म्यान्मारमा सैन्य दमनमा १३८ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा सैन्य दमनमा १३८ प्रदर्शनकारीको मृत्यु


न्यूज एजेन्सी । म्यान्मारमा सेनाले गत फेब्रअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तिमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर यसैहप्ताको आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।
उनले भने,“शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही राष्ट्रसंघले कुनै पनि हालतमा स्वीकार गर्दैन। म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा हामी निन्दा गर्दछौं ।”

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका छन् ।

यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।

सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेनाविरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ साङ सुचीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

यसैबीच, जापानको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । एएनआई