गण्डकी प्रदेशमा संसदवादीहरुको सत्तास्वार्थका लागि नाटक एक, नौटंकी अनेक

गण्डकी प्रदेशमा संसदवादीहरुको सत्तास्वार्थका लागि नाटक एक, नौटंकी अनेक


काठमाडौं । सत्ता स्वार्थका लागि संसदीय व्यवस्थामा संसदवादी पार्टीहरुले के कस्ता नाटक र नौटंकी देखाउँछन् भन्ने कुरा गण्डकी प्रदेशसभामा देखिएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान गर्ने दिन अनेक नाटक र नौटंकीहरु भएका छन् । अविश्वासको पक्षमा मतदान गर्ने भनिएका सांसदहरु एकाएक हराउन पुगे । कोहीले फोन अफ गरेर सभामा अनुपस्थित भए ।


अविश्वासको प्रस्तावमाथिको मतदान लम्ब्याउन विभिन्न षड्यन्त्र मंगलबार देखि नै भएका थिए । सांसदलाई रिसोर्टमा राखेर चौरासी ब्यञ्जन खुवाइयो । त्यतिमात्र नभई बैठकमा एमाले सांसदले त सांसदको पीसीआर परीक्षण बिना बैठक सञ्चालन गर्न नहुने बताउँदै बैठक नै अवरुद्ध पारे ।


मंगलबार नै बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोनाको परीक्षण गरिने र कोरोना पुष्टि भएका सांसदले पनि मत दिन पाउने व्यवस्था गरिदियो । त्यसपछि बुधबार बसेको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रमुख सचेतक सांसद खिमविक्रम शाही विरामी भएको भन्दै अनुपस्थित भएपछि कांग्रेस र माओवादीले पेस गरेका अविश्वास प्रस्ताव पारित नहुने निश्चित हुन पुग्यो ।

शाही बेपत्ता भएको भन्दै जनमोर्चाकै सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेश सभा बैठकको कारवाही रोक्न निवेदन दिइन् । उनले निवेदन दिए लगत्तै सभामुख नेत्रराज अधिकारीले एकतर्फी रुपमा सूचना टाँसेर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरे ।
राष्ट्रिय जनमोर्चा जता लाग्यो त्यतै मत दिने भनेर बसेका अर्का सांसद गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ बुधबार बोलाइएको प्रदेश सभा बैठकमा अनुपस्थित भए ।


गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमालेलाई साबिककै अवस्थामा फर्काइदिएपछि उनी आफू स्वतन्त्र बताउँदै आएका थिए । तर, केही दिनदेखि सांसद गुरुङले राजमोले जुन पक्षलाइ समर्थन गर्छ आफूले पनि उसैलाइ सहयोग गर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड–१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ । प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।
उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएका थिए । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएका थिए ।
जनता कोरोना संक्रमणका लागि उपचार नपाएर दिनदिनै मरिरहँदा संसदवादी दलहरु भने सत्ता ढाल्ने र टिकाउने खेलमा मानवीय संवेदनाशुन्य रुपमा रमाइरहेका छन् । सत्ता पक्ष र प्रतिपक्षको यो गैरजिम्मेवारपूर्ण सत्ता स्वार्थको साम, दाम, दण्ड, भेदको शिकार भने जनसर्वसाधारण बन्दै आएका छन् ।