सडकमाथिबाट खसेको ढुंगाले किचेर २ जनाको मृत्यु

सडकमाथिबाट खसेको ढुंगाले किचेर २ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले किचेर २ जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बताए अनुसार पहिरोले ट्रकमै सवार अर्का एक जना सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल छन् । खड्काका अनुसार भारत घर भएकी ४३ वर्षीया सोनी देणणवीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उनलाई गण्डकी अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको थियो ।

जिप्रका धादिङका अनुसार पहिरोले ५ वटा गाडीमा क्षति पुर्‍याएको छ । बा१२ च ७१५६ नम्बरको म्याजिक, ना७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए०१२० नम्बरको भारतीय ट्रक, बा१ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पुर्‍याएको छ ।
बिहान केहीबेर राजमार्ग अवरुद्ध बनेको थियो । अहिले एकातर्फी खुलेको र पहिरो हटाउने कार्य भइरहेको प्रहरी कार्यालयले जनाएकाे छ ।