अबको बिकल्प संघीय जनगणतान्त्रिक सरकार  – महासचिव बैद्य 

संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन सक्दैन

प्रकाशित मिति : २०७७ पुस ५

- रवि पाण्डेय 

बाँके ५ पुष – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले संसदीय ब्यवस्था असफल भएकोले अबको विकल्प संघीय जनगणतन्त्र हुने बताउनुभएको छ । 

अब संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन सक्दैन , – सोमवार बाँकेको जीगाउँमा शुरु लुम्बिनी प्रदेशस्तरिय कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – केपी ओलीको विकल्प त्यही ब्यवस्थाकै शेरबहादुर देउवा वा अरु कोही हुन सक्दैन । अबको विकल्प संघीय जनगणतान्त्रिक सरकार हुन्छ । 

उहाँले अहिले तीन वटा विकल्पहरु बारे चर्चा हुदै आएको भन्दै संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था र पूर्वराजावादीहरुले  भने झै राजतन्त्रमा पछाडि फर्कने कुरा हुनै नसक्ने भएकोले तेस्रो विकल्प संघीय जनगणतान्त्रिक सरकार हुने दावी गर्नुभयो ।

त्यस्तै दुई तिहाईको धक्कु लगाउने डबल नेकपाले आन्दोलन, सिद्धान्त र जनतालाई धोका दिएको उहाँले बताउनुभयो । २ तिहाईको होइन भष्ट्रचारीको सरकार हो –उहाँले भन्नुभयो । बैद्यले देश विदेशीहरुको क्रिडास्थल भएको उल्लेख गर्नुभयो ।

फरक प्रसंगमा उहाँले बल प्रयोगको सिद्धान्त मान्नहरुबीच पार्टी एकता गरेर अगाडि बढ्न सकिने जानकारी दिनुभयो । हाम्रो पार्टीको पोलिटब्युरोले पार्टी एकताका लागि ६ बुदें आधार तय गरेको छ – उहाँले भन्नुभयो –नयाँ जनवाद, बैज्ञानिक समाजवाद र जनवादी केन्द्रीयता मान्नेहरुबीच एकता गर्न सकिन्छ ।

त्यस्तै आइतवार पश्चिम ब्युरोका नेताहरुलाई सम्बोधन गर्दै उहाँले अब प्रतिरोध संर्घषमा जुट्न निर्देशन दिएको पाटी निकट स्रोतले जनाएको छ  । संसदवादीहरुको लुछाचुडीले प्रतिगामी तत्वहरु सल्बलाएको उहाँको भनाई थियो । उहाँले डबल नेकपाले आफूलाई कम्युनिष्ट भन्ने भम्र दिएको र अब जनतामा त्यो भम्र टुटेको बताउनुभयो ।

महासचिव बैद्यले क्रान्तिकारी ध्रुबीकरणमा समेत जोड दिनुभयो । बैठकमा उहाँले क्रान्तिको वर्तमान अवस्था र राष्ट्रिय एंंव अन्तराष्ट्रिय परिस्थितिका बारे प्रशिक्षण दिनुभएको पार्टी स्रोतले जनाएको छ ।

ब्युरो बैठक स्थायी समिति सदस्य तथा ब्युरो ईञ्चार्ज राजबीरको अध्यक्षतामा भएको थियो । ब्युरो बैठकमा लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका कार्यरत केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो । त्यस्तै ब्युरो बैठक पछि लुम्बिनी प्रदेश समिति बैठक जारी छ । बैठकले संगठन तथा सर्घषका कार्यक्रमहरु तय गर्ने प्रदेश सेक्रेटरी प्रमोदले बताउनुभयो ।