काठमाडौं । आइतबारदेखि जारी उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न माइतीघर मण्डला पुगेका किसान नेताहरुले उद्योग मन्त्री लेखराज भट्टले उखु किसानहरुसँग माफी माग्नुपर्ने बताएका छन् । उखु किसानहरुको आन्दोलनलाई विचौलियाहरुको आन्दोलन भनी सार्वजनिक टिप्पणी गर्ने भट्टले माइतीघर मण्डलामा आएर उखु किसानहरुसँग माफी माग्नुपर्ने किसान नेताहरुले बताए ।

मन्त्री भट्टको भनाइले सम्पूर्ण किसानहरुको घोर अपमान गरेको भन्दै उनीहरुले मन्त्री भट्टको किसानविरोधी भनाइको घोर विरोध एवम् भत्र्सना समेत गरे ।
संयुक्त किसान संघर्ष समिति बनाएर विगत केही समयदेखि किसानका समस्याहरुका बारेमा संयुक्त रुपमा आवाज उठाउँदै आएका किसान संगठनका नेताहरु सीताराम तामाङ, लोकनारायण सुवेदी, कृण्ण राना, धनेश्वर पोखरेल लगायतका नेताहरुले यस्तो बताएका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले उखु किसानहरुलाई विचौलिया भन्ने सरकार र मन्त्रीहरु आफै विचौलिया भएको भन्दै मन्त्री भट्टले तत्काल माफी माग्नुपर्ने बताए । अध्यक्ष तामाङले गतवर्ष भएको किसान आन्दोलनको बेला पनि आफूहरुले उखु किसानहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको भन्दै विनाशर्त सरकारले उखु किसानहरुको भुक्तानी दिलाउन जोडदार माग गरे । नेता तामाङले भने, “क्षतिपूर्तिसहित उखु किसानहरुको बक्यौता सरकारले चिनी मालिकसँग उसुलेर दिनुपर्छ, चिनी मालिकहरुलाई पक्राउ गरेर हुँदैन, भुक्तानीको ग्यारेण्टी गरिनुपर्छ ।”

चिनी मालिकसँग कमिसन खाएका कारण चिनी मालिकसँग विगतमा भएको सहमति अनुसार किसानहरुलाई भुक्तानी दिलाउन सरकारले नसकेको भन्दै नेता तामाङले ओली सरकार किसान मजदुर विरोधी रहेको पनि दाबी गरे ।

नेकपा (ऋषि कट्टेल) निकट अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदीले उखु किसानहरुलाई तत्काल भुक्तानी दिलाउन जोडदार माग गरे । अध्यक्ष सुवेदीले उखु किसानहरुले माग नगरेको भए पनि आफूहरुले उखु किसानलाई क्षतिपूर्तिसहित (ब्याजसहित) भुक्तानी दिनुपर्ने माग गर्दै आएको पनि बताए । उखु किसानहरुले छाडे पनि यो मागसहित आफूहरुले आन्दोलनलाई अगाडि बढाउने भन्दै नेता सुवेदीले भने, “उखु किसानलाई विचौलिया भन्ने यो सरकारले गतबर्ष के विचौलियासँग सहमति गरेको थियो ? मन्त्री भट्टको भनाइले सम्पूर्ण किसानहरुको अपमान भएको छ, यहाँ आएर माफी माग्नुपर्छ । र, विनाशर्त हाताहाती उखु किसानहरुको क्षतिपूर्तिसहितको भुक्तानी दिलाउनुपर्छ ।”

त्यसैगरी नेकपा माले निकट अखिल नेपाल प्रगतिशिल किसान संघका इन्चार्ज कृष्ण रानाले पनि उखु किसानहरुको आन्दोलन सफल नहुन्जेलसम्म आफूहरुको ऐक्यबद्धतासहित सहभागिता रहने बताउँदै अविलम्ब किसानहरुको माग सम्बोधन गर्न जोडदार माग गरे ।

ऐक्यबद्धता कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकार)का महासचिव धनेश्वर पोखरेललगायतका किसान नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

ऐक्यबद्धताका लागि पुगेका किसान संगठनका नेताहरुलाई उखु किसानहरुले धन्यवादसहित आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर