आजको ज्वलन्त राजनीतिक सवाल

प्रकाशित मिति : २०७८ बैशाख ११

- विनोद सहयात्री


लोकतन्त्रवादीहरुले आजको दिनलाई लोकतन्त्र पुर्नवहाली भएको दिनको रुपमा सम्झना गर्ने गर्दछन् । दशवर्षे जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनले अढाइसय वर्षदेखिको राजतन्त्रात्मक व्यवस्थालाई ढालेर लोकतान्त्रिक गणतन्त्र स्थापित गरेको थियो । मुलुकमा गणतन्त्र घोषणा हुँदै गर्दा देशका गरिखाने श्रमजीवी तथा शोषित उत्पीडित वर्ग र समुदायमा मुक्तिको ठूलो आकांक्षा पलाएको थियो । उत्साह र उत्सवको माहौल थियो । पहिलो संविधानसभा विघटन गरेपछि जनताको त्यो उत्साह र उत्सवमाथि ठूलो प्रहार भयो । र, प्रतिगमन सुरुभयो । दोस्रो संविधानसभाको चुनाव र निर्मित एक थान संविधानसम्म आइपुग्दा प्रतिगामी व्यवस्था संस्थागत हुन पुग्यो । संविधान जारी भएयता भएका शासन अभ्यास, ऐन कानुन निर्माणदेखि त्यसको अभ्याससम्मले त्यही यथार्थलाई पटक पटक चरितार्थ गरिसकेको छ । संविधान जारी भएपछि भएको चुनावमा जनताले संसदवादीहरुलाई जुन मत दिए र शासन सञ्चालनको हैसियतमा पु¥याए, आज त्यो मतको चरम दुरुपयोग गरेको, घोर अपमान गरेको अनुभूति जनताले राम्रैसँग यसबीचमा अनुभूति गरेका छन् । छोटै अवधिमा अब जनताले सरकार मात्रै होइन यो व्यवस्थै बदल्नुपर्ने निकर्ष निकाल्न थालेका छन् । लोकतान्त्रिक गणतन्त्र रुपी सरकार, संविधान र व्यवस्था नेपालका गरिखाने श्रमजीवी जनताको लागि नभएर यो मुठ्ठीभर दलाल पुँजीपति वर्ग र साम्राज्यवादी तथा विस्तारवादी विदेशी शक्तिहरुको लागि स्थापित भएको रहेछ भन्ने राम्रैसँग अनुभूत गरेका छन् ।

आम जनताको तहमा मात्रै होइन राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक क्षेत्रका अग्रगामी सोच र चिन्तन राख्ने आम जीवनमा अहिले यही छलफल बहस चलिरहेको छ कि समस्या व्यक्तिमा होइन, व्यवस्थामै रहेछ । व्यवस्था नै खराब भएपछि व्यक्ति वा पात्र र प्रवृत्ति खराब हुनु स्वभाविक हुन जान्छ । यसर्थ, यतिबेलाको राजनीतिक डिस्कोर्सको केन्द्रीय विषयवस्तु भनेको सरकारमा पात्र बदल्ने होइन व्यवस्था बदल्ने हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र रुपी यो दलाल संसदीय व्यवस्थालाई फ्याँकेर संघीय जनगणतन्त्र रुपी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नुपर्छ भन्ने पार्टी, राजनीतिक कार्यकर्ता, बौद्धिक समुदाय तथा नागरिक समाजको आवाजले अब मूलधारको रुप लिदै गएको छ । दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित तथा महिला आन्दोलन, मुस्लिम तथा उपेक्षित एवम् सीमान्तकृत वर्गका आन्दोलनका मुद्दाहरुलाई इमान्दारितापूर्वक बोकेर हिड्नेहरु यही विचार र दृष्टिकोणका अनुयायी छन् । यो राजनीतिक धारा नै अहिलेको अग्रगामी र क्रान्तिकारी धारा हो । राष्ट्रिय स्वाधीनताको आन्दोलनदेखि आम जनजीविकाका समग्र आन्दोलनको वास्तविक नेतृत्व पनि यही राजनीतिक धाराले गर्दै आएको छ । साँचो अर्थमा अहिलेको व्यवस्थाको वास्तविक प्रतिपक्षको भूमिका पनि यही धाराले गर्दै आएको छ । यो राजनीतिक धारालाई अब बलियो र सशक्त बनाउन जरुरी छ । त्यसका लागि छरिएर रहेका सबै सच्चा देशभक्त र अग्रगामी तथा क्रान्तिकारी सोच विचार राख्ने राजनीतिक नेता तथा कार्यकर्ताहरुदेखि सामाजिक जीवनका सबै संस्था र व्यक्तिहरु एउटै थलोमा एकीकृत तथा ध्रुवीकृत हुन जरुरी छ । त्यसका लागि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनु भएका यस राजनीतिक धाराका मूल नेतृत्व मोहन वैद्य किरणले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणका लागि गर्नुभएको अपिल तथा आव्हानको विशेष अर्थ र महत्व रहेको छ । दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था र नेपाली कम्युनिस्ट आन्दोलनभित्रका अवसरवादी तथा संशोधनवादीहरु समेत पूर्ण रुपमा असफल बनेको र तीव्र अन्तरविरोधको माखेसाङ्लोमा परेको यो बेला छरिएर रहेका सबै सच्चा देशभक्त तथा कम्युनिस्ट क्रान्तिकारीहरुले नेपाली नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न अब एकताबद्ध बन्न जरुरी छ । यो नै आजको ज्वलन्त विचार र राजनीतिक सवाल हो ।