
जेठ १८काठमाडौं ।
सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार, थारु कल्याणकारी सभा र थरुहट/थारुवान संघर्ष समितिबीच सहमति भएको हो ।
सहमतिअनुसार रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ । उनको मुद्दालाई कानुनसम्मत रुपमा किनारा लगाएर रिहाइको पहल हुने सहमतिमा उल्लेख छ । त्यसैगरी थरुहट/थरुवान आन्दोलनमा सहिद भएका परिवारलाई राहत, सहिद परिवारको व्यवस्थापन गर्ने र घाइतेको उपचार सरकारले गर्ने सहमति भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरीले हस्ताक्षर गरेका छन् भने संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्दप्रसाद चौधरीको हस्ताक्षर छ ।
