सप्तरीमा छ सयभन्दा बढी घर डुबानमा

प्रकाशित मिति : २०७८ श्रावण ६


सप्तरी । अविरल वर्षाका कारण खोलाहरूमा बाढी आउँदा मंगलबार सप्तरीका आधा दर्जन पालिकाका बस्ती डुवानमा परेका छन् । त्रियुगा नदीसँगै सहायक खोलानालामा आएको बाढी चन्द्रनहरको बाँध भत्काएर आसपासको बस्तीमा पसेको थियाे । सप्तकोसी, कञ्चनरूप, तिरहुत र महादेवाका विभिन्न भागमा बाढी पस्दा करिब ६ सय घर डुबानमा परेका छन् ।
जिल्लाकै अमहा, टेंग्रालगायतका खोलाको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका करिब ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख उत्तम गौतमका अनुसार १, २, ४ र ११ नम्बर वडाका बस्ती जलमग्न भएका हुन् । ३ फिटसम्म पानी बगिरहेको उनले बताए । जिता नदीको पानी सप्तरीकै तिलाठी कोइलाडी–७ मंसापुर र वडा ५ को बरसाइनका केही घरमा पसेको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहका अनुसार करिब २ सय ७५ घर डुबानमा परेका छन् । वर्षाको पानीले निकास नपाउँदा वडा ८ को तोपामा २५ घर डुबानको चपेटमा परेका छन् ।
लगातारकाे बर्षाका कारण २ नं. प्रदेशका अन्य जिल्लाका बस्तीहरु पनि डुबानमा परेका छन् ।