कोरोनाविरुद्धको चीनबाट प्राप्त खोप आजदेखि लगाउन सुरु, यी हुन् १४ खोप केन्द्र जसमा खोप लगाउन सुरु

प्रकाशित मिति : २०७७ चैत्र २५


२५ चैत्र काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो चरणमा आजदेखि लगाउन सुरु गरिएको छ । खोपका लागि काठमाडौं उपत्यकामा १४ वटा स्वास्थ्य संस्था तोकिएका छन् ।
दोस्रो चरणको खोप अभियान अन्तर्गत आजदेखि विभिन्न अस्पतालबाट चिनियाँ खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनले नेपाललाई अनुदानमा आठ लाख डोज खोप दिएको छ । चीनले नेपालसहित ८० देशलाई अनुदानमा कोभिडविरुद्धको खोप दिएको छ ।
मन्त्रालयका अनुसार चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमाल पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, तरकारी, फलफूल लगायतका व्यापारी र प्रध्यापकहरुलाई यो खोप लगाउने प्राथमिकताको सूचीमा राखिएको छ ।
वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी नि:शुल्क चिकित्सालयबाट पनि यो खोप लगाउन सुरु भएको छ ।