कविता : कुरै फरक छ

कविता : कुरै फरक छ

सरकार
तेरो र मेरो कुरै फरक छ ।
म विवशताले थिचिएर पनि
व्यवस्था फेर्न खोज्छु
हजारौं अप्ठ्यारासंग जुधेर
समानताको बाटो खन्न खोज्छु
भोकसंग लडेको छु
रोगसंग लडेको छु
सपना बिचैमा तुहाइ दिने
बैगुनी रात संग लडेको छु
तँलाई के थाहा
म हरेक दिन आफैंसंग लडेको छु
सरकार
तेरो र मेरो कुरै फरक छ ।
कुरा मात्रै हैन
तेरो र मेरो जातै फरक छ
म रैथाने ठेटना तँ हाइब्रीड पपकर्न
नियालेर हेर हाम्रो नश्लै फरक छ ।
कहिले छ इन्ची छोटा गरेर उदाइस
कहिले जनआन्दोलनबाट झण्डा बोकेर
जिन्दावाद र मुर्दावादको नारा घन्काउँदै
जुलुसको बिचबाट उठिस्
कहिले जनयुद्ध भनेर
बन्दुक पडकाँउदै आइस्
बन्दुक खोसिएपछी
कुखुरो त कुखुरै हो भनेर
भाले पोथी नछुट्ट्याइ आइस्
सरकार
तेरो र मेरो कुरै फरक छ
कुरा मात्रै हैन
तेरो र मेरो गुणनै फरक छ
मैले खाने पसिना र तैले खाने सहिदको रगत
भान्सामा हाम्रो नुननै फरक छ ।
तँ जहिले जसरी आए पनि
मैले सधैं ताली पिटें
सन्तोषको एक मुठी सासको आश गरें
तैले छ इन्ची छोटा गरेको
जनताकै लागि हो भनें
जूलूसको भिडबाट तेरो जिन्दाबाद र
उसको मुर्दाबादको नारा लगाएँ
बोक भनिस बन्दुक बोके
गोलि लागेर तँ ढल्दा
घाउमा मलम लगाएँ
भित्र तँलाई सुताएर
बाहिर दलिनमा सेन्ट्री बसें
नाबालकको समेत छाक काटेर
ढिंडो र गुन्द्रुक तँलाइनै खुवाए
सरकार
तेरो र मेरो कुरै फरक छ
कुरा मात्रै हैन
तेरो र मेरो खुननै फरक छ
प्रतिध्रुबमा खडा भएरै होला
आकाशमा लाग्ने घाम जुननै फरक छ ।
सहयोद्धाको लाशको चांगमाथी
तैंले महल ठड्याए पछि
आफ्नै पहिचानका खातिर
स्वाभिमानको आवाज उठाउँदा
महलका विरुद्ध झुपडीबाट
तेरै जुलुसमा जिन्दावाद मुर्दावाद सिकेको
नारा लगाउँदै माथी उठेको मेरो हातमा
आज हतकडी र नेल भो
कुल्चिएका प्रतिबद्धता र अलपत्र सपना
क्रान्ति तेरो लागि सत्ताको खेल भो
हाम्रै बलिदानबाट उभिएको गणतन्त्र
केटाकेटीको भाँडाकुँटि खेल भो
सरकार
तेरो र मेरो कुरै फरक छ
कुरा मात्रै हैन
तेरो र मेरो बानी फरक छ
तँ भन्छस सिकार मैले देखि रहेछु सिनो
यो व्यवस्थालाई हेर्ने हाम्रो आँखाको नानी फरक छ