
श्रावण १२ काठमान्डौ ।
नेपालमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार आठ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार तीन हजार चार सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि लामो समय तीन हजारभन्दा कममा मात्र दैनिक संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणमा दुई हजार सात सय २६ र एन्टिजेन परीक्षणमा एक हजार एक सय ७३ जनामा संक्रमण देखिएको छ ।
यो अवधिमा १२ हजार ६ सय ५५ जनाको पिसिआर परीक्षण र चार हजार आठ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
मंगलबार एक हजार सात सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार सात सय ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
