
बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले मङ्गलबार बिहान पेइचिङको ग्रेट हल अफ द पिपुल्समा आयोजित एक समारोहबीच चिकपाका विशिष्ट सदस्यहरूलाई ‘जुलाई १ पदक’ प्रदान गरे । चीनका राष्ट्रपति र केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहेका सीले पदक पाउने विशिष्ट सदस्यहरूलाई पदक प्रदान गर्दै हात मिलाएर फोटो खिचे ।
चिनियाँ बाल पायोनियरका सदस्यहरूले पदक पाउने व्यक्तित्वहरूलाई पुष्प गुच्छा प्रदान गरेका थिए ।
समारोहमा राष्ट्रपति सीले ‘जुलाई १ पदक’ पाउने व्यक्तिहरूमा चिनियाँ कम्युनिस्टहरूको गुण र आफ्नो विचारप्रति प्रतिबद्ध रहने भावना निहीत रहेको बताएका थिए ।
“विचारप्रति बलियो निष्ठा राख्नु मूलभावनाप्रति इमानदार र समर्पित रहनु हो । त्यसको निम्ति आफ्नो अमूल्य जीवन पनि त्याग्नुपर्ने हुनसक्छ । पार्टीको लागि, जनताको लागि ।”
गरिब परिवारका छोरीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको एउटा माध्यमिक विद्यालयका प्रधानाध्यापक चाङ कुईमेईले पदक पाउने व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै समारोहमा बोलेका थिए ।
चिकपाको १०० औँ स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका २९ जना व्यक्तिहरूलाई ‘जुलाई १ पदक’ दिइएको हो । युद्धनायक, वैज्ञानिक, सामुदायिक कार्यकर्ता, कलाकार, कूटनीतिज्ञ, राष्ट्रिय एकताका अग्रदूत, शिक्षक र प्रहरीलाई उक्त पदकबाट सम्मानित गरिएको थियो । सम्मानित व्यक्तिहरूमध्ये तीन जनाको निधन भइसकेको छ ।
दस वर्षसम्म तिब्बती पठारमा आफ्नो जिम्मेवारी सम्हालेका र सन् २०२० को जूनमा गलवान उपत्यकामा भारतीय सेनासँगको तनावमा चीनको भौगोलिक अखण्डता रक्षाको क्रममा जीवन गुमाएका चेन होङचुनलाई पनि सो पदकले सम्मानित गरियो ।
विपन्न परिवारका छोरीहरूलाई निःशुल्क शिक्षा दिएर धेरै छात्राहरूलाई विश्वविद्यालयसम्म पु¥याउने शिक्षक चाङ कुईमेई पनि सम्मानित व्यक्तिहरूमध्ये थिए । चीनको मुक्ति युद्ध (सन् १९४६–१९४९) मा याङ्जी नदी तर्ने अभियानमा विशिष्ट योगदान गरेकी युद्धनायिका मा माओचेलाई पनि ‘जुलाई १ पदक’बाट सम्मानित गरियो । उनले गोलाबारुदबीच ६ पटकसम्म सो नदी तरेर जनमुक्ति सेनाका तीन वटा एकाइलाई सफलतापूर्वक नदी तर्न मद्दत गरेकी थिइन् । आफ्नो हातमा गोली लाग्दा पनि उनी आफ्नो कर्तव्यमा दत्तचित्त भएर लागेकी थिइन् । त्यत्तिबेला उनी १४ वर्षकी थिइन् ।
त्यस्तै चीनको दक्षिण चीन सागरमा नान्शा टापु बनाउन सहभागी बनेका, दक्षिण चीन सागरमा चीनको वैधानिक अधिकार रक्षाको निम्ति नागरिक लडाकु गठन गर्ने र मृत्युको डर नमानी चीनको भौगोलिक अखण्डता र समुद्री अधिकार स्थापनामा दृढतापूर्वक लाग्ने वाङ शुमाओलाई पनि सम्मानित गरियो ।
सन् १९५०–५३ सम्म भएको कोरिया युद्धलगायत धेरै वटा लडाइँमा सामेल भएका युद्धवीर वाङ चानशानलाई पनि ‘जुलाई १ पदक’ बाट सम्मानित गरियो । उनले आफ्ना सहयोद्धाहरूको नेतृत्व गरेर कुमसोङको लडाइँमा ३८ पटक दोहोरो भिडन्तमा थिए । ४ सत्र्न्दा बढी शत्रुलाई पराजित गरेर उनीहरू त्यहाँ चार रात–दिन लडेका थिए ।
त्यस्तै चीनको ‘दुई वम र दुई भूउपग्रह’ योजनामा महत्वपूर्ण योगदान दिने लु युआनचुइलाई पनि सो अवसरमा सम्मानित गरियो । उनले विदेशमा अध्ययन गरेको भए पनि आफ्नो मातृभूमि सङ्कटमा पर्दा सेवाको लागि चीन फर्केका थिए ।
उत्तरपश्चिम चीनको सिन्च्याङ उइगुर स्वशासित क्षेत्रमा धार्मिक अतिवादी शक्तिसँग लड्न नेतृत्वदायी भूमिका खेल्ने मेमेतजान उमेरलाई पनि सो पदकबाट सम्मानित गरियो । धेरै पटक ज्यान लिने धम्कीको सामना गरेर पनि उनले चीनको भौगोलिक एकताको पक्षमा लडेका थिए ।
चीन र अफ्रिकाबीच सम्बन्ध, मित्रता र सहकार्य प्रवद्र्धनमा विशिष्ट योगदान गरेका विगत चालीस वर्षदेखि अफ्रिकामा कार्यरत पूर्वराजदूत लिउ कुइलाई पनि उनको योगदान बापत कदर गरियो ।
जुलाइ १ पदक चिकपा केन्द्रीय समितिले प्रदान गर्ने सबभन्दा सर्वोच्च पदक हो । चिकपाको स्थापना दिवसको अवसर पारेर हरेक पाँच वर्षमा यो पदक दिने व्यवस्था छ ।
