काठमाडौं । सरकारकाे गृह मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।
समितिलाई घटनाको अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।
यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका छन्।
घटनाका प्रत्यक्षदर्शीका अनुसार भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) का जवानले तुइन काटिदिँदा धामी बेपत्ता भएका हुन्।
उनको खोजी जारी छ भने सो कार्यमा संलग्न भारतीय एसएसबीमाथि कारबाहीका लागि पहल गर्न सरकारमाथि चौतर्फी दबाब बढेको छ।































