भारतले अघिल्लो हप्ता बुधबार मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को ४० संक्रमितमा डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखिएको बताएको छ । यससँगै सरकारले राज्यहरुलाई परीक्षण बढाउन निर्देशन पनि दिएको छ । यसलाई डेल्टा प्लस नाम दिइएको छ । यसले विस्तारै घट्दै गएको कोरोनाको संक्रमण पुनः बढ्नसक्ने आशंका गरेको छ ।
कोरोनाविरुद्ध अहिले मानिसलाई दिइएको खोपलाई पनि छल्दै यो भेरियन्टले संक्रमित बनाउन सक्ने आशंकाको कारण डेल्टा प्लसको संक्रमणप्रति चासो बढेको छ ।
के हो डेल्टा प्लस भेरियन्ट ?
डेल्टा प्लस भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टबाटै म्युटेट भएको भेरियन्ट हो । यसलाई एवाई १ नामले पनि चिनिन्छ । पहिलोपटक गत अप्रिल ११ मा यो भेरियन्ट भारतमा देखिएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यो भेरियन्टमा दक्षिण अफ्रिकामा भेटिएको बिटा भेरियन्ट पनि देखिएको छ । जसको कारण वैज्ञानिकहरुले डेल्टा प्लस भेरियन्ट अझै संक्रामक हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिटा भेरियन्टले मानिसको प्रतिरोधी क्षमताबाट बचेर मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यो चासोको विषय रहेको बताएको छ ।
बिटा भेरियन्ट मानिसको प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्ने भेरियन्टको रुपमा चिनिएको भारतका वरिष्ठ संक्रामक रोग विशेषज्ञ शाहिद जमील बताउँछन् ।
अहिलेसम्म कहाँ–कहाँ देखियो डेल्टा प्लस ?
जुन १६ सम्मको तथ्यांक हेर्ने हो भने कम्तीमा दुई सय संक्रमितमा डेल्टा प्लस भेरियन्ट देखिएको छ । जसमध्ये बेलायतमा ३६, क्यानडामा १, जापानमा १५, पोल्याण्डमा ९, पोर्चुगलमा २२ , रुसमा १, स्विट्जरल्याण्डमा १८, टर्कीमा १ र अमेरिकामा ८३ संक्रमितमा यो भेरियन्ट देखिएको छ । नेपालमा ९ जनामा यो भेरियन्ट देखिएको पुष्टि भइसकेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले बुधबार थप ४० जनामा यो भेरियन्टको संक्रमण देखिएको बताएको छ । भारतको महाराष्ट्र, केरला र मध्यप्रदेशमा यो भेरियन्टको संक्रमण देखिएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले भने यो भेरियन्टको संक्रमण त्यति ठूलो मात्रामा नफैलिएको पाइएको बताएको छ ।
अहिलेसम्म यो भेरियन्ट विश्वका ८० मुलुकभन्दा धेरैमा फैलिएको बीबीसीले उल्लेख गरेको छ ।
जोखिम कस्तो छ ?
अहिले डेल्टा प्लस भेरियन्टविरुद्ध कोरोना खोपले कत्तिको काम गर्छ भन्ने विषयमा भारत र विश्वभर अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसलाई पनि डेल्टा भेरियन्टकै एक भागको रुपमा लिइएको बताएको छ । अहिलेको अवस्थामा यो भेरियन्ट सामान्य नदेखिएको डब्ल्यूएचओको भनाइ छ । डेल्टाको कारण संक्रमण फैलिने दर धेरै हुँदा यसबाट हुने सार्वजनिक स्वास्थ्यको जोखिम पनि बढी रहेको डब्ल्यूएचओको भनाइ छ ।
भारतको स्वास्थ्य मन्त्रालयले भने यो भेरियन्टको संक्रमण देखिएको स्थानमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु जरुरी रहेको बताएको छ ।
नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन
नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो ।
‘देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिंगलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको उक्त प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएको थियो,’ उनले भने, ‘जसमध्ये ४७ जनामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट फेला परेको थियो ।’ डा. पौडेलका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको छ ।
यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो । नेपालबाट गएका र कोरोना संक्रमण भएकाहरुमा के ४१७ एन’ म्युटेसन भेटिएकै आधारमा उनीहरुले यो दाबी गरेका थिए ।
तर यसलाई नेपाल भेरियन्ट भन्न नमिल्ने धुलिखेल अस्पतालका डा. राजीव श्रेष्ठ बताउँछन् । उनका अनुसार यसअघि जापानी नागरिकमा पनि यो म्युटेसन देखिएको भन्दै उनले भने, ‘कहाँबाट आएको भनेर हामीलाई थाहा छैन । तर नेपाल भेरियन्ट भन्न सकिन्न ।’
हालसम्म प्राप्त जानकारी अनुसार यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।
नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।
एजेन्सीहरुको सहयोगमा

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार