पार्टीले उत्पादन कार्यमा जोड दिनु पदर्छ

प्रकाशित मिति : २०७७ चैत्र १८

- रामसिंह श्रीस

आज हाम्रो पार्टी सँग सही क्रान्तिकारी राजनीतिक कार्यदिशा छ । राजनीतिक कार्यदिशा सही हुनु क्रान्तिको लागि आधारभूत र प्रमुख कुरा हो तर सबै चीज हल भयो भन्ने कुरा होइन । यो त क्रान्तिको लागि प्रस्थान विन्दु मात्र हो । पार्टीले सही राजनीतिक कार्यदिशा तय गरिसके पछि त्यसलाई व्यवहारमा लागू गर्न त्यस पार्टीको नेता र कार्यकर्ताहरुको मुख्य भूमिका हुन्छ । ठूलो संख्यामा कार्यकर्ताहरुलाई संगठित र व्यवस्थित रुपले परिचालन नगर्दासम्म त्यो सही राजनीतिक कार्यदिशा नीतिमा मात्र सिमित हुन पुग्छ, व्यवहारमा परिणत हुन सक्दैन । ठूलो संख्यामा कार्यकर्ताहरुलाई परिचालन गर्नका लागि उनीकहरुको व्यवस्थापन संबन्धी समस्याहरुलाई पनि हल गर्नु पर्ने हुन्छ । त्यसको साथै पार्टीको सामान्य प्रशासनिक कामहरु गर्नु, पार्टीको नीतिलाई आम जनताको विचमा पु¥याउनका लागि विभिन्न संचार माध्ययमहरुलाई परिचालन गर्न र संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि आर्थिकको आवश्यकता पर्दछ । अर्थात समग्रमा भन्नु पर्दा पार्टीको जीवनसँग आर्थिक समस्या जोडिएर आउँछ । आर्थिक विना पार्टीको कुनै पनि काम प्रभावकारी रुपमा अगाडि बढ्न सक्दैन ।
आज हाम्रो पार्टीको आर्थिक अवस्था निकै कमजोर छ । जसको कारण पार्टीको सामान्य प्रशासनिक कार्य संचालन देखि, कार्यकर्ताहरुको व्यवस्थापन, संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउन र पार्टीको नीति र गतिविधिको प्रचार प्रसारमा समेत गम्भिर प्रकारको असर परिरहेको छ । पार्टीको आर्थिक समस्यालाई हल नगरीकन हामी अगाडि बढ्न सक्दैनौं । त्यसकारण पार्टीको आर्थिक समस्यालाई हल गर्न सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ ।
आर्थिक समस्या समाधान गर्नका लागि पार्टीले विभिन्न समयमा आवश्यक नीतिहरु तय गर्दै ठोस निर्णयहरु पनि गरेको छ । पार्टीको आर्थिक श्रोेत भनेको पहिलो पार्टी सदस्यहरुले बुझाउने लेवि हो, दोस्रो पार्टीले आफ्नो उत्पादन कार्यबाट प्राप्त हुने राशी हो । तेस्रो शुभचिन्तक तथा अन्य दाताहरुबाट लिने सहयोग हो । पार्टीले सदस्यहरुबाट उठने लेविलाई सबभन्दा बढी जोड दिएको छ । पार्टी सदस्यहरुले सुसुचित हुँदा हुँदै पनि छ महिनासम्म लेबि नबुझाएमा उनीहरुको सदस्यता समाप्त हुने व्यवस्था पार्टी विधानमा गरेको छ । तर पार्टी सदस्यहरुले दिने लेवि प्रथम नियमित छैन, द्वितिय नियमित भएपनि त्यसले मात्र पार्टीको आर्थिक समस्या हल हुन सक्दैन । त्यसकारण पार्टीले उत्पादन कार्यमा पनि जोड दिने नीति लिएको छ । पहिलो चरणमा एउटा प्रदेशमा एउटा उत्पादनको कार्ययोजना लागू गर्ने र विस्तारै त्यसलाई व्यापक रुपमा लागू गर्ने निर्णय गरेको छ । तर ती निर्णयहरु व्यवहारमा कार्यान्वयन हुन सकिरहेका छैनन् । ती निर्णयहरु लागू हुन नसक्नुको कारण के हो ? उत्पादन सम्बन्धमा पार्टी नीति कस्तो हुनु पर्दछ ? यिनै प्रश्नको सेरोफेरोमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
पार्टीको उत्पादन कार्यसँग सम्बन्धि निर्णयहरु कार्यान्वयन हुन नसक्नुको कारणहरु मध्य एउटा प्रमुख कारण यस सम्बन्धि दृष्टिकोणमा एकरुपता नहुनु नै हो । पार्टीले प्रदेश स्तर हुँदै तलसम्म पार्टी कमिटिहरु उत्पादन कार्यमा लाग्ने नीति निर्माण गर्ने कुरामा कुनै विवाद छैन । सर्वसम्मत रुपबाट यस प्रकारको निर्णय भएको हो । तर व्यवहारमा जाँदा समस्याहरु उत्पन्न भएका छन् र त्यो समस्याको जडमा दृष्टिकोणको समस्या जोडिएको छ । यस विषयमा तीन प्रकारको दृष्टिकोणहरु प्रकट रुपमा आएका छन् । एउटा दृष्टिकोण पार्टीले क्रान्तिको तयारी गर्ने हो भने संगठन निर्माण र संघर्षमा जोड दिनु पर्दछ, उत्पादनमा लाग्नु हुन्न, अहिले नै उत्पादनमा लाग्नु भनेको विस्तारै संसोधनवादी बाटोमा जानु हो भन्ने छ । अर्थात क्रान्ति पछि नै उत्पादन कार्यमा लाग्नु पर्दछ भन्ने दृष्टिकोण हो । अर्को दृष्टिकोण भनेको संगठन निर्माण र संघर्षमा भन्दा उत्पादन कार्यमा मात्र जोड दिनु पर्दछ । उत्पादन कार्यमा लागेर आत्म निर्भर भए पछि मात्र संगठन र संघर्षको काम गर्न सकिन्छ भन्ने छ । यो दुबै दृष्टिकोण भन्दा वेग्लै अर्को दृष्टिकोण पाइन्छ । त्यो भनेको संगठन निर्माण र संघर्षको साथ साथै उत्पादन कार्यमा पनि लाग्नु पर्दछ भन्ने हो । पहिलो दुइवटा दृष्टिकोण उत्पादन कार्यलाई जोड नदिने र उत्पादन कार्यमा मात्र जोड दिने दृष्टिकोण सही होइनन । संंगठन निर्माण र संघर्षको साथ साथै उत्पादन कार्यमा पनि जोड दिने नीति नै सही हो । त्यसकारण क. माओले वर्ग संघर्ष, उत्पादनको लागि संघर्ष र वैज्ञानिक प्रयोगलाई साथ साथै लैजाने कुरामा जोड दिनु भएको थियो ।
पार्टीले उत्पादन कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा का. माओको दृष्टिकोणलाई विस्तृत रुपमा बुझ्न जरुरी छ । का. माओ भन्नु हुन्छ “केही कमरेडहरुको के सोचाईं छ भने क्रान्तिकारी युद्धले गर्दा मानिसहरु ज्यादै व्यस्त हुने भएकाले आर्थिक निर्माणका लागि समय बचाउन असम्भव छ र उनीहरुले आर्थिक निर्माणको पक्षमा कुरा गर्नेलाई ‘दक्षिण पन्थी भडकाववादी’ भनेर निन्दा गरेका छन् । उनीहरुको विचारमा क्रान्तिकारी युद्धको समयमा आर्थिक निर्माण असम्भव छ र अन्तिम विजय पछि शान्तिपूर्ण तथा स्थिर स्थितिमा मात्र यो संभव छ । कमरेडहरुका यस्ता विचारहरु गलत छन् । जसले यस तरिकाबाट सोच्छ उसले के कुरा बुझ्न सकेको छैन भने आर्थिक निर्माण नगरिकन क्रान्तिकारी युद्धको निम्ती चाहिने भौतिकपूर्ण स्थानहरुलाई सुनिश्चित पार्नु असम्भव हुन्छ र लामो युद्धको क्रममा जनता अशक्त बन्ने छन् ।” (माओ संकलित रचना भाग १,पृष्ठ १२४) उहाँ अझै अगाडि भन्नु हुन्छ “क्रान्तिकारी युद्धको वेलामा आर्थिक निर्माणको काम गर्न हुँदैन भनेर सोच्नु एकदमै गलत छ । यस ढंगबाट सोच्ने मानिसहरु अक्सर के भन्छन भने सारा कुरालाई युद्ध प्रयत्नको अधिनस्त पारिनु पर्दछ, तर उनीहरु के कुरा बुझ्दैनन् भने आर्थिक निर्माणको कार्यलाई पन्छाउँदैमा सारा कुरा युद्ध प्रयत्नको अधिनस्थ बन्दैन बरु युद्धप्रयत्न कमजोर हुन्छ । आर्थिक मोर्चाको कामलाई बढाएर र लाल इलाकाहरुको अर्थतन्त्रको विकास गरेर मात्र हामी क्रान्तिकारी युद्धका लागि प्रयाप्त भौतिक आधार जुटाउन सक्छौं ।” (उही पृ. १२५ ) यो कुरा का. माओले सन १९३३मा भन्नु भएको थियो । का. माओको उपरोक्त भनाइहरु बाट के कुरा प्रस्ट हुन्छ भने उहाँले क्रान्ति सम्पन्न हुनु भन्दा धेरै पहिले देखिनै आर्थिक उत्पादनको कार्यमा जोड दिनु भएको थियो र त्यतिवेला तत सम्बन्धमा देखा परेका गलत सोंचाइहरुको विरुद्ध कडा वैचारिक संघर्ष गर्नु भएको थियो । उहाँहरुले आर्थिक उत्पादन कार्यमा यति धेरै जोड दिनु भएको थियो कि आधार इलाकामा मात्र होइन छापामार इलाकाहरुमा पनि आर्थिक उत्पादन कार्यलाई अगाडि बढाउनु भएको थियो । जस्तो एक ठाँउमा उहाँले भन्नु भएको छ “यस्तो परिस्थितिमा छापामार टोलीहरुले धेरै जसो एक दिनमै कैंयौं पटक ठाँउ साटफेर गर्नु पर्दछ । तै पनि छापामार टोलीहरुले लडाइको बिचमा फुर्सदको समयमा उत्पादन कार्य चलाउने व्यवस्था गरेका छन् ।” (माओ संकलित रचना भाग ३ पृष्ट १४९) का. माओका यी भनाइहरुले सिंगो पार्टी अन्य कामका अतिरिक्त उत्पादन कार्यमा जुट्न कति आवश्यक छ भन्ने कुरा प्रष्ट हुन्छ । वास्तवमा का. माओले उत्पादन कार्यलाई क्रान्तिको एउटा अभिन्न हिस्साको रुपमा लिनु भएको थियो । जस्तो उहाँले भन्नु हुन्छ “युद्ध भनेको सैनिक र राजनीतिक प्रतिद्धन्द्धिता मात्र नभएर आर्थिक प्रतिद्धन्दिता पनि हो । जापानी आक्रमणकारीहरुलाई पराजित गर्नका निम्ती अरु सबै कामहरुको अतिरिक्त हामीले अर्थिक कार्यमा पनि लाग्नै पर्दछ र दुई तीन बर्ष भित्रैमा हामीले यस काममा खप्पीस हुनै पर्र्दछ । चालु वर्ष अर्थात सन १९४५मा हामीले पहिले भन्दा एकदम धेरै उपलब्धीहरु हासिल गर्नु पर्दछ ।” (उही पृष्ट १५१) । का. माओले यहाँ आर्थिक उपार्जनमा लाग्ने कुरालाई युद्धको (क्रान्तिकारी युद्धको)अभिन्न अंगको रुपमा लिनु भएको छ । त्यसकारण क्रान्ति भनेको सैनिक र राजनैतिक प्रतिद्धन्दिता मात्र नभएर आर्थिक प्रतिद्धन्दिता पनि हो भनेर भन्नु भयो । उहाँको यस भनाइलाई कम्युनिस्ट क्रान्तिकारीहरुले गम्भिरता पूर्वक लिनु पर्दछ र माओले भने झैं “सबै कामहरुको अतिरिक्त आर्थिक काममा पनि लाग्नै पर्दछ ।”
पार्टीले आफ्नै आर्थिक श्रोतबाट आत्मनिर्भर हुनका लागि उत्पादन कार्यमा जन परिचालन गर्न विशेष जोड दिनु पर्दछ भन्ने विषयमा अगाडि चर्चा ग¥यौं । अब शुभचिन्तक तथा अन्य दाताहरुसँग लिने सहयोगको पनि चर्चा गरौं । अहिले एकातिर पार्टी सदस्यहरुबाट उठ्ने लेवि पूर्णरुपमा नियमित छैन भने अर्कातिर पार्टीको आफ्नै उत्पादन त छँदै छैन भन्दा पनि हुन्छ । यस्तो स्तिथिमा आज पार्टीको काम जे जति भइरहेको छ ती मुख्यतः सहयोगबाट नै भएको छ । पार्टी र क्रान्तिको लागि शुभ चिन्तक तथा अन्य दाताहरुसँग सहयोग लिने कुरालाई निरन्तरता दिनु पर्दछ तर यसलाई पार्टीको आर्थिक श्रोतको प्रधान पक्ष बनाउनु हुँदैन । पार्टी सदस्यहरुबाट उठ्ने लेवि र उत्पादन कार्यलाई पार्टीको आर्थिक श्रोतको प्रधान पक्ष र सहयोगलाई सहायक पक्ष बनाउन पर्दछ ।
सहयोग उठाउँदा पनि मुख्य आधार आम श्रमिक वर्ग अर्थात आम जनतालाई नै बनाउनु पर्दछ । श्रमिक वर्ग तथा आज जनताको आर्थिक अबस्था कमजोर हुन्छ त्यसकारण उनीहरुले बढी आर्थिक सहयोग गर्न सक्दैनन् भन्ने कुरा आउछ । यो कुरा सत्य हो उनीहरुले बढी धनराशि सहयोग गर्न सक्दैनन् । तर जनसमुदायको ठूलो हिस्सासँग हामी सहयोग लिन सक्यौं भने थोरै थोरै सहयोग हुँदा पनि ठूलो आर्थिक सहयोग प्राप्त हुनसक्छ । तर दलाल पुजींपतिहरु, नोकरशाह पूँजीपतिहरु, ठेकेदारहरु, भ्रष्टहरु, तस्करहरुसँग मोटो रकम सहयोग लिने र त्यसबाट पार्टीको गतिविधि संचालन गर्न थाल्यौं भने त्यसले विस्तारै पार्टीलाई गलत दिशातिर लैजान्छ । पार्टीको शक्तिमा जति जति वृद्धि हुँदै जान्छ त्यति त्यति ती तत्वहरुले पार्टीलाई दिने आर्थिक सहयोगमा वृद्धिगर्र्दै जान्छन । आर्थिक सहयोग भनेको एकप्रकारको सुसम्बन्ध पनि हो । त्यसकारण पार्टीको त्यसप्रकारको नीतिले वर्ग संघर्षलाई भुत्ते बनाउँछ । एउटा कारखानामा मजदुर र मालिकको वीचमा निरन्तर संघर्ष चलिरहेकै हुन्छ । त्यस्तै एउटा ठेकेदारले वा ठेकदार कम्पनीले त्यहाँ श्रमिकहरुलाई शोषण उत्पीडन गरिरहेको हुन्छ । कारखानामा मालिक तथा ठेकेदारहरुसँग मोटो सहयोग लिए उनीहरुले मजदुरमाथि गरिरहेको शोषणलाई अनदेखा पार्टीले ग¥यो भने श्रमिक वर्गप्रति त्यो भन्दा ठूलो विश्वासघात अरु केही हुँदैन । मजदुरहरुको शोषणको विषयलाई लिएर पार्टी संघर्ष उठाउने तर अर्थिक लेनदेनमा सहमति गरेर सम्झौतामा टुङ्ग्याउने गर्यौं भने त्यो पनि अपराध नै हो । यसप्रकारको गतिविधि भनेको पार्टीको उदेश्यप्रतिको विश्वासघात हो । त्यसकारण यसप्रकारको शोषक वर्गीय तत्वहरुले हामीलाई कसरी कति सहयोग गर्दछन वा गर्दैनन् भन्ने कुरा भन्दा पनि उनीहरुले श्रमिक वर्ग तथा आम जनसमुदाय प्रति कस्तो व्यवहार गर्दछन भन्ने कुरालाई मुख्य आधार बनाएर संघर्षलाई अगाडि बढाउनु पर्दछ । यसो गर्नको लागि पार्टीले आफ्नै पहलमा आफ्ना आर्थिक श्रोतहरुको विकास गर्नु पर्दछ । त्यसको लागि माओले भने झैं अन्य कामको अतिरिक्त आर्थिक उत्पादनको काममा जोड दिनै पर्दछ ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा के बुझिन्छ भने पहिले पहिले पार्टीले सामन्त दलाल तथा नोकरशाही पुँजीपति वर्र्गसँग पार्टीको लागि आर्थिक सहयोग लिएको पाइन्न । बरु उनीहरुको सम्पत्ती जफत गरेर जनतालाई वितरण गरेको घटनाहरु पाइन्छ तर समयहरु वित्दैजाँदा तिनै दलाल तथा नोकरशाही पूँजीपतिहरुसँग सहयोग लिएर पार्टी संचालन गर्ने गरियो । खास गरेर सरकारमा जाने आफुलाई कम्युुनिस्ट भन्ने पार्टीहरुले कारखाना मालिक ठेकेदारहरुसँगबाट मोटो रकम लिने र सरकारमा पुगे पछि उनीहरुको हितमा नीति निर्माणहरु गर्ने कामहरु भए । यति सम्म भयो कि मोटो रकम लिएर उनीहरुलाई सांसद मन्त्रीहरु बनाउने कामहरु समेत भए । यसप्रकारका गलत आर्थिक प्रणालीको कारणले गर्दा आफुलाई कम्युनिस्ट पार्टी भन्ने एमाले र माओवादी केन्द्रले यो काम गरे र त्यो पार्टी सर्वहारा वर्ग तथा श्रमिक जनताको स्वार्थको प्रतिनीधित्व गर्ने पार्टी होइन दलाल तथा नोकरशाही पूँजीपति र सामन्त वर्गको स्वार्थको प्रतिनीधित्व गर्ने पार्टीमा परिणत भए । यसरी यी पार्टीहरु प्रतिक्रियावादी वर्गको प्रतिनीधिमा परिवर्तन हुनुको एउटा मुख्य कारण ती वर्गबाट प्राप्त गर्ने सहयोग पनि हो । हामीले अहिले देखिनै आफ्नै आर्थिक श्रोतमा भर परेरे संघर्षलाई अगाडि बढाएनौ, एमाले र माओवादी केन्द्रले जस्तै दलाल तथा नोकरशाही पूँजीपति वर्ग तथा ठेकेदारहरु भ्रस्टहरु, तस्करहरुसँग मोटो रकम लिएर पार्टी संचालन र संघर्षलाई अगाडि बढाउने प्रयत्न ग¥यौं भने हाम्रो पनि एमाले र माओवादी केन्द्रकै हालत हुनेछ । त्यसकारण हमीले का. माओले भने झैं वर्ग संघर्ष, उत्पादनको लागि संघर्ष र वैज्ञानिक प्रयोगलाई कुशलतापूर्वक अगाडि बढाउन अहिले देखि नै भरमग्दुर प्रयत्न गरौं ।
२०७७।१२।२०