
काठमाडौं । डबल नेकपाको आन्तरिक पार्टी विवाद तनाबपूर्ण अवस्थामा पुगेको छ । आन्तरिक विवाद चर्कदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने स्थितिमा पुगेका छन् । आइतबार विहान बसेको ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
पार्टीभित्रकै प्रचण्ड–माधव नेपाल समूह, प्रतिपक्षी दल कांग्रेस र जनसमाजवादी पार्टीले संसद बैठक आव्हानका लागि दबाब दिने निर्णय गरेपछि दबाब महसुस गरेका ओलीले पार्टीभित्रको अन्तरविरोध हल गर्नका लागि शनिबार निकै दौडधूप गरेका थिए । शनिबार दिनभरजसो नै प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहेका थिए । छलफलमा कुरा मिल्न नसकेपछि ओलीले संसद विघटनको सिफारिश गरेका छन् । ओलीले संसद विघटनको सिफारिश गरेपछि प्रचण्ड अहिले ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । ओली भने संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।





























