भारतले कपिलवस्तुको यशोधरा–५ स्थित सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधले डुबाएको धान खेत

२५ असार कपिलवस्तु —
भारतले कपिलवस्तुको यशोधरा–५ स्थित सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधले चार गाउँका सयौ विघा धान खेत डुबान छन् । भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधले यशोधरा गाउँपालिकाका चार गाउँका कृषकको धानबाली डुबानमा परेको छ । यसले कृषक समस्यामा छन । बाँधको १५ फाटकमा एक मिटर चौडा डेढ मिटर लम्बाइको मोटामोटा सालको पटरा राखेर पानी छेकेको छ । पटराले ढोकाको काम गरेको छ । यसले पानीजति नेपालतिर फर्कंदा रोप्दै गरेको धानबाली डुबेको हो ।
यशोधरा गाउँपालिका–५ भगवानपुरका लालजी यादव आफ्नो ९ बिघा खेत खुट्याउन सक्दैनन् । ‘चारैतिर पानीपानी छ,’ उनले भने, ‘धान डुबेर देखिँदैन ।’ गत सोमबार मात्रै उनले रोपाइँ सकेका थिए । तीन दिनसम्म सात जना कामदार लगाएर रोपेका थिए ।
सीमा क्षेत्रबाट ३ सय मिटरको दूरीमा बाँध छ । २०५९ सालदेखि भारतको सिद्धार्थनगर जिल्ला, थाना सोहरतगढअन्तर्गत महली गाउँमा भारतले बनाउन लागेको १५ ढोके बाँध नेपाली पक्षको विरोधका कारण पूरा हुन सकेको छैन । सातायतादेखि दैनिकजसो पानी परिरहेको छ । बाँधको ढोकामा काठको पटरा लगाइदिएपछि मंगलबार साँझबाट सीमामा रहेको सागरमा पानी जम्मा हुन थालेको हो । बिस्तारै पानी बढ्दै गएर बुधबारबाट भर्खर रोपेको धान डुब्न थालेको कृषक सन्तराम केवटले बताए । भगवानपुर, रंगपुर, भैइसहिया र लोहरौली गाउँको एक सय हेक्टरभन्दा बढी खेतमा रोपिएको धानबाली डुबेको छ । ‘बिहीबार पानी बढ्दै गएको छ,’ कृषक केवटले भने, ‘रोपेको धान देखिनै छोड्यो ।’ धान डुबाउँदा खर्च र मिहिनेत सबै काम नलाग्ने भयो ।
सन् १९०१ मा नेपालको सहमतिमा बनाइएको पुरानो पाँचढोके बाँधको मर्मतका नाममा भारतले सधैं त्यो बाँधको मर्मतसम्भार गरेको भनेर नयाँ बाँधको संरचना निर्माण गर्दै आइरहेको छ । बाँधको विषयलाई लिएर जब बढी विवाद हुन्छ अनि बाँधको मर्मतसम्भार भनेर भारतले आफ्नो भनाइ अगाडि ल्याउँछ । अहिले महलीसागरमा सन् १९०१ मा बनाइएको पुरानो पाँचढोके बाँध र २०५९ सालमा निर्माण थालिएको नयाँ १५ ढोके बाँध (ढोका मात्र राख्न बाँकी) संरचना छन ।
बाँध निर्माण थालेपछि नेपाली पक्षको तीव्र विरोध भएपछि बाँध निर्माण कार्य पूरा हुन पाएको छैन । बाँध सदरमुकाम तौलिहवादेखि करिब १० किमि दक्षिणमा पर्छ । बाँध स्थलमा एसएसबीको सुरक्षा छ । डुबान समस्या समाधान गर्न भारतीय समकक्षी सिद्धार्थनगरका डीएमलाई आग्रह गरेको प्रजिअ चक्रपाणि पाण्डेले बताए । समस्या समाधान गर्न प्रशासनलाई आग्रह गरिएको यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले बताए । ‘द्विदेशीय कुरा भएकाले माथिल्लो स्तरबाट समाधान खोज्नुपर्छ,’ उनले भने, ‘पीडितलाई गाउँपालिकाबाट हुन सक्ने राहत दिनेछौं ।’
नेपालबाट हुने हरेक उच्चस्तरीय भ्रमणका बेला बाँध पीडितले समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र दिने गरे पनि दुई दशक भइसक्दा पनि समस्या समाधान नभएको स्थानीय सन्तराम केवटले गुनासो गरे । ‘मुलुकमा नयाँ प्रधानमन्त्री बन्नासाथ भारत भ्रमण गर्ने चलन छ,’ उनले भने, ‘त्यसैको पूर्वसन्ध्यामा भ्रमणमा जाने प्रधानमन्त्रीलाई समस्या समाधान गर्न ध्यानाकर्षणका लागि प्रशासन कार्यालय पुग्ने गर्छौं ।’ तर, अहिलेसम्म सुनुवाइ नभएको उनले बताए । ‘कतिपटक प्रशासनमा समस्या समाधान गर्न ज्ञापनपत्र दिइयो सम्झना छैन,’ स्थानीय हरिलाल यादवले भने, ‘बाँधकै स्थलगत अवलोकन गर्न आउने मन्त्री र नेताको ध्यानाकर्षण पनि गरायौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर