
३ फाल्गुन काठमाडौं । भारतका गृहमन्त्री एवम् भाजपाका पूर्व राष्ट्रिय अध्यक्ष अमित शाहले नेपालमा भारतीय जनता पार्टी (भाजपा) को सरकार स्थापना गर्ने योजना रहेको बताएका छन् ।
त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले शनिबार रबिन्द्र सतबारशीकी भवनमा पार्टीको एक कार्यक्रममा छिमेकी श्रीलंका र नेपालमा भाजपा सरकार स्थापना गर्ने योजना शाहको योजना रहेको खुलासा गरेका हुन् ।
भारतका धेरैजसो राज्यहरूमा विजयी भएपछि छिमेकी देशहरूमा पार्टी स्थापना गर्ने योजनामा शाह रहेको देवलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम इस्टमोजोले जनाएको छ ।
‘हामी राज्यको गेस्ट हाउसमा कुरा गरिरहेका थियौं, जब अजय जामवालले (भाजपाको उत्तर–पूर्व अञ्चल सचिव) ले भारतका धेरै राज्यमा बीजेपीले आफ्नो सरकार गठन गरेको भने’ शाहले भने, ‘अब श्रीलंका र नेपाल बाँकी छ । हामीले श्रीलंका, नेपालमा पार्टी विस्तार गर्नुपर्नेछ र सरकार गठन गर्न त्यहाँ जित्नुपर्नेछ’ देवले अमित शाहको भनाई उदृत गर्दै भने । देवले भने कि अमित शाहको नेतृत्वमा मात्रै बीजेपी विश्वको सबैभन्दा ठूलो पार्टी भयो ।
‘कम्युनिष्टले उनीहरूको पार्टी संसारको सब भन्दा ठूलो हो भन्ने दाबी गरेका थिए जसलाई अमित शाहले भाजपालाई विश्वको सबैभन्दा ठूलो पार्टी बनाएर तोडे । दीनदयाल उपाध्यायको पार्टी, श्यामा प्रसादको पार्टी, पृथ्वी प्रधान पार्टी’ देवले थपे ।
विपक्षी सीपीआईएम र कांग्रेसले सार्वजनिक बैठकमा त्रिपुराका मुख्यमन्त्रीले गरेको दाबीको बारेमा केन्द्रीय नेतृत्वबाट कारबाही र स्पष्टीकरणको माग गरेका छन् ।
‘मुख्यमन्त्रीले बयान दिएका छन् कि अमित शाह, जब पार्टीका अध्यक्ष थिए, भाजपा नेपाल, बंगलादेश र श्रीलंकामा आफ्नो सरकार स्थापना गर्ने लक्ष्यमा छ । यसको अर्थ उनीहरूले विदेशका मामिलामा हस्तक्षेप गरिरहेका छन ’ सीपीआईएम नेता र पूर्व सांसद जितेन्द्र चौधरीले भने, ‘वर्तमान गृहमन्त्री अमित शाह नेपाल विरुद्ध राज्य षडयन्त्रमा संलग्न छन् । शाहले पनि भनेका छन र प्रमाण हाम्रो त्रिपुरा राज्यमा संवैधानिक पदको व्यक्तिले दिएको छ ।’
उनले यो पनि माग गरे कि भाजपाले दिएको बयानको बिरूद्ध जवाफ दिनुपर्नेछ किनभने राज्यका एक निर्वाचित मुख्यमन्त्रीले भनेका अरु कुनै पनि कुरा थिएन र यो यथार्थतापूर्वक लिनु हुँदैन ।
‘भाजपाले यसको जवाफ दिनुपर्दछ र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस विषयमा बोल्नु पर्छ’ चौधरीले भने ।
मुख्यमन्त्री विप्लव कुमार देवलाई प्रतिक्रिया व्यक्त गर्दै प्रदेश कांग्रेसका उपाध्यक्ष तपस डेले भने कि भारत साम्राज्यवादमा विश्वास गर्दैन र धेरै वर्षसम्म उस्तै लडिरहेको छ ।
‘यो दुर्भाग्यपूर्ण छ कि त्रिपुराका मुख्यमन्त्री साम्राज्यवादका समर्थक हुन् । श्रीलंका र नेपाल दुवै सार्वभौम देशहरू हुन् र हामी उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न वा केही गर्न सक्दैनौं’ डेले भने, ‘यो एक सार्वभौम देशको एक मुख्यमन्त्रीले भनेको देश विरोधी बयान हो । हामी उनको बिरूद्ध राष्ट्रिय बयानको लागि कारबाहीको माग गर्दछौं ।’






























