१५ लाख अमेरिकी अनुदान खोप काठमाडौं आइपुग्यो

१५ लाख अमेरिकी अनुदान खोप काठमाडौं आइपुग्यो


काठमाडौं । अमेरिकाले अनुदानमा दिएको कोरोनाविरुद्ध खोपका १५ लाख डोज काठमाडौं आइपुगेको छ ।

जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत् सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

कतार एयरवेजको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप झारेपछि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

अमेरिकी सरकारले उपहारस्वरूप दिएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षसम्मका नागरिकलाई लगाउने तयारी गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।

अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप एक मात्रा मात्र लगाए डोज पुग्ने बताइएको छ ।
यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ ।

गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन । विज्ञहरूका अनुसार पलिसार्बेटबाट एलर्जी भएकाहरूले अस्ट्राजेनेका वा जेन्सेनको खोप लगाउनु हुँदैन ।