दोस्रो लहरको कोरोनाबाट बालबालिका उच्च जोखिममा , दुई सातामा २७१ बालबालिका संक्रमित

दोस्रो लहरको कोरोनाबाट बालबालिका उच्च जोखिममा , दुई सातामा २७१ बालबालिका संक्रमित

काठमाडौँ । चिकित्सकहरुका अनुसार दोस्रो लहरको कोरोना संक्रमणबाट बालबालिकाहरु उच्च जोखिममा रहेका छन् । पछिल्लो संक्रमणको तथ्यांक अनुसार दुई सातामा संक्रमित हुने बालबालिकाको संख्या २७१ पुगेको छ।
कान्तिमा कोरोना संक्रमित तीन बालबालिकालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । उनीहरू सबैमा लक्षण देखिएको छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा रहेका २६ जना संक्रमितमध्ये चार जना बालबालिका छन्  । अस्पतालका कोरोना फोकल पर्सन डा. प्रविन नेपालका अनुसार त्यहाँ भर्ना भएका सबैमा लक्षण छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन्  ।


त्यस्तै, शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । निर्देशक डा. पौडेलले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । ‘यो राम्रो संकेत होइन । यसलाई रोक्न अभिभावक र शिक्षक सबैले बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउनुपर्छ ।’ चैत १४ देखि आइतबारसम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण देखिएकामा १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१ जना अर्थात् ७.९५ प्रतिशत छन्  । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार चैत २६ मा संक्रमित देखिएमध्ये १५.३६ प्रतिशत बालबालिका थिए । त्यो दिन ३ सय ३३ जनालाई संक्रमण देखिएको थियो । संक्रमण पुष्टिमध्ये चैत २१ मा ८.८९, २२ मा ७.९७, २३ मा ६.०२, २४ मा १० प्रतिशत बालबालिका रहेका छन् ।

संक्रमित बालबालिकाको हिस्सा चैत २५ मा ८.३९ प्रतिशत रहेकामा चैत २६ मा बढेर १५.३६ प्रतिशत पुग्यो । यस्तै, चैत २७ मा ११.८० र चैत २८ मा संक्रमितमध्ये ८.३ प्रतिशत बालबालिका रहेको अधिकारीले बताए । आइतबार भने संक्रमित बालबालिकाको हिस्सा ५.९४ प्रतिशत छ । विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगराउँदा बालबालिकामा संक्रमण बढेको विशेषज्ञको ठहर छ । नियमित रूपमा मास्क र फेससिल्ड लगाए, हात धोए केही हदसम्म संक्रमण फैलिनबाट रोकिने टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् ।


संक्रमित बालबालिका सबैभन्दा बढी काठमाडौं, भक्तपुर र ललितपुरका छन् । उनका अनुसार चैत १२ देखि २९ सम्म संक्रमित बालबालिकामध्ये प्रदेश १ र २ मा १३–१३ र वागमतीमा १ सय ६६ जना छन् ।

गण्डकीमा ५५, लुम्बिनीमा १७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ जना बालबालिकालाई संक्रमण देखिएको छ ।