वीरबहादुर कामी ‘कमरेड संंसारसेन पृथक’को संक्षिप्त जीवनवृत्त

वीरबहादुर कामी ‘कमरेड संंसारसेन पृथक’को संक्षिप्त जीवनवृत्त

मलाई किन छोडेको संसारसेन ? भन्दा भन्दै आखिर ऊ मलाई छोडेर आगोको धुवासँगै उडी गयो ।’

मलाई अहिले लागिरहेको छ, बालबच्चाको लालनपालन गर्नु अनि हामीले उठाएको झण्डा कहिल्यै झुक्न नदिनु म र मेरो संसारसेन हामी दुवैको इच्छा हो । र, मैले त्यो यात्रामा शरीरमा एक थोपा रगत र एक मुठ्ठी प्राण रहुन्जेल हिंडिरहनुपर्छ… ।

बीरबहादुर कामी ‘कमरेड संंसारसेन पृथक’को जन्म वि.सं. २०३५ साल चैत्र महिनाको ९ गते आइतबार जाजरकोट जिल्लाको लहँ गाउँ विकास समिति अन्तर्गत थाप्ला ग्राग्लीमा पिता नन्ने कामी र माता धनसरी वि.क.का माइला सुपुत्रका रूपमा भएको हो । उहाँ १, उहाँको एकजना दाजु र भाइहरु क्रमशः तेजबहादुर वि.क., हरिस कुमार वि.क. र नरेन्द्र्र वि.क. गरि ४ भाई र १ जना दिदी तारा वि.क. र बहिनी प्रतिक्षा वि.क. गरि जम्मा ७ जना सन्तानमध्ये तेश्रो सन्तानका रूपमा उहाँ जन्मनु भएको हो । उहाँ अगाडि एक जना दाजु वितेको हुनाले उहाँ जन्मदा मातापिताको पुत्रशोक निवारण भएको थियो । निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मनुभएका उहाँको बाल्यकाल गाउँमै बुवा आमाको ममता र दिज्युको रेखदेखका साथ छरछिमेकमै अनि निर्मलज्योति प्राथमिक विद्यालय थाप्लाका गुरु गुरुमाहरुसँगको पठनपाठनमा बितेको थियो । ‘हुने विरुवाको चिल्लो पात’ भने जस्तै उहाँ बाल्यकालदेखि नै गम्भीर स्वभाव र तिक्ष्ण बुद्धिको हुनुहुन्थ्यो । उहाँको नाम बीरबहादुर ज्योतिषीले राखिदिएको कुरा उहाँको बुवा बताउनु हुन्छ । उहाँको बुवा किसानी गर्नुका साथै व्यापार र गाउँघरको फिराद आदि लेख्ने कार्य गर्नुहुन्छ ।
वि.सं. २०४४ देखि २०४९ सालसम्म लहँथाप्लामा रहेको निर्मलज्योति प्राथमिक विद्यालयबाट उहाँले प्राथमिक शिक्षा पूरा गर्नुभएको हो । त्यतिबेला त्यस विद्यालयको प्रधानाध्यापक गणेशबहादुर रावल र शिक्षकहरु भिमबहादुर वली, कुश बहादुर मल्ल हुनुहुन्थ्यो । साथै, कक्षागत साथीहरूका साथमा प्राथमिक शिक्षा पूरा गरेको कुरा बताउने उहाँले २०५० देखि २०५४ सालसम्म भानुभक्त निमावि लहँमा निम्न माध्यमिक र माध्यमिक शिक्षाको अध्ययन पूरा गर्नुभएको थियो । त्यतिबेला उक्त माध्यमिक विद्यालयमा मनबहादुर रावल, भुवननाथ ज्ञवाली, रामबहादुर खनाल, दलबहादुर रावल, भक्तबहादुर वली आदि शिक्षकहरू हुनुहुन्थ्यो । भक्तराज गौतम ‘रेशम’, लमबहादुर खड्का, प्रकाश पन्त, कर्णबहादुर खड्का, मानबहादुर विष्ट, सुरेन्द्र चन्द, हरिश गौतम लगायतका साथीहरूसँग अति रमाइलो गर्दै पढेको कुरा बताउनु हुन्थ्यो । कमरेड संसारसेन साथीहरूका विचमा मिलनसार, प्रगतिशील सोच भएका ब्यक्ति भएको हुनाले अति नै प्यारो हुनुहुन्थ्यो । उहाँ अनुशासित र अध्ययनमा लगनशील भएको कारण गुरुहरुले असाध्यै माया गर्नुहुन्थ्यो ।
वि.सं. २०५३ सालमा भानुभक्त माध्यमिक विद्यालयको स्कुल इकाई कमिटिमा संगठित हुनु भएका कमरेड बीरबहादुर कामी ‘संसारसेन पृथक’ वि.सं. २०५६ भदौमा पुर्णकालीन हुनुभएको थियो । त्यतिबेला टेकबहादुर रावल ‘दर्शन’ त्यहाँको अंग्रेजी र सामाजिक विषयको शिक्षक हुनुहुन्थ्यो । उहाँले नै कमरेड संसारसेन पृथकलाई अंग्रेजी विषयको ज्ञान दिनुको साथै देशको बदलिदो राजनीतिक परिस्थिति, सामाजिक, आर्थिक, साँस्कृतिक स्थितिका बारेमा प्रशिक्षण दिने क्रममा राजनीतिक गतिविधिमा समाहित हुने प्रेरणा मिलेको कुरा उहाँको प्रकाशित कविता संग्रह ‘नयाँ जीवन’मा उल्लेख छ ।
तत्पश्चात एरिया कमिटि सदस्य र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को जिल्ला कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । वि.सं. २०५९ मा जिल्ला कमिटि सचिवालयमा रहि वि.सं. २०६१ सम्म एक वर्ष सचिवालयमा कार्य गर्नुभएको थियो । २०६१ साल बैशाख ७ गते जाजरकोटको रग्दा ९ चौखामा वाईसियलको जिल्ला प्रथम सम्मेलन राखिएको थियो । उक्त सम्मेलनबाट जिल्लाको अध्यक्षमा कमरेड संसारलाई चुनिएको थियो । त्यतिबेला सरला रेग्मी‘कमरेड अणु’ वाईसिएलको भेरी कर्णाली संयोजक हुनुहुन्थ्यो । शक्ति बस्नेत ‘सुरेशसिंह’, भक्तबहादुर शाह‘उद्दव’, कालिबहादुर मल्ल ‘जितेन्द्र’, मायाप्रसाद शर्मा ‘पारसमणी’ गणेशप्रसाद सिंह ‘खगेन्द्रसेन’, रामदीप आचार्य ‘बजिर’, गगन खड्का ‘जीवन’, ढकविर राना‘शान्त’, पुस्पा घर्ती, ज्ञानु बस्नेत ‘आकाक्षा’, युवराज आचार्य ‘साकार’ कमरेड शिशिर, टेकबहादुर रावल‘दर्शन’, निर्मला पौडेल ‘प्रतीक्षा’, कमरेड प्रशान्त, कमरेड मुक्ति, प्रताप जैसी ‘कमरेड ज्योतिष’, मण्डल, प्रविण, बरुण तिलक रावत‘कमरेड सुशिल’, नरबहादुर गिरी ‘कमरेड निशान’, यम कुमारी खड्का, शिबा बस्नेत ‘अस्मिता’, देबका लामिछाने ‘शोभा’, प्रतिभा पुन, सान्ता बि.क., हरिकला खड्का ‘शारदा’, अम्बिका बस्नेत ‘सर्मिला’, पार्बती थापा ‘आस्था’, कृष्ण शाह, कृष्ण आचार्य ‘सुजाता’, राधिका घर्ती ‘अन्जना’, ढकी राना ‘उषा’, जसु राना ‘निसा’, प्रतिभा लगायत कमरेडहरुका साथमा जिल्ला कमिटिमा कार्य गर्नुभएको हो । त्यस मध्य संयोगवस सहयोद्धा सबिता सिंह ‘बन्दना’को पनि संसारसेनको मृत्युको अघिल्लो दिनमै भारतको लखनउमा उपचारको क्रममा निधन भएको थियो । सामाजिक सञ्जालहरुमा संगै हार्दिक श्रद्धाञ्जली दिनुपर्ने अवस्था सिर्जना भएको थियो ।
शुभचिन्तक कमरेडहरुको सुभेच्छाबाट अभ्यस्त हुँदै जाँदा संसारले मलाई विवाहको प्रस्ताव गर्नुभएको थियो । यो यात्रामा मेरो आदरणीय दीदी सरला रेग्मी ‘कमरेड अणु’ ले अविभावकको भूमिका निर्वाह गर्नुभएको थियो । यसै क्रममा करिव एक वर्षको अन्तरालमा वि.सं. २०६१ फागुन ८ गते गर्खाकोटमा संसार र मेरो विचमा जनवादी विवाह गुराँसको माला, सहिदको रगतले रक्तरञ्जीत टिका र २ वटा क्याण्डेल बालेर सम्पन्न भएको थियो । अन्धविश्वास, रुढीवाद र जातीय निरंकुशताबाट ग्रसित समाजको अगाडि गरिएको यो अन्तरजातीय विवाह सामाजिक चुनौतिको भिमकाय पहाड पल्टाए जत्तिकै थियो । अनगिन्ती बाधाव्यवधानको सामना गर्दै गरिएको यो विवाह साँिच्चकै परिवर्तनको एक गौरवशाली यात्राको आफैबाट गरिएको एक संघर्षको शुरुवाती थियो । जनमुक्ति सेनाका सेनानी कमरेडहरु, जिल्लाका नेता तथा कार्यकर्ता कमरेडहरु र जनसमुदायको विचमा सम्पन्न उक्त विवाहमा हामीले सहिदका सपनाहरु साकार पार्ने शपथ खाएका थियौं । हामी सर्वहारा मुक्ति आन्दोलनमा शरीरमा एक मुट्ठी प्राण र एक थोपा रगत रहुन्जेल लडिरहनेछौं । पार्टीले दिएको निर्देशनको पालना गर्दै निरन्तर क्रान्ति र मुक्तिको महान यात्रामा समर्पित रहिरहने प्रतिवद्धता गर्दछौ, भन्दै सम्पन्न गरेको विवाहको क्षण स्मृतिको गंगामा हरदिन तैरिनै रहन्छ । नदीको सुस्केरा सँगै चराहरुको चिरबिर अनि बसन्तको आगमनलाई स्वागत गर्न ढकमक्क फुलेका लालीगुराँसका राताम्य पाखाहरुले पनि त्यो हाम्रो वैवाहिक सम्बन्धलाई भव्य रुपमा स्वागत गरिरहेको क्षण मेरा मानसपटलमा अमिट बनेर बसिरहेको छ । सामाजिक मुक्तिको अथक, अविरल महासमरको यात्रामा हिड्ने लालयोद्धाहरुको त्यो स्वागत तथा शुभकामना दिएको क्षण पनि अविस्मरणीय रुपमा नै रहेको छ ।
वि.सं. २०६२ असोज २७ गते जिल्ला सचिवालयबाट १ जना उहाँ, जिल्ला कमिटिका ५ जना र ४० जना एरिया कमिटिबाट गरि जम्मा ४६ जनाको टोली जाजरकोटबाट सेनामा भर्ति भई घोराही सतबरीया ब्रिगेडमा जाँदा उहाँ कम्पनी कमिसार भएर जानु भएको थियो । उहाँ उता जाँदा मेरो पेटमा छोरी प्रसंशा पनि आईसकेकी र जीवन मरणको दोसाँधमा रणभूमि कुल्चीएका हामी कहाँ कता के हुने भन्ने कुराको कुनै ठेगान नभएको अवस्था हुनाले हामी पहिलो पटक घरको भेटघाटमा गएका थियौं । त्यसपछि पार्टीको आवश्यकता ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ अभियान अनुसार उहाँ पूर्वतिरको मोर्चामा जानुभयो भने म सोही जिल्लाको मोर्चामा रहने गरि घरबाट विदाई भएका थियौं । त्यसको ८ महिना पछि छोरी प्रसंशाको जन्मिने अन्तिम महिना परेको थियो । को कता छ भन्ने कुराको सम्म एकअर्कामा हामीलाई जानकारी थिएन । मैले त्यो अवस्थामा उहाँलाई धेरै संझिरहेकी थिएँ । त्यतिबेलाको अवस्था गम्भिर भएकोले पार्टीका केहि रेखदेख गर्ने महिला कमरेडहरुसँग मलाई सुर्खेतको कालागाउँ स्थित एउटा घरमा राखिएको थियो । उहाँ पनि सोध्दै खोज्दै वि.सं. २०६३ जेठ ९ गते त्यहि पुग्नुभयो । त्यो रात उहाँले तानसेन, सुनौल, गण्डक, बुटवलका आक्रमणहरुमा सफल भएको र आफुले कमाण्डरको भूमिका निर्वाह गरेको कुरा बताउनु भयो । जुन दिन उहाँ पुग्नु भएको थियो त्यहि रात व्यथा शुरु भई भोली पल्ट वि.संं २०६३ जेठ १० गते छोरी प्रसंशाको जन्म भयो ।
त्यसको लगतै शान्ति प्रक्रियामा क्याण्टेनमेन्टमा छैठौ डिभिजन अन्तर्गत घोराही सतवरीया ब्रिगेडमा बटालियन सहायक कमाण्डर तथा पार्टी उप–ब्युरो सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यतिबेला छैठौं डिभिजन कमाण्डर तेजबहादुर वली ‘कमरेड प्रतिक’ हुनुहुन्थ्यो भने उदयबहादुर चलाउने‘कमरेड दिपक’ सहायक कमाण्डर हुनुहुन्थ्यो अन्य ब्रिगेड तथा बटालियन कमाण्डर र सहयोद्धा कमरेडहरु क्रमशः दुर्गाप्रसाद चौधरी ‘सन्तोष’, सेवक, दिपक लामा, चुनौती, संभव, पुनित, विराग, कल्पना महतारा, धमिल, सौगात, जलन, क्रान्ति, विन्दु, अनुपम, संभव, दिनेश, आधार, प्रगति, दिपक गौतम, रमेश, अविचल, सुभाष, प्रज्वल, गुराँस, जेम्स, लालीकिरण, अजित, राजन, विजुली, केदार, निर्माण, कृतिमान, शिखर, भौतिक, पौरख, मुकेश, एकता, सोना लगाएत कमरेडहरु हुनुहुन्थ्यो । तत्कालीन नेतृत्वले धोकाधडी गर्दै जनमुक्ति सेनालाई विषम परिस्थिति सृजना गरि आत्मसर्मपण गराई प्रतिक्रियावादी राज्य सत्ताका सेनामा समायोजनाको नाममा विलय गराउने प्रस्ताव ल्यायो । उक्त प्रस्तावलाई हामीले अस्वीकार गरि स्वेच्छिक अवकाश लिएर बाहिर आएका थियौैं ।
हामी राजनीतिक कार्यलाई निरन्तरता दिने विचारमा थियौं । पछिल्लो समयमा हामी घरको काम काज र परिवारको लालनपालनमा व्यस्त भयौं । पारिवारभित्र बढेको विभिन्न खालको आरोह अवरोहका कारण घर छोडेर हामी २ छोराछोरी लिएर कोहलपुर वडा नं. ३ मैटवामा बसाई सर्नु परेको थियो । वि.सं २०६७ चैत्र २८ गते सेनाबाट स्वेच्छिक अवकाश लिनेहरुलाई संयुक्त राष्ट्रसंघको टोली अनमिनले पहिलो चरणको राहत वितरण गरेको थियो । उक्त अवधिमा पार्टीभित्रैका केहि निहीत स्वार्थ बोकेका गलत मान्छेहरुद्वारा आधिकारिक व्यक्तिलाई ठग्नका लागि चेक खोस्ने अशोभनीय कार्य तथा अभद्र व्यवहार गरियो । उक्त कार्यका विरुद्धमा आवाज उठाउँदा उनीहरुले गरेको हमलाको प्रतिवाद गर्दै जीवन मरणको दोसाँधको साँघुरो गल्छीबाट पाएको नाफाको जीन्दगी लिएर नाबालक छोरासहित हामी आफ्नो गृह कोहलपुर मै फर्कियौं । यहाँ कृषि, गाई पालन, तरकारी खेती र सानो किराना पसल थापेर बसेका थियौं । नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा भएको महान १० वर्षे जनयुद्धले खाएको धोकाका कारण र जनयुद्धका सम्पुर्ण नेता, कलाकार र कार्यकर्ताहरुलाई झुक्याईएको विषम परिस्थितिका साथै विद्रोह गरेर (नोट अफ डिसेन्ट लेख्दै) बाहिर निस्किएको नेकपा–माओवादी पार्टीको विकास नभईसकेको अवस्था, घरायासी व्यवस्थापनका लागि आफुले शुरु गरेको टुक्रे उत्पादन प्रणालीबाट परिवारको शिक्षा, स्वास्थ्य र लालनपालनलाई व्यवस्थित गर्न कठिन भएको कारण उहाँ विदेशीको भूमिमा श्रम वेच्न मलेशिया जान बाध्य हुनुभयो । वि.सं. २०७२ जेष्ठ २५ गते मलेशीयामा सेक्युरिटी गार्डको भिषामा जानुभयो । मलेशियामा सेक्युरिटि गार्डको कार्य गर्दैगर्दा मनमा हिनता, खिन्नता उत्पन्न हुने गरेको कुरा हामी एकअर्कामा साटासाट गर्दथ्यौं ।
यसै बिचबाट उहाँले संस्मरण, लेख, कविता, गीत आदि द्वारा नेपाली कम्युनिस्ट आन्दोलनका समस्या र समाधानका विषयमा तिखो प्रहार गर्नुभएको छ । उहाँले लोकतन्त्रमा गरेउ उपहास, बाडीपैरो, चिनो फिर्ता गरेर कहाँ हुन्छ निष्ठुरी मलाई मेरो मुटु चाहिन्छ जस्ता गीतहरु रचना गर्नु भएको छ । यी गीतहरुमा स्वर र संगीत दिई सहयोग गर्नुहुने आदरणीय अंकल दीपक नेपाली र बहिनी शोभा अधिकारी साथै इन्द्र जि.सी. हुनुहुन्थ्यो ।
नेकपा–माओवादीबाट विकास हुँदै बनेको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)को विकास गर्न आवश्यक छ भन्दै मलाई नेकपा(क्रान्तिकारी माओवादी) बाँकेमा समाहित हुन प्रेरित गर्नुभएको थियो । हाल म नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बाँके जिल्लाको सचिवालयमा रहि पार्टीको कार्य गर्दै आएकी छु र पार्टीको मोर्चा देशभक्त जनणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेकी छु ।
पातलो अग्लो कद भएको गहु्गोरो र ख्याउटे अनुहार अनि तेजिलो आँखा भएको सादगी जीवन यापन गर्ने उहाँ प्रायः एउटै कपडा नच्यातिन्जेल लगाईरहनु हुन्थ्यो । ‘पुरानो कोट लगाउ नयाँ किताब किन’ भन्ने कुरा सबैलाई सिकाउनु हुन्थ्यो । छोरा प्रशान्त र छोरी प्रसंशा उहाँले सँधै लगाईरहने एउटा थोत्रो ज्याकेटको बारेमा चर्चा गर्थे अनि उनीहरुले पटक पटक मलाई सोध्थे बाबा किन अर्को ज्याकेट लगाउनु हुन्न आमा ? यहि थोत्रो लगाईरहनु पर्छ सबैको अगाडी ? म उनीहरुलाई तिम्रो बाबालाई नै सोध भन्थे र सबैको प्रश्नको एउटै उत्तर हुने गथ्र्यो, ‘पुरानो कोट लगाउँ नयाँ पुस्तक किन’ । मैले पनि पटक–पटक कपडा फेर्नुस भन्दा उहाँलाई त्यो कुरा खासै दिलचस्पी लाग्दैनथ्यो । सादगी जीवनयापन गर्ने उहाँ सँधै राजनीति र अध्ययनमा तल्लीन हुनुहुन्थ्यो । उहाँ विशेष गरी माक्सवादी सौन्दर्य शास्त्रप्रेमी हुनुहुन्थ्यो । मिठो खाने राम्रो लगाउने कहिल्यै चाहना गर्नुभएन । खानामा उहाँलाई सादा रोटी र साग, सिस्नु र ढिडो असाध्यै मन पथ्र्यो । कहिले काहीं उहाँसँग व्यवस्थित बास र मिठो खानाको विषयमा कुरा गर्न खोज्दा रोड, पिंढी र झुपडीमा बस्ने उत्पीडित वर्ग समुदायको कथा व्यथा सुनाउन थाल्नुहुन्थ्यो । बच्चादेखि बुढासम्मका मानिसहरुसँग समान व्यवहार गर्ने मिठो बोल्ने अति शान्त, शुसिल र मिलनसार स्वभावका धनी मेरो जीवनसाथी कमरेड संसारसेन पृथक साँच्चिकै यो समाजका मानिसहरु भन्दा पृथक नै हुनुहुन्थ्यो । मेरोे र समाजका प्रेरणाका श्रोत हुनुहुन्थ्यो । उहाँलाई भलिवल, चेस, एथलेटिक्स र सुटिङ्ग असाध्यै मन पथ्र्यो । उहाँले लङ जम्प, हाई जम्पमा धेरै पटक विद्यालयबाट पुरस्कार राशी र प्रमाणपत्रहरु प्राप्त गर्नुभएको थियो । म त्यसलाई उहाँको वार्षिकीमा प्रकाशन हुने स्मारिकामा प्रकाशित गर्नेछु । म मेरो जीवन साथी कमरेड संसारसेन पृथकले उठाएको झण्डा कहिल्यै झुक्न दिने छैन । उहाँले आवलम्बन गरेको निरन्तर संघर्ष र परिवर्तनको माक्र्सवादी यात्रामा अविरल, अथक हिंडीरहनेछु…!
आज उहाँ मसँग हुनुहुन्न । विडम्बना उहाँ विदेशी भूमिमा जुन सजीव सपना बोकेर जानुभएको थियो, त्यसको ठिक उल्टो उहाँ निर्जिव रातो बाकसमा नेपाल फर्किनु भयो । वि.सं. २०७७ जेष्ठ १२ गते मलेशीयाको क्वालालाम्पूर स्थित कल्याङ्ग लामा न्यु विजिनेस सेन्टर(प्ीब्ल्न् ीब्ःब् ल्भ्ध् द्यग्क्क्ष्ल्भ्क्क् ऋभ्ल्त्च्भ्) कम्पनीमा डिउटी गरिरहेको अवस्थामा दिउँसो उहाँसँग भिडियो कल भएको थियो । हामीले चौरजहारीको सोती घटनाका बारेमा र कोभिडको खतरा अनि बचाउँका विषयमा धेरै समय कुरा गरेका थियौं । डिउटी सकेर कोठामा पुगी खाना खाएर सोती घटनामै आधारित भएर ‘मानव सभ्यता, मान्छे, जात र नेपाली राजनीतिको बुर्जवा पाठ’ भन्ने शिर्षकमा एउटा लेख लेखेर चिन्तित हुँदै साम्प्रदायिकता र क्षेत्रीय पृथक्तावादबाट जन्मने फाँसिवादको बारे व्याख्या गर्दै जातिवादी समाजको गैरबराबरी व्यवहार र छुवाछुतको भेद विषयमा फेसबुक र सामाजिक संजालमा धेरै साथीहरुसँग कुरा गरि सुतेको अवस्थामा हृदयघात भई १३ गते विहान देखि उहाँले हामी सबैलाई सदाका लागि छोडेर जानुभएको खबर पाइएको थियो । जुन दिन मेरो जीवनको अत्यन्त कालो दिन साबित भएको छ । अर्धहोशमा रहेको मेरो जीवन अब उहाँको लासको पर्खाइमा मात्र कुरिरहेको थियो । मैले हार्नुपर्ने कुनै चिज बाँकी रहेन, अब जुन दिन उहाँको लास आउँछ सँगै जल्नु सिवाय अर्को कुनै विकल्प छैन भन्ने लागेको थियो ।
कोभिडका र आर्थिक अभावका कारण म काठमाडौंसम्म पुग्न नसकेको हुनाले हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)बाँके जिल्ला पार्टी तथा केन्द्र पार्टीको आग्रहमा पार्टीका केन्द्रीय सदस्य, देजमोका केन्द्रीय सचिवालय सदस्य र अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ‘कमरेड भाष्कर’ र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमरेड बासुदेव न्यौपाने लगायत कमरेडहरुले सम्बन्धित निकायमा निरन्तर पहल गर्नुभएको थियो । करिब एक महिनाको अन्तरालमा वि.सं. २०७७ अषाढ १२ गते बन्द बाकसभित्र उहाँको लास त्रिभुवन विमानस्थल काठमाडौंमा आइपुगेको थियो । उहाँहरुले रातीको १० बजे शव रिसिभ गरि शव वहान गाडीमा राखी हाम्रो घरतिर पठाउन सहयोग गर्नुभयो । अषाढ १३ गते विहान ११ बजे शव वाहन गाडी बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ३ मैटवा स्थित हाम्रो घरमा आइपुग्यो । जाजरकोट जिल्लाका जिम्मेवार नेताहरु शक्ति बस्नेत र मायाप्रसाद शर्माले शव ल्याउनका लागि सदनमा आवाज उठाउनु भएको थियो । कालीबहादुर मल्ल, ढकविर राना, गोविन्द विक्रम शाह लगायतले शव ल्याउनका लागि सहयोग गर्दै विभिन्न मिडियाहरुमा आवाज उठाउनु भएको थियो । दाई लक्ष्मण चौलागाई, प्रकाश पन्त, रवि लामिछाने लगायत पत्रकारहरुले शव नेपाल ल्याउन समाचार प्रसारण प्रकाशन गर्र्ने कार्यमा सहयोग गर्नुभएको थियो । मलेशियामा विभिन्न निकायमा पुगी निरन्तर सहयोग र सहकार्य गरिदिने काम अंकल दिपक नेपाली, कमरेड मोतीराज हमाल, भाई खेमराज चौलागाईले गर्नुभएको थियो ।
घरको आँगनभरि उहाँको लास कुरिरहेका आफन्त, शुभचिन्तक र सहयोद्धा साथीहरु हुनुहुन्थ्यो । सबैले छिटोछिटो राप्तीको किनारातिर लैजाने कुरा गर्न थाल्दा फेरि मनमा अलि कस्तो–कस्तो त्रास जस्तो वा सपना जस्तो न विपना जस्तो लागिरह्यो । मेरो पृय जीवनसाथी संसारसेन पृथक घरभित्र नपसेरै मलाई नभेटेरै बाहिरैबाट रातो तुलमा सजिएर आफन्तरहरुको टिका फुलमाला ग्रहण गरी राप्तीतिरको यात्रा शुरु गर्दा मेरो मन भक्कानिएर आएको थियो तर पनि म उसको पछिपछि राप्तिको किनारसम्म पुगँे । नेकपा (क्रान्तिकारी माओवादी) बाँके र बर्दियाका इन्चार्ज कमरेड भुपेन्द्र न्यौपाने र बाँके जिल्ला सेक्रेटरी कमरेड तेजविक्रम शाहीले पार्टीको रक्तरञ्जीत झण्डा ओढाउँदै श्रद्धाञ्जली मन्तब्य दिनुभयो । प्रेम थापा, हरिकृष्ण न्यौपाने, विरेन्द्र शाही, मुक्त थापा लगायत उपस्थित सम्पुर्ण कमरेडहरुले भावपुर्ण श्रद्धाञ्जली तथा शोकाकुल आफन्तजन र शुभचिन्तकहरुमा समवेदना व्यक्त गर्नुभएको थियो भने माधव रिजाल, टंक लामिछाने, सशी प्रजापती, भिमबहादुर खत्री लगायत व्यक्तित्वहरुले उल्लेखनीय सहयोग गर्नुभएको थियो र कोभिडका कारणले दाससंस्कारमा आउन नपाएका पार्टीपंक्तिका कमरेहरु, आफन्त तथा शुभचिन्तकहरु र सहयोद्धा साथीहरुले दुःख व्यक्त गर्दै फोन तथा सामाजिक संञ्जालबाट भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । राप्तीको किनारबाट ऊ आगोको धुवासँग निरन्तर विलिन हुँदै गयो । वर्षायामको राप्ती नदीको उर्लदो वाहवले उसलाई विदाई गरिरह्यो । विवश म एकहोरो हेरिरहँे हेरिहेँ । मलाई लाग्दथ्यो किन मलाई नभेटेरै अर्कोतिर गएको होला, कस्तो मान्छे होला ? म पनि त उसँगै जाने इच्छा गरेकी थिएँ । अनि मेरो एउटै भाव पर्खपर्ख म पनि आउँदैछु, मलाई किन छोडेको संसारसेन ? भन्दा भन्दै आखिर ऊ मलाई छोडेर आगोको धुवासँगै उडी गयो ।
जन्म र मृत्य मानव जीवनका स्वभाविक प्रक्रिया भएकोले त्यस्लाई स्वीकार्नुको विकल्प बाहेक अरु केहि रहेन । मेरो काँधमा दुई मुनाको रेखदेखको जिम्मेवारी आएको छ म बोल्न सकेन उपाए नभए पछि त्यो मेरो सँगै मर्ने अन्तिम इच्छा पनि पुरा हुन सकेन । आज म जगतमा एक्लै जीवन यापन गरिरहेकी छु । दुई छोराछोरीको रेखदेख र शिक्षा दिक्षाको चिन्तामा मेरो जीवन बाँचेको छ । मलाई अहिले लागिरहेको छ, बालबच्चाको लालनपालन गर्नु अनि हामीले उठाएको झण्डा कहिल्यै झुक्न नदिनु म र मेरो संसारसेन हामी दुवैको इच्छा हो । र, मैले त्यो यात्रामा शरीरमा एक थोपा रगत र एक मुठ्ठी प्राण रहुन्जेल हिंडिरहनुपर्छ… ।