रणनीतिक संयुक्त मोर्चाले बुटवलको ट्राफिक चोकमा आज वृहत् जनसभा गर्दै

रणनीतिक संयुक्त मोर्चाले बुटवलको ट्राफिक चोकमा आज वृहत् जनसभा गर्दै

बुटवल। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले बुटवलको ट्राफिक चोकमा आज वृहत् जनसभा गर्दैछ ।

प्रतिबन्धित विप्लव समूहसहित चार पार्टीबीच माघ २९ गते काठमाडौंमा रणनीतिक संयुक्त मोर्चा घोषणा भएको थियो ।

मोर्चाको पहिलो चरणको कार्यक्रम अन्तर्गत बुटवलमा गर्न लागिएको सभामा विप्लवसहितका चारै वटा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले जानकारी दिनुभयाे ।
सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिह श्रीस, नेकपाका ऋषि कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका विश्वभक्त दुलाल आहुति, लेखक तथा बुद्धिजीवी शिशधर भण्डारी लगायतका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ

सभा हुनुअघि बुटवलको राजमार्ग चौराहाबाट र्‍याली निकालिने सुवेदीले बताए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि घोषणा भएको मोर्चाले संसद पुनःस्थापना वा निर्वाचन दुवैबाट निकास ननिस्कने भन्दै संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बताएको छ । र, विकल्पकाे रुपमा संघीय जनगणतन्त्र तथा वैज्ञानिक समाजवादी व्यवस्था अगाडि सारिएकाे छ ।

चार पार्टीको संयुक्त मोर्चा प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म नै घोषणा गरिने बताइएको छ । संयुक्त संघर्षका लागि संयुक्त मोर्चा बनाएका चार पार्टीबीच पार्टी एकताको पहल भइरहेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले मार्चा घोषणा कार्यक्रममा बताउनु भएकाे थियाे ।