डोजर लगाएर विस्थापित गराइएका भूमिहीन किसानहरुलाई सोही बस्तीमा पुनस्र्थापित गराउन किसान महासंघ (क्रान्तिकारी)को जोडदार माग

डोजर लगाएर विस्थापित गराइएका भूमिहीन किसानहरुलाई सोही बस्तीमा पुनस्र्थापित गराउन किसान महासंघ (क्रान्तिकारी)को जोडदार माग


विराटनगर ।
चैत्र २७, २०७७ मा झापा जिल्लाको दमक नपा वडा नंं ७ पञ्चमुखी टोलमा ०५७ सालदेखि बसोबास गर्दै आएका भूमिहिन किसान बस्तीमा विना सूचना अकस्मात ठूलो समूहमा प्रहरी परिचालन गरी डोजर लगाएर किसानहरुलाई आफ्नो खाद्यान्न लगायत दैनिक उपभोग्य सामान समेत निकाल्न नदिई घर टहरा भत्काई किसानहरुलाई विचल्ली बनाएको घटनाको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले घोर विरोध एवम् भत्र्सना गरेको छ । र, जबर्जस्त विस्थापित गराइएका भूमिहीन किसानहरुलाई सोही ठाउँमा पुनस्र्थापित गराउन र उनीहरुको घर टहरा बनाइ सम्पूर्ण क्षति दिलाउन स्थानीय नपा लगायत राज्यका निकायसँग जोडदार माग गरेको छ । किसान महासंघ (क्रान्तिकारी)का १ नंं प्रदेशका संयोजक हिमप्रसाद मिश्रले बिहीबार एक वक्तव्य जारी गर्दै यस्तो माग गर्नुभएको हो ।
वक्तव्यमा उक्त भुमिहीन किसान बसोबास गर्दै आएको जमिन २०२१ सालको नक्सा अनुसार पुर्वपश्चिम राजमार्ग देखिएको (हाल राजमार्ग सो जमिनबाट करिब ३०० मि. दक्षिणमा रहेको) र २०५७ बैशाख १ गतेमा बासोबास भएको, त्यस पछिको सरपट नापीको नक्सामा समेत बस्ती नै देखिएको तर २०६६ सालमा दमक नपाको नाममा जालसाजीपूर्ण रुपमा श्रेस्ता काय गराएको भन्दै सो जमिन विस्थापित किसानहरुकै स्वामित्व कायम हुने गरी पुनस्र्थापित गर्न किसान महासंघ (क्रान्तिकारी)ले माग गरेको हो ।
वक्तव्यमा विस्थापित गराइएका किसानहरुलाई पुनस्र्थापित गराउनका लागि आवाज उठाउन राज्यलाई दबाब दिन राजनैतिक पार्टी, नागरिक समाज, मानवअधिकारवादी संघ संस्था लगायत सुकुम्बासी संघ संगठनहरुलाई समेत अपिल गरिएको छ ।