीसी सम्झाैता संसदबाट पारित गराउनकै निम्ति देउवाले ओलीसँग समेत मन्त्री ज्ञानेन्द्र कार्की मार्फत् छलफल गरेका छन् ।
“प्रधानमन्त्रीजीले बिहान गठबन्धनको बैठकमा एमसीसी पारित गर्नुपर्ने भयो, मलाई दबाब आयो भन्नुभयो,’ गठबन्धनका एक नेताले भने, ‘हामीले नमानेपछि साँझ उहाँले ओलीलाई भेट्न ज्ञानेन्द्र कार्कीजीलाई खटाउनुभयो।’
गठबन्धनको बैठकमा पनि अहिले एमसीसी पारित गरिए त्यसको राम्रो सन्देश नजाने निष्कर्ष निस्किएपछि दलहरु मौन थिए। तर, सेप्टेम्बर दोस्रो साता एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने डेढ महिनाअघि नै तय भइसकेको थियो। उनी नेपाल आउने भएपछि देउवाले एमसीसी पारित गराउन थप दबाब महसुस गरेका छन् ।
संसदबाट एमसीसी अनुमोदन गराउने विषयमै छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए।
जवाफमा ओलीले संसदमा विधेयक पारित गर्न पुग्ने संख्या गठबन्धनसितै भएको जवाफ दिएका थिए। ओलीलाई भेट्न जानुअघि कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटेका थिए।
यसैबीच, एमसीसी उपाध्यक्ष फातिमा सुमार आउँदो साता नेपाल आउँदैछिन्। नेपालमा एमसीसी परियोजनाको स्थिति बुझ्न उनी नेपाल आउन लागेकी हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै फातिमा नेपाल आउने तय भएको थियो।  नेपालमा एमसीसी सम्झाैता राष्ट्रघाती रहेकाे भन्दै चाैतर्फी रुपमा तीव्र विराेध भइरहेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर