
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् ।
उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँग जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै संखुवासभामा बसेका थिए ।
शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाले जनाएकाे छ ।
सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेपछि लामा धरौटी तिरेर छुटेका हुन् ।
सरकार र विप्लव नेकपा बीच भएकाे तीन बुँदे सहमतिमा विप्लव समूहका नेता कार्यकर्तालाई लगाइएका मुद्दा खारेज गरि रिहा गर्ने उल्लेख थियाे । सहमति अनुसार ओली सरकारले नेता कार्यकर्ता रिहाइ नगरेपछि पटक पटक प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर विप्लवले दबाब दिए पनि सरकारले सुनुवाइ गरेकाे छैन । जसपाका नेता कार्यकर्ताहरुकाे मुद्दा खारेज गर्ने निर्णय गर्ने सरकारले विप्लवसँग गरेकाे सहमतिप्रति इमानदार देखिएकाे छैन ।































