११ भदौ÷काठमाडौं, नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा बहुचर्चित जनगायक जेवी टुहुरेको हिजो निधन भएको छ । उनी विगत केही महिनादेखि गम्भीर विरामी भई काठमाडौंको बयोधा हस्पिटलमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा हिजो टुहुरेले यस धर्तीबाट सदाका लागि बिश्राम लिए ।

उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घले वक्तव्य जारी गरेको छ । सङ्गठनका महासचिव हिरामणि दुःखीद्वारा जारी वक्तव्यमा भनिएको छ – ‘नेपालको माक्र्सवादी सांस्कृतिक आन्दोलनका एक जना हस्ती, कम्युनिस्ट आन्दोलनमा निष्ठा पूर्वक अविच्छिन्न रुपमा जनताका गीतहरू गाउँदै समाज रुपान्तरणको अभियानमा विगत तीसको दशकदेखि कृयाशील जनगायक जे.वी.टुहुरे (जुठबहादुर खड्गी)को हिजो भदौ १० गते उपचारकै क्रममा काठमाडौंमा भएको दुःखद निधनले हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ दुःखित र स्तब्ध भएको छ । शोकको यस घडीमा मृतक जेबी टुहुरेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।’

जेवी टुहुरेले नेपालको कम्युनिस्ट आन्दोलनलाई उत्पीडित वर्गका जनताको झुपडीमा पु¥याउन खेलेको भुमिका अमूल्य छ । उनले गाएका जनगीतहरुमा ‘बसाइँ हिँड्ने ताँतीले’, ‘आमा दिदी बहिनी हो’ आदि गीतहरु कालजयी छन् ।

thumbnail of Statment for JB Tuhure

प्रतिक्रिया

सम्बन्धित खवर